logo
२०८१ बैशाख २१ शुक्रवार



पीएनजीविरुद्ध दुवै खेल जित्ने लक्ष्य 

क्रिकेट |
खेलकुद |


पीएनजीविरुद्ध दुवै खेल जित्ने लक्ष्य 


काठमाडौँ, चैत १० गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनी (पीएनजी) सँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपाल र पीएनजी दुवै टोली यूएईमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिज खेलेर बुधबार काठाडौँ आईपुगेका हुन् । यूएई सिरिजमा नेपालले दुवै खेलमा पीएनजीलाई हराएको थियो । कीर्तिपुरमा खेल्नुअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक पुवुदु दसानायकेले नेपाली टोली खेलका लागि तयार रहेको बताउनुभयो ।

नेपालले पीएनजीसँग शुक्रबार र शनिबार दुई वटा एकदिवसीय सिरिज खेल्नेछ । सिरिजलाई आईसीसीले पनि मान्यता दिएको छ । पुवुदुले यसपटक युवा खेलाडीलाई अवसर दिने पनि बताउनुभयो । ‘हामी टिम बनाउने चरणमै छौँ । मुख्य प्रतियोगिताअघि यो काम महत्वपूर्ण हुन्छ । युवा र क्षमतावान खेलाडी टिममा छन् । हामी सिरिजका लागि तयार छौँ,’ उहाँले भन्नुभयो । नेपालका कप्तान सन्दीप लामिछानेले पनि यस प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर हुने बताउनुभयो ।

पीएनजीसँगको सिरिजपछि नेपालले सोमबारदेखि कीर्तिपुरमै पीएनजी र मलेसिया सम्मिलिति टी–२० त्रिदेशीइ अन्तर्राष्ट्रिय सिरिन खेल्नेछ । सिररिजमा एक टिमले अर्को टिमसँग दुई दुई खेल खेल्नेछ । एकदिवसीय र टी–२० सिरिजका लागि एक करोड ४२ लाख रुपियाँ खर्च हुने क्यानका कोषाध्यक्ष रोसन सिंहले जनाकारी दिनुभयो । 

क्यानले दर्शकका लागि एक सय ५० रुपियाँ शुल्क तय गरेको पनि जनाएको छ । एकदिवसीय खेलको म्यान अफ दि म्याचलाई एक सय ५० अमेरिकी डलर, म्यान अफ दि सिरिजलाई तीन सय डलर तथा टी–२० सिरिजको म्यान अफ दि म्याचलाई एक सय डलर र म्यान अफ दि सिरिजलाई पाँच सय डलर पुरस्कार प्रदान गरिने पनि क्यानले जनाएको छ । क्यानले दुई सिरिजका लागि यसअघिनै छुट्टा छुट्टै दुई टोली घोषणा गरिसकेको छ । 

एकदिवसीय टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, अनिल साह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलसन झा र भिम सार्की ।

टी–२० टोली :

सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आशिफ शेख, करण केसी, अविनाश बोहोरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?