logo
२०८१ मंसिर ६ बिहीवार

तिब्बतमा कृषि



अनुसन्धान र कृषक सँगसँगै

अर्थ |


अनुसन्धान र कृषक सँगसँगै



अच्युत अधिकारी

ल्हासा (तिब्बत), भदौ १५ गते । झाओ जुआङ् वोई चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से सहर नजिकैको बैलाङ काउन्टीमा कृषि फर्म सञ्चालन गर्नुहुन्छ ।
तिब्बतेली पठारको शुष्क हावापानीमा उहाँको कृषिफर्म ‘बैलाङ झोङ नोङ शेङ एग्रिकल्चर एण्ड हस्बेन्ड्री कम्पनी लिमिटेड’ रहर लाग्दो मात्रै होइन अनुकरणीय र मिहिनेतको नमुना पनि मान्न सकिन्छ ।
सो कम्पनीका महाप्रबन्धकसमेत रहनुभएका झाओको कम्पनीअन्तर्गत १२० हेक्टर क्षेत्रफलमा फैलिएको ग्रिन हाउस छ । सन् २०१६ बाट तीन चरणमा निर्माण सुरु भएको उहाँको यो ग्रिन हाउसभित्र ९० प्रकारका तरकारी, १० प्रकारका फलफूल, पर्यटकका लागि प्रदर्शनी ग्यालरी, तथ्याङ्क प्रशोधन तथा आपूर्ति केन्द्र र दुई सय पचास जनालाई एकसाथ सेवा दिन सकिने एउटा रेष्टुरेण्ट पनि छ । यसले उच्च पठार क्षेत्रमा व्यावसायिक उत्पादनलगायत तरकारी तथा फलफूलका बोटको वृद्धिको अनुपात, फल तथा उत्पादनको परिमाणमा देखिन सक्ने फरक एवं यसमा आवश्यक सुधारबारे बृहत् अनुसन्धान, तथ्याङ्क सङ्कलन, प्रशोधन गरेर किसानलाई वितरण पनि गर्दछ । त्यसैले उहाँ यसलाई एकीकृत कृषि फर्म भन्न रुचाउनुहुन्छ ।
‘व्यावसायिक उत्पादनबाहेक, कृषि क्षेत्रमा नवीन प्रविधिको प्रयोग, विकास तथा खोज एवं कृषिमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्नु’ ग्रिन हाउस स्थापनाको मुख्य उद्देश्य हो– झाओ छोटकरीमा आफ्नो उद्देश्य प्रस्ट्याउनु हुन्छ ।
पूर्ण अर्गानिक उत्पादन हुने यो केन्द्रमा स्थानीय किसानलाई कृषि प्रविधिसम्बन्धी तालिम पनि दिइन्छ र उपलब्ध तथ्याङ्क उनीहरूलाई प्रयोग गर्न प्रोत्साहित गरिन्छ । यहाँ दैनिक दुई सय पर्यटक घुम्न आउँछन् जो त्यहाँको उत्पादनका प्रत्यक्ष ग्राहक पनि हुन् ।
‘हाम्रो कम्पनी सार्वजनिक निजी साझेदारीको नमुना पनि हो’ –महाप्रबन्धक झाओ थप्नुहुन्छ । तीन चरणमा सम्पन्न गर्ने लक्ष्य लिइएको यो परियोजना अहिले निर्माणको अन्तिम चरणमा छ । हालसम्म यसमा ६० करोड युआन खर्च भएको र अब २० लाख युआन लगानीको तयारी छ । कम्पनीमा ३० प्रतिशत सरकारको लगानी रहेको छ र ६० जना स्थानीय बासिन्दा यसको सेयर सदस्यका रूपमा समावेश छन् । गतवर्ष उनीहरूलाई दस लाख युआन बराबरको रकम लाभांसको रूपमा वितरण गरिएको थियो ।
तिब्बत सरकारले उत्पादन बढाउन सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गरेको छ । यस्ता साझेदारी कार्यक्रमअन्तर्गत प्राविधिकले किसानसँगको सहकार्यमा विभिन्न प्रविधिको प्रयोग र अनुशरण गर्दछन् । यसले नयाँ प्रविधिबारे किसानलाई बुझाउन मात्र होइन आम किसानमा यसको हस्तान्तरण सहज र छिटो छरितो बन्न जान्छ ।
रेल–वे सेवा विस्तार एवं सडक यातायातको निर्माणपछि तिब्बतमा सर्वसाधारणको आयआर्जनमा विशेष जोड दिएको पाइन्छ । यसले तिब्बतका खेतियोग्य जमिनमा नवीन प्रविधिको प्रयोग गर्न सहज बनाएको छ भने उत्पादकत्व पनि कयौँ गुणा बढेको पाइन्छ ।
ल्हासाको निमुस्थित मोर्डन एग्रिकल्चर इन्डष्ट्रियल पार्क पनि एउटा यस्तै प्रकारको नमुना कृषि उद्योग हो । चार हजार मिटर उचाइमा रहेको यो पार्कले व्यावसायिक उत्पादन र किसानलाई प्रविधि हस्तान्तरण दुवै गर्दछ । यहाँ ग्रिन हाउसभित्र टमाटर, तर्बुजा, काँक्राजस्ता फलफूल र तरकारीको पहिलोपटक उत्पादन गरिँदै छ ।
