logo
२०८१ बैशाख ३१ सोमवार



ओसाका उडानका लागि निगमको अन्तिम तयारी

अर्थ |


ओसाका उडानका लागि निगमको अन्तिम तयारी



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ३ गते । जापानको ओसाका उडानका लागि यसअघि पहिलोपटक घोषित मिति सारिएपछि अन्योल बनेको उक्त उडान अब भने समयमै हुने निश्चित भएको नेपाल वायुसेवा निगमले जनाएको छ । जापान उडानका लागि दोस्रो पटक घोषित मिति नजिकिँदै जाँदा निगमले उडानको निश्चितता घोषणा गरेको हो ।
मङ्गलबार निगम केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष मदन खरेलले भदौ १२ गते ओसाकाका लागि वाइड बडी जहाजले उडान गर्ने जानकारी दिनुभयो । जापानका सन्दर्भमा धेरै किसिमका हल्ला बाहिर भए पनि अब उडान निश्चित भएको छ, उहाँले भन्नुभयो । उहाँले यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको पनि जानकारी दिनुभयो ।
नेपाल वायुसेवा निगमले पछिल्लो सन् २००७ अप्रिल १२ मा अन्तिम पटक जापान उडान गरेको थियो । त्यसयता यही भदौ १२ गते जापानको ओसाका उडान गर्ने तयारी गरेको हो । यसअघि निगमले असार १९ गते जापान उडानको घोषणा गरेको थियो तर पर्याप्त टिकट बिक्री हुन नसकेपछि निगमले दोस्रो पटकका लागि उडानको मिति तय गरेको थियो । उडानकै तालिका फेरिएपछि जापान उडान हुने वा नहुने अन्योल बढिरहेको समयमा निगमले अब तालिका अनुसार नै उडान हुने दाबी गरेको हो ।
कार्यकारी अध्यक्ष खरेलका अनुसार निगमले २७४ सिट क्षमताको वाइड बडी ३३०–२०० जहाजमार्फत ओसाका सीधा उडान गर्नेछ । यसअघि निगमले जापान उडान गर्दा चीनको साङ्घाई हुँदै उडान गरेकोमा पहिलोपटक सीधा उडान हुन लागेको जनाएको छ ।
निगमले हप्तामा मङ्गलबार, बिहीबार र शनिबार गरी तीन दिन ओसाका उडान गर्नेछ । काठमाडौँबाट बिहान दुई बजेर ३० मिनेटमा उडेको विमान स्थानीय समय
अनुसार बिहान ११ बजेर ५५ मिनेटमा ओसाकामा अवतरण गर्नेछ ।
ओसाका उडान निश्चित भए पनि निगमले अपेक्षित टिकट भने बिक्री हुन नसकेको स्वीकार गरेको छ । निगमका कर्पोरेट निर्देशक टङ्कनिधि दाहालका अनुसार उडान हुने समयसम्म एक सयदेखि २५० वटासम्म टिकट बिक्री हुने अपेक्षा गरिएको छ । जापान उडानको यो खास सिजन नभएकोले पनि टिकट धेरै बिक्री हुन नसकेको उहाँले जानकारी दिनुभयो । यद्यपि, सेप्टेम्बरको अन्त्यदेखि भने टिकट बिक्रीदर राम्रो हुनेछ, उहाँले भन्नुभयो ।
ओसाका उडानको एक वर्षभित्र ८० प्रतिशतसम्म
‘लोड फ्याक्टर’ पु¥याउन सक्ने कार्यकारी अध्यक्ष खरेलले बताउनुभयो । वार्षिक करिब ४० हजार यात्रु ल्याउन सक्ने उहाँको भनाइ छ । निगमले जापान उडान पुनः सुरु गरेको अवसरमा सेप्टेम्बरमा दुईतर्फी उडान मूल्य करिब ७२ हजार रुपियाँ निर्धारण गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?