logo
२०८१ मंसिर ६ बिहीवार



जापानद्वारा सुसारे लैजाने प्रक्रिया सुरु

अर्थ |


जापानद्वारा सुसारे लैजाने प्रक्रिया सुरु



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १८ गते । जापान सरकारले आप्रवासी नेपाली श्रमिकका रूपमा सुसारे (केयरगिभर)मा लैजाने प्रक्रिया सुरु गरेको छ । नेपालसहित नौ देशबाट विभिन्न १४ क्षेत्रमा विदेशी श्रमिक भिœयाउने घोषणा गरेको जापानले पहिलो चरणमा केयरगिभरका लागि मात्रै श्रमिक भिœयाउनका लागि प्रक्रिया सुरु गरेको हो । जापानको रोजगारीका लागि योग्य हुन जापानी भाषा तथा सीप उत्तीर्ण गर्नुपर्नेछ ।
जापान सरकारको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको सूचनामा स्पेसिफाइड, स्किल्ड वर्कर्सअन्तर्गत जापानमा नर्सिङ, केयरगिभरमा जान चाहनेले नर्सिङ केयर तथा जापानी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने उल्लेख गरिएको छ ।
सो सूचनामा जनाइएअनुसार नर्सिङ केयरगिभरमा जापान जान चाहनेले नर्सिङ केयर स्किल इभ्यालुएसन टेस्टअन्र्तगत ६० मिनेटमा ४५ वटा प्रश्नको लिखित उत्तर दिनुपर्ने छ । जसमा फिजिकल केयरका २० वटा, फन्डामेन्टल अफ केयरका १०, मेकानिजम अफ द माइन्ड एण्ड बडीका छवटा, कम्युनिकेसन स्किलका चारवटा र प्रयोगात्मक अभ्यासअन्तर्गत पाँचवटा प्रश्नको समाधान गर्नुपर्नेछ ।
जापानमा रोजगारीका लागि जान चाहनेले प्रयोगात्मक परीक्षा कम्प्युटर प्रणाली (सीबीटी) माध्यमबाट दिनुपर्नेछ । यसैगरी परीक्षार्थीले नर्सिङ केयर जापानी भाषा मूल्याङ्कन परीक्षाअन्तर्गत ३० मिनेटमा १५ वटा प्रश्नको उत्तर दिनुपर्नेछ । जसमा टेक्निकल ट्रम्स अफ केयरका पाँच, कम्युनिकेसन अफ केयरका पाँच र डकुमेन्ट अफ केयरबाट पाँच गरी १५ अङ्कको भाषा परीक्षा दिनुपर्नेछ । भाषा र सीप परीक्षा शुल्कबापत दस हजार ७१० रुपियाँ (एक हजार जापानी येन) बुझाउनुपर्ने छ ।
जापानको श्रममन्त्रालयका अनुसार परीक्षा सम्पन्न भएको एक महिनापछि नतिजा सार्वजनिक हुने छ भने कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने उम्मेदवार परीक्षामा उत्तीर्ण हुने छन् ।
रोजगारीका लागि जापान जानेका लागि आउँदो कात्तिक १० र १२ गते (अक्टोबर २७ र २९ तारिख)मा भाषा परीक्षा हुनेछ भने सीप परीक्षा आउँदो कात्तिक १९ र २१ गते (नोभेम्बर ६ र ८ तारिख) मा हुने गरी तय भएको छ ।
परीक्षाका लागि कसरी आवेदन भन्ने बारेमा आगामी असोज १५ गतेभित्र जानकारी दिइने बताइएको छ । नेपाल सरकार र जापान सरकारबीच गत चैत ११ गते नेपाली श्रमिक पठाउनेसम्बन्धी एमओसीमा हस्ताक्षर भएको थियो । उक्त सम्झौताअनुसार विभिन्न १४ क्षेत्रमा नेपालसहित नौ देशबाट श्रमिक लैजाने कुरामा सहमति भएको थियो । उक्त सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारीमा रहनुभएका सहसचिव रामप्रसाद घिमिरे र जापानी राजदूत मासासी ओगावाले हस्ताक्षर सम्पन्न भएको थियो । जापान सरकारले विदेशी श्रमिकले जापानमा गर्नुपर्ने काम कृषि, मत्स्यपालन, औद्योगिक क्षेत्र, होटल, रेस्टुरेन्ट, पर्यटन निर्माण, नर्सिङ, केयरगिभर व्यवसायलगायत १४ वटा क्षेत्रभित्र रहेर कामको विवरण पठाउन माग गरेको थियो ।
पहिलो पाँच वर्षमा तीन लाख ४५ हजार १५० श्रमिकलाई जापान लैजाने नीति लिएकोमा नेपालीलाई कति कोटा दिने भन्ने अहिलेसम्म टुङ्गो नभएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपाली श्रमिकलाई १४ वटै कार्यक्षेत्रमा खुला गरिएको भए तापनि कुन कुन क्षेत्रमा के कति सङ्ख्यामा नेपाली श्रमिकको माग गरिने हो भन्ने विषय अझै तय हुन बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
अहिले नेपाली श्रमिकले जापानामा प्रशिक्षार्थीका हैसियतमा मात्र काम गर्दै आएका छन् । कति विद्यार्थी र पर्यटक भिसामा पुगेकाले पनि काम गरिरहन्छन् । अन्य गन्तव्य देशको तुलनामा जापानमा पारिश्रमिक राम्रो छ । नेपाल र जापानबीच यसअघि नै श्रम सम्झौता भइसकेको थियो । त्यसो त सन् १९९३ यता जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) सम्झौता अन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी श्रमिक लैजाँदै आएको थियो । त्यसैअनुसार आर्थिक वर्ष ०६४÷०६५ देखि नेपाली श्रमिक जापान जान सुरु भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?