logo
२०८१ बैशाख ३१ सोमवार



इलाममा अलैँची लेकको मासियो, बेँसीले साथ दियो

अर्थ |


इलाममा अलैँची लेकको मासियो, बेँसीले साथ दियो


नवराज कट्टेल

विराटनगर, भदौ ५ गते । इलामको रोङ गाउँपालिका–३, चामेटारबाट बेँसी खेत सिम्मे (मार्से) झर्नुभएका चन्द्र राईको बारीभरि अलैँचीको हरियाली छ । तीन वर्षअघि मात्रै लेकबाट बेँसी स्याहार्ने योजना लिएर धाई खेती सुरु गर्नुभएका राईको चालू सिजनमै एक मन (४० केजी) अलैँची उत्पादन भयो ।
खोल्साखोल्सी, ओसिलो र पहाडी क्षेत्रको लेकाली भूभागमा फल्ने अलैँची बेँसीमा समेत फस्टाएपछि छोडिएका खेतबारी भरिभराउ हुन थालेका छन् । इलामको रोङ गाउँपालिका–६, सलकपुर र जिर्मले क्षेत्रमा परीक्षण सफल भएपछि ‘पाखे’ अलैँचीको खेती रोङका अन्य क्षेत्रमा पनि क्रमशः विस्तारसँगै आम्दानीको मुख्य स्रोत बन्न थालेको हो ।
लेकाली भूभागका खोल्साखोल्सी र ओसिलो जमिनको अलैँची रोगका कारण मासिँदै गएको छ । १० वर्ष अगाडिसम्म अलैँची फलिरहेका खोल्साखोल्सी रित्तै छन् । मूल्यमा आएको भारी वृद्धिले बेँसीका खेतमा धान र मकै विस्थापित गर्दै अलैँचीले भरिभराउ हुन थालेको छ । बारीमा अदुवाको विकल्प मात्रै नभई खेतका खलेगरा पनि अलैँची बगानमा परिणत भएका छन् ।
बेँसीमा विस्तार भइरहेको अलैँची स्थानीय जातभन्दा फरक छ । तातो, पारिलो र घमाइलो जमिनमा सामान्य सिँचाइबाटै उत्पादन हुने जातको अलैँचीलाई ‘पाखे’ वा जिर्मलेशाही भनिन्छ । भारतबाट नेपाल भित्रिएको यो जातलाई तत्कालीन जिर्मले गाविसको सकलपुरमा परीक्षणपछि २०४६ सालदेखि उत्पादन सुरु गरिएको थियो ।
मूल्यमा आएको वृद्धिसँगै यही जातको अलैँचीको खेती बेँसीका फाँटमा फैलँदै गएको अलैँची विकास केन्द्र इलाम फिक्कलका बागवानी अधिकृत लक्ष्मीनारायण शर्मा बताउनुहुन्छ । उहाँका अनुसार समुद्र सतहदेखि छ सयदेखि एक हजार दुई सय मिटरको उचाइसम्म यो जात फस्टाउँदो मात्रै नभई अत्यधिक फसल दिनेमा पर्दै आएको छ ।
रोपेको दुई वर्षमै फल दिने भएपछि लेकका बारी स्याहार्नुभन्दा बेँसीका खेतमा अलैँची स्याहार्नुको मज्जा भिन्नै रहेकोे कृषक राई बताउनुहुन्छ । लेकमा भएको अलैँची खेती मासिएपछि बेँसी झरेर उही खेतीमा रमाउँदाको आनन्द बेग्लै रहेको उहाँ बताउनुहुन्छ । बाँझो हुन थालेको जमिनको मुहार अलैँचीले सिँगा¥यो, कृषक राईले भन्नुभयो, लेकको मासियो, बेँसीले साथ दियो । तत्कालीन कोल्बुङ गाविसको मार्से–५ (हाल रोङ–३) शङ्कर आधारभूत विद्यालयका प्रधानाध्यापक कमल आचार्यले जिर्मलेबाट १२ वर्षअघि गाउँमा भिœयाउनुभएको अलैँची चिसो मौसममा फस्टाउँदैन । मार्सेअन्तर्गतका गाउँखेत, आम्बोटे, सिस्ने र मालबाँसे बेँसी खेतमा अलैँची उत्पादन गर्ने अवसरको सुरुवात गर्ने प्रअ आचार्य पहिलो कृषक हुनुहुन्छ । उहाँले गाउँखेतमा लगाएको अलैँचीको उत्पादन र बिरुवाबाट हालसम्म मनग्यै आम्दानी गरिसकेको बताउनुभयो । जिर्मलेशाहीको उत्पादनका लागि खोल्सा वा ओसिलो जमिनको आवश्यकता छैन ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?