logo
२०८१ मंसिर ६ बिहीवार



पोषक तत्वले भरिपूर्ण सजिवनको व्यवसायिक खेती

अर्थ |


पोषक तत्वले भरिपूर्ण सजिवनको व्यवसायिक खेती


शशिधर पराजुली
विराटनगर, भदौ १७ गते । हामी मध्ये धेरैले सजिवन कोसाको तरकारी खाएका हुनुपर्छ । सजिवनको सुप (झोल) पोसिलो मानिन्छ । तराई क्षेत्रको महत्वपूर्ण पर्व जुडसितलका दिन अनिवार्य सजिवन कोसाको तरकारी खाने प्रचलन छ । तर सजिवनको उपयोगिता र व्यवसायिक लाभको विषयमा भने धेरैलाई जानकारी नहुन सक्छ ।
सजिवनको कोसासँगै त्यसको पात पनि बहुमूल्य छ भन्ने निकै कमलाई मात्र जानकारी हुनसक्छ ।

मोरङका एकजना किसानले पाँचबिघा भन्दा बढी क्षेत्रफलमा व्यवसायिक रुपमा अग्र्यानिक सजिवन खेती सुरु गर्नुभएको छ । अथाह पौष्टिक तत्व र औषधीय गुणसमेत भएको सजिवनको पात बिक्री गरेर राम्रो आर्जन हुने विश्वाससहित विराटनगरका अविनाश पन्तका दुई दाजुभाई एक वर्षदेखि सजिवन खेतीमा सक्रिय हुनुहुन्छ ।

केही वर्षदेखि ‘एग्रो फरेष्ट्रि’को क्षेत्रमा किसानहरुलाई प्रशिक्षण दिँदै आउनुभएका पन्त आफैं सजिवन उत्पादनमा सहभागी हुनुभएको हो । यहाँ उत्पादित सजिवनको पात धुलो बनाएर युरोपेली मुलुक डेनमार्क निर्यात गर्ने पन्तको तयारी छ । उहाँले डेनमार्कको एउटा कम्पनीसँगै व्यवसायिक सम्झौतासमेत गरिसक्नुभएको छ । सम्झौता अनुसार यसै वर्षबाट उहाँले सजिवनको धुलो निर्यात गर्नुपर्छ ।

पन्तले मोरङको कटहरी गाउँपालिका स्थित थलाहामा ५७ हजार सजिवनको बिरुवा हुर्काउनुभएको छ । यहि असोज महिनाबाट प्रारम्भिक उत्पादन सुरु गर्ने उहाँको लक्ष्य छ । एउटा बयस्क बोटबाट एक वर्षमा दुई किलोग्राम पाउडर उत्पादन हुन्छ । सात किलो हरियो पातबाट एक किलो पाउडर बन्छ । ‘राम्रो सप्रिएको बोटबाट चार किलोसम्म उत्पादन लिन सकिन्छ,’ सजिवन खेतीका विज्ञ अविनाश पन्तले भन्नुभयो ‘सरदरमा प्रति विरुवा दुई किलो पाउडर बराबरको पत्ती टिप्न सकिन्छ ।’ आफ्नो खेतीबाट वर्षमा ५७ हजार विरुवाबाट एक लाख किलो भन्दा बढी धुलो उत्पादन गरी निर्यात गर्ने उहाँको योजना छ । अहिलेको बजार मूल्य अनुसार प्रतिकिलो ४ सयदेखि ५ सय रुपियाँसम्म विश्व बजारमा धुलो बिक्री गर्न सकिने उहाँ बताउनुहुन्छ ।

