logo
२०८१ मंसिर ६ बिहीवार



तीनकुने–तिलगङ्गा सडक बाह्रलेन बनाइने

अर्थ |


तीनकुने–तिलगङ्गा सडक बाह्रलेन बनाइने


भउचप्रसाद यादव

काठमाडौँ, भदौ १८ गते । चक्रपथको तीनकुने–तिलगङ्गा खण्ड नेपालकै नमुना सहरी सडकका रूपमा निर्माण हुनेभएको छ । ‘सर्भिस ट्रयाक’, फुटपाथ, साइकल लेनसहित १२ लेनको हुने यसको निर्माण काठमाडौँ सडक डिभिजन कार्यालय मातहतमा गर्न लागिएको हो ।
सो सडक नेपाली लगानी, सीप र प्रविधिबाट निर्माण गरिने छ । अहिले यो सडक दुई लेनको छ । सात मिटर चौडाइ रहेको यो सडक खण्ड विस्तारपछि ६२ मिटर फराकिलो हुनेछ ।
काठमाडौँ डिभिजन कार्यालयका प्रमुख कैलाश श्रेष्ठले चक्रपथको तीनकुने–तिलगङ्गा खण्डको करिब तीन किलोमिटर सडक मुलुककै अहिलेसम्मको नमुना सडकका रूपमा निर्माण गर्ने गरी काम अगाडि बढाइएको जानकारी दिनुभयो ।
यस सडक खण्डलाई ‘एक्सप्रेस–वे’ का रूपमा नभई ‘सिटी–वे’ का रूपमा निर्माण गरिने डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार, यस सडक खण्डमा ‘सिटी–वे’ का लागि आवश्यक सबै संरचना निर्माण गरिने छ ।
अहिले सो सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको बताउँदै उहाँले अबको दुई महिनाभित्र डीपीआरको प्रतिवेदन प्राप्त भइसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “डीपीआर प्रतिवेदन स्वीकृत भएसँगै बजेट व्यवस्थापन भएपछि निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढाइने छ ।” यस सडक खण्डको निर्माण लागत करिब दुई अर्ब रुपियाँ हुनसक्ने उहाँले बताउनुभयो ।

‘फ्लाई ओभर’ निर्माण गरिने
अहिलेसम्मकै फरक र आधुनिक डिजाइनमा निर्माण गरिने यस सडक खण्डमा मुलुकको सडक इतिहासमा पहिलोपटक गाडी गुड्ने
‘फ्लाई ओभर’ निर्माण गरिने जानकारी समेत डिभिजन प्रमुख श्रेष्ठले दिनुभयो ।
सो सडक खण्ड भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जान चाहने सवारीसाधन तथा पैदलयात्रीका लागि गाडी गुड्ने ‘फ्लाई ओभर’ निर्माण गरिने छ । त्यसैगरी, पैदलयात्रीका लागि सडक खण्डको प्रत्येक पाँच सय मिटरमा आकाशे पुल निर्माण गरिने छ ।

‘ग्रिनरी’ सहितको ‘मेडियन’
त्यसैगरी यो सडक खण्डमा ग्रिनरीसहितको मेडियन, डेडिकेटेड सर्भिस लेन निर्माण गर्नुका साथै चक्रपथमा मोनोरेल सञ्चालन गर्ने तयारी भइरहेको अहिलेको अवस्थामा मोनोरेल सञ्चालन गर्नसक्ने गरी यो सडक खण्डको डिजाइन गरिने डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो ।
रातिको समयमा चालकको आँखामा विपरीत दिशाबाट आइरहेको सवारीसाधनको बत्तीको प्रकाश पर्ने गरेको हुनाले यस खण्डमा ‘मेडिन’ राखिने भएको छ । यसअघि विस्तार गरिएको चक्रपथको कोेटेश्वर–कलङ्की खण्डमा ‘मेडियन’ राखिएको छैन ।

चावहिलसम्म विस्तार गर्न अनुरोध
चक्रपथको कलङ्कीदेखि महाराजगञ्ज चोकसम्म विस्तार गरिरहेका चिनियाँ पक्षलाई चक्रपथको चावहिलसम्म विस्तार गर्नका लागि सडक विभागबाट अनुरोध गरिएको छ । सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको महाराजगञ्जदेखि चावहिलसम्म विस्तार गरिदिनका लागि चिनियाँ पक्षलाई आग्रह गरिए पनि अहिलेसम्म कुनै प्रतिक्रिया नआएको जानकारी दिनुभयो ।
अहिले कलङ्की–महाराजगञ्ज खण्डको डीपीआर निर्माणको क्रममा रहेको बताउँदै महाशाखा प्रमुख थापाले नेपालको सन्दर्भमा सडक चिह्न, आकाशे