‘यहाँ रोपिएको बीउ अन्तरिक्षमा लगेर परीक्षण गरिएको थियो’ –सो संस्थाका प्राविधिकहरू एक साथ अथ्र्याउनुहुन्छ । ‘यति धेरै उचाइमा यो बीउको कति उमार शक्ति रहन्छ, कत्तिको प्रभावकारी रूपमा फल्छ र रोग प्रतिरोधात्मक क्षमता कस्तो रहन्छ भनेर हेर्न खोजिएको हो’–उहाँहरू बताउनुहुन्छ । यहाँ यस्ता २१ वटा ग्रिन हाउस स्थापना गरिएको छ र यसको क्षेत्रफल १५ हजार वर्गमिटर बराबर छ ।
यहाँ च्याउको उत्पादन र व्यावसायिक प्रशोधन पनि गरिन्छ । यो प्रक्रिया गत सेप्टेम्बरबाट सुरु गरिएको थियो । केन्द्र सरकारको एक करोड ४० लाख युआन यसमा लगानी भएको छ । वरपर नजिकका सबै गाउँमा यस्ता प्लान्ट स्थापना गरिएका छन् । यसको उद्देश्य पनि स्थानीय जनतामा प्रविधि हस्तान्तरण गर्नु हो । प्राविधिकहरू यो प्रक्रियाबाट स्थानीय बासिन्दाको आयआर्जनमा वृद्धि हुने र गरिबी निवारणमा सहयोग पुग्ने विश्वास गर्दछन् ।
केन्द्र सरकारको अनुदानमा नमुना फर्मको रूपमा विकास गरिएको ल्हासाको मुख्य सहर नजिकै चेन्ग्गुआनस्थित ग्रिन प्रोडक्ट गार्डेन एउटा अर्को बहुआयामिक केन्द्र हो । यहाँ दूध दिने १५ सय गाई पालिएका छन् । हरेक दिन यहाँ तीन सय टन दूध उत्पादन गरिन्छ । यी गाई न्यूजिल्यान्ड र चीनकै सान्सी प्रान्तबाट ल्याइएका हुन् । २० हजार वर्गमिटरमा फैलिएको यो फर्ममा ४५ कर्मचारी छन् । एकैपटक ५० गाई दुहुन सकिन्छ ।
यहाँको दुग्ध प्रशोधन कारखाना पनि उच्च प्रविधियुक्त रहेको छ र दूधको गुणस्तर युरोपेली युनियनको मापदण्ड बराबर रहेको बताइन्छ ।
यस्तै चार हजार मिटर उचाइमा रहेको यसै केन्द्रका ग्रिन हाउसभित्रै ग्रिन पार्कको विकास गरिएको छ । यो २५ हजार वर्गमिटरमा फैलिएको र यसलाई पाँच भागमा विभाजन गरिएको छ । यसलाई विश्वको सबैभन्दा उच्चस्थानमा रहेको ठूलो हाई अल्टिच्यूड ग्रिन हाउस दाबी पनि गरिएको छ । पूर्ण स्वचालित यो अर्गानिक फर्ममा माटोबिना बिरुवा उत्पादन, तरकारी, फलफूल तथा सजावटका वनस्पतिलगायत एकसाथ चार सय जना बसेर खान सक्ने रेष्टुरेण्ट पनि रहेको छ ।
तिब्बतेली भूभागमा भएको प्रविधिको यो विकासलाई नेपालमा पनि अनुशरण गर्ने प्रयास सुरु भएको छ । चीन–नेपाल कृषि प्राविधिक सहयोग कार्यक्रमअन्तर्गत सरकारीस्तरबाट नेपालका चारवटा पहाडी जिल्ला रसुवा, नुवाकोट, दोलखा र सिन्धुपाल्चोकका चारवटा कृषि फर्ममा चिनियाँहरूको विभिन्न प्राविधिक टोलीले उच्च उत्पादन दिने चिनियाँ माछा, च्याउ, तरकारी, आलु, गोलभेँडा र घाँसको सम्भाव्यताबारे अध्ययन गरिरहेको हाल कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रका प्रमुख तथा सो कार्यक्रमका तत्कालीन संयोजक प्रकाशकुमार सन्जेलले जानकारी दिनुभयो । हाल आलुजस्ता बालीमा तिब्बतको उत्पादकत्व नेपालको भन्दा तीन गुणा बढी रहेको पाइन्छ ।
कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)सँग मिलेर भइरहेको सो अनुसन्धानबाट सम्भाव्य देखिएका बालीको अनुवंश चीनले नेपाललाई हस्तान्तरण गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । यसबाट नेपालले आफ्नो उत्पादकत्व वृद्धि गर्नसक्छ । यसबाहेक यो परियोजना अन्तर्गत करिब ५० जना नेपाली प्राविधिकले चीनमा तालिमको अवसर पनि प्राप्त गर्ने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?