दक्षिण भारतबाट धेरै पात उत्पादन हुने जातको सजिवनको बीउ ल्याएर पन्त दाजुभाइले विरुवा हुर्काउनुभएको हो । अहिले डेनमार्क, जर्मनी र अमेरिकामा यहि जातको सजिवनको धुलोको उच्च माग छ । वर्षमा पाँच पटक पात टिप्न सकिन्छ । जाडो यामको तीन महिना कम पात उत्पादन हुने र फुल फुल्ने समयमा पात टिपिदंैन । त्यतिबेला लागेको कोसा तरकारीका लागि प्रयोग गरिन्छ । फर्मको ५७ हजार बोटबाट २५ मेट्रिक टनसम्म कोसा फलाउन सकिने पन्तले बताउनुभयो ।

सजिवन बहुभिटामिनयुक्त वनस्पति हो । सदावहार हरियो हुने यो वनस्पतिलाई ‘गरीबको साथी’ पनि भन्ने गरिन्छ । एकदमै छिटो बढ्ने र एक वर्षमै उत्पादन दिने यो वृक्ष थोरै मिहेनतमा नै हुर्किन्छ । विपन्नताले गर्दा प्रर्याप्त पौष्टिक आहारको अभावमा कुपोषणको समस्या झेल्नुपर्ने हाम्रोजस्तो समाजमा सजिवन निकै प्रभावकारी र लाभदायक हुनसक्छ । बलौटे लगायत सबै प्रकारको माटोमा र डाँडो जमिनमा यसको खेती गर्न सकिन्छ ।

वन क्षेत्र, नदी किनारलगायत खेर गएको जमिनमा लगाउन सकिने भएकाले पर्यावरणीय सन्तुलन कायम राख्न र आर्थिक लाभका दृष्टिले यो खेती उपयोगी हुने डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताउनुभयो । ‘कृषि वनको अवधारणा अनुसार सजिवन खेती अत्यन्तै लाभदायी र प्रभावकारी हुनसक्ने देखिएको छ,’ घिमिरेले भन्नुभयो ‘त्यहि भएर प्रदेश सरकारले प्रदेशमा विस्तार गर्ने प्रमुख पाँच वनस्पतिमा सजिवनलाई पनि समावेश गरेको छ ।’

परीक्षणहरुबाट एकसय ग्राम हरियो सजिवनको पात सेवन गर्दा ६४ सय किलो क्यालोरी शक्ति प्राप्त हुने प्रमाणित भएको छ । यसबाट ९ दशमलव ४ प्रतिशत प्रोटिन, विभिन्न आठ प्रकारको भिटामिन, १९ प्रतिशत क्याल्सियम, आइरन, सोडियम, पोटासियम लगायत धेरै प्रकारको मिनरल्स प्राप्त हुन्छ । यो वनस्पतिको सेवनमा भिटामिन–सी, सुन्तलाबाट भन्दा सात गुणा बढी, भिटामिन ए गाँजरमा भन्दा चार गुणा बढी, क्याल्सियम दूधमा भन्दा चार गुणा बढी, प्रोटिन दहीमा भन्दा दुई गुणा बढी पाइने भएकोले संसारमा यसलाई सुपर फुड पनि भन्ने गरिएको सजिवन विज्ञ अविनाश पन्तले जानकारी दिनुभयो ।

विश्व बजारमा मोरिङ क्याप्सुल, ट्याब्लेट आदि बनाएर विक्री वितरण हुने गरेको छ । ४० वर्ष माथिका व्यक्तिहरुकालागि आवश्यक पर्ने पौष्टिक तत्व प्राप्त गर्न यसको सेवन गर्ने गरिएको छ । यसको पात काँचै, तरकारी तथा अचारको रुपमा, चियाको रुपमा सेवन गर्न सकिन्छ । पन्तका अनुसार अफ्रिकामा व्याप्त कुपोषणको समस्या हटाउन एक घर एक सजिवनको रुख भन्ने नारासहित यसको प्रवद्र्धन गरिएको थियो । यो वनस्पतिलाई ‘मोरिङ्गा’, ‘ड्रम स्टिक ट्रि’ सजिवन, सहजन, आदि नामले चिनिन्छ । नेपालको मध्य तथा पूर्वी भागमा यसको राम्रो उत्पादन हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?