logo
२०८१ बैशाख २१ शुक्रवार



दीपेन्द्रको शतकसँगै नेपालद्वारा मलेसियालाई २२४ रनको लक्ष्य

क्रिकेट |
खेलकुद |


दीपेन्द्रको शतकसँगै नेपालद्वारा मलेसियालाई २२४ रनको लक्ष्य


काठमाडौँ, चैत १९ गते । मध्यक्रममा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अविजित शतकीय इनिङ्स खेलेपछि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई जितको लागि २२४ रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टर हारेर पहिले  ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा २२३ रन बनायो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित ११० रन बनाउनुभयो । उहाँले ५७ बलमा १० चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । उहाँ नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी बन्नुभएको छ । यसअघि पूर्व कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी–२० मा शतक प्रहार गर्नुभएको थियो ।

नेपालका रोहित पौडेलले पनि ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । ३४ बलको सामना गर्नुभएका पौडेलले पाँच चौका हान्नुभएको थियो । ओपनरद्वय आशिफ शेख १८ र कुशल भुर्तेल १२ रनमा आउट हुनुभयो । आदील अन्सारीले १४ रन बनाउनुभयो । बलिङमा मलेसियाका लागि मुहमद वाफिक, पवनदीप सिंह, मुहमद अमिर र साजरुल इद्रुसले एक एक विकेट लिनुभयो । यसअघि नै फाइनलमा स्थान बनाएको नेपाल जितको लय कायम राख्ने योजनामा छ । यता मलेसिया नेपाललाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।

मलेसियाका लागि यस खेल सेमिफाइनल सरह हो । यस खेलमा मलेसिया पराजित भयो भने पपुवा न्युगिनी (पीएनजी) रन रेटका आधारमा फाइनलमा पुग्नेछ । लगातार तीन खेल जितेको नेपाल ६ अंकसहित शीर्षस्थानमा छ । मलेसिया र पपुवा न्युगिनीको दुई दुई अंक छ । नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो ।

दोस्रो खेलमा मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पीएनजीलाई ३७ रनले हराएको थियो । मलेसियाले भने पीएनजीलाई पहिलो खेलमा आठ रनले हराएको थियो । दोस्रो खेलमा मलेसिया पीएनजीसँग आठ विकेटले पराजित भएको थियो । फाइनल खेल सोमबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?