logo
२०८१ बैशाख ३१ सोमवार



सडक मिचेर व्यापार

अर्थ |


सडक मिचेर व्यापार


सर्लाही समाचारदाता ।
सर्लाही, भदौ ७ गते । सर्लाहीका मुख्य बजार क्षेत्रमा सडक मिचेर व्यापार व्यवसाय गरिँदा दुर्घटनाको जोखिम बढेको छ ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने जिल्लाको लालबन्दी, हरिवनसहित सदरमुकाम मलङ्गवा, बरहथवा, बयलवासलगायतका बजार क्षेत्रमा सडक अतिक्रमण गरी व्यापार व्यवसाय गर्नेक्रम बढ्दो छ । यसले बजार क्षेत्र कुरुप देखिनुका साथै गम्भीर किसिमको सवारी दुर्घटना निम्तन सक्ने जोखिम बढेको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा पूर्व–पश्चिम राजमार्ग मिचेर सञ्चालित विभिन्न पसल व्यवसाय पटक–पटक हटाउने प्रयास गरे पनि प्रभावकारी बन्न सकेको छैन्् । लालबन्दीमा हरेक दिन बिहानपख किसानले राजमार्गबाटै तरकारी किनबेच गर्दै आएका छन् । लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष सुरेन्द्र न्यौपानेले खाली गराएको केही दिनमै पुनः राजमार्गमै आएर व्यापार व्यवसाय गर्ने प्रवृत्तिले आफूहरु पनि हैरान भएको बताउनुभयो । उहाँले तरकारी बजारको हकमा भने बजार साँघुरो हुँदा समस्या आइरहेको जानकारी दिनुभयो ।

८२ फिट राजमार्ग कायम गर्न सडक विभागसँग समन्वय गरिरहेको र तत्काल सर्वदलिय बैठक राखी समस्याको निकास खोजिने वडाध्यक्ष न्यौपानेले बताउनु भएको छ । सडक खाली गराउट पटक–पटक प्रयास ग¥यौँ तर सफल हुन सकेका छैनौँ, आज हटायो भोली पुनः आएर बस्छन्, वडाध्यक्ष न्यौपानेले भन्नुभयो, यसमा अब हामीले भन्दा पनि सडक विभागलाई नेतृत्व लिन आग्रह गरेका छौँ ।

स्थानीय व्यववसायीले भने पहुँच भएकाहरुले सडक मिचेरै बनाएको संरचना हटाउन वास्ता नगरिएको तर आफूहरुलाई भने सडक खाली गराउने नाममा धेरै पटक लखेट्ने काम भएको गुनासो गरेका छन् । सर्लाहीमा जिल्ला सदरमुकाम मलङ्गवा बजारमा समेत राजमार्गमा जथाभावी राखिएको पसल तथा अव्यवस्थित सवारी पार्किङका कारण आवतजावतमा समस्या भइरहेको छ ।

स्थानीयवासी समेत रहनु भएका नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले मलङ्गवामा धेरैजसो व्यापारीले पसल अगाडि सडक नै मिचेर सरसमान राख्दा हिँड्डुलमै समस्या भइरहेको गुनासो गर्नुभयो । बजार क्षेत्र खाली गराउन बारम्बार बैठक बसेका छौँ तर बैठकमा भएको निर्णय कार्यान्वयन गर्ने कस्ले हो ? अस्तव्यस्तताको अवस्था उस्तै छ, झाले भन्नुभयो, एक ठाउँबाट अर्को ठाउँसम्म जान जामको सास्ती खेप्नु पर्ने अवस्था छ ।

भर्खरै सरुवा भई आउनु भएका सर्लाहीका ट्राफिक प्रहरी प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक सूर्य नारायण यादवले चेतनाको कमीका कारण जिल्लामा ट्राफिक व्यवस्थापन गर्न अत्यन्त चूनौति रहेको बताउनुभयो । सवारीसाधन जथाभावी रोक्ने, सडक मिचेर व्यवसाय गर्ने, सवारी चालक अनुमति पत्र नै नभएका व्यक्तिले सवारी चलाउने र ओभरलोड बोक्ने समस्या जिल्लाभर नै देखिएको उहाँले बताउनुभयो ।

ट्राफिक व्यवस्थापन मिलाउन आफू सर्लाही आएदेखि सबै निकायसँग समन्वय गरिरहेको ट्राफिक प्रहरी प्रमुख चौधरीले बताउनु भएको छ । समस्या धेरै छन्, हामी त्यसको समाधानमा लागिपरेका छौँ, पूर्व–पश्चिम राजमार्गको नयाँरोडबाट ट्राफिक व्यवस्थापनको काम सुरु भइसकेको छ, चौधरीले भन्नुभयो, त्यहाँ जथाभावी रोकिने सवारीलाई बस स्ट्यान्डमै लगेर रोक्नुपर्ने व्यवस्था मिलाएका छौँ । उहाँले क्रमैसँग जिल्लाका अन्य ठाउँमा पनि ट्राफिक व्यवस्थापन गर्न काम गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?