logo
२०८१ बैशाख ३१ सोमवार



मकैमा फौजी कीराको प्रकोप

अर्थ |


मकैमा फौजी कीराको प्रकोप


जनार्जन खत्री–
सर्लाही, भदौ १४ गते । फौजी किराले मकै सखाप पार्न थालेपछि सर्लाहीको पश्चिमी भेगका किसान चिन्तित भएका छन् ।

व्यावसायिक रुपमा मकै खेती हुने हजरिया, श्रीपुर, राजघाट र नयाँ रोड क्षेत्रमा फौजी किरोको प्रकोप देखिएको हो ।

रातको समयमा सक्रिय हुने फौजी किराले मकैको पातबाट खान सुरू गरेर पुरै मकैको वोट नष्ट गरिरहेको वागमतीका किसान शङ्कर मैनालीले गुनासो गर्नुभयो ।

अत्यधिक मकै उत्पादन हुने हजरिया र राजघाट क्षेत्रमा फौजी किराले हालसम्म एक हजार दुई सय हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको हाइब्रिड जातको मकै खाएर नष्ट पारेको बरहथवा नगरपालिका–१, वडाध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो ।

दिनदिनै किराको प्रकोप बढ्न थालेपछि बरहथवा नगरपालिकाका जनप्रतिनिधि, कृषि ज्ञान केन्द्र मलङ्गवाका प्राविधिक र बरहथवा नगरपालिकाअन्तर्गत कृषि शाखाको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको छ ।

अनुगमनपछि फौजी किरा प्रभावित क्षेत्रका किसानलाई विषादी उपलब्ध गराएर छर्कन सुझाव दिइएको बरहथवा नगरपालिकाको कृषि शाखा प्रमुख अरुणकुमार महतोले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र मलङ्गवाले फौजी किराको आतङ्क नियन्त्रण गर्न प्रभावित क्षेत्रमा औषधि पठाइएको जनाएको छ ।

कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख देवानन्द रायले फौजी किरा प्रभावित बरहथवा, बागमती र हरिवन नगरपालिकामा एक हजार पोकाका दरले किटनाशक औषधि पठाइएको जानकारी दिनुभयो ।

फौजी किराले रातको समयमा बढी क्षति पु¥याउने भएकाले रातकै समयमा विषादी छर्कन कृषि प्राविधिकको सल्लाह छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?