logo
२०८१ बैशाख १६ आईतवार



त्रिदेशीय टी–२० सिरिज : नेपाल फाइनल नजिक

क्रिकेट |
खेलकुद |


त्रिदेशीय टी–२० सिरिज : नेपाल फाइनल नजिक


काठमाडौँ, चैत १६ गते । नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल नजिक पुगेको छ । सिरिजमा लगातार दोस्रो जित निकालेसँगै नेपाल फाइनल नजिक पुगेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको थियो ।

जितका लागि मलेसियाले दिएको एक सय १५ रनको विजय लक्ष्य पछ्याएको नेपालले १३.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ५७ रन बनाउनुभयो । उहाँले ३८ बलमा चार चौका र एक छक्काको सहयोगमा अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

दीपेन्द्रसिंह ऐरीले २१ रन बनाउनुभयो। रोहित पौडेलले १२ रन बनाउनुभयो । दिलीपनाथले अविजित १५ र कुशल मल्लले दुई रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल एक रनमा पेभेलियन फर्किनुभएको थियो । बलिङमा मलेसियाका पवनदीप सिंहले दुई, मुहमद अमिर र सयद अजिजले एक एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १४ रन बनाएको थियो । मलेसियाका लागि जुवईदी जुल्किपाईले सर्वाधिक ३२ रन बनाउनुभयो । कप्तान अहमद फैजले २४, मुहमद अमिरले १६ र सयद अजिजले १४ रन बनाउनुभयो । बलिङमा नेपालका करण केसी र कप्तान सन्दीप लामिछानेले दुई दुई विकेट लिनुभयो । अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिनुभयो ।

सिरिजमा लगातार दोस्रो जित निकालेको नेपाल चार अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको मलेसियाको दुई अङ्क छ । मलेसियाले मङ्गलबार पीएनजीलाई आठ रनले हराएको थियो ।

पीएनजीले खाता खोल्न सकेको छैन । टी–२० सिरिजमा आयोजक नेपाल, पीएनजी र मलेसिया सहभागी छन् । हरेक टोलीले एक आपसमा दुई दुई खेल खेलेपछि शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । नेपालले बिहीबार पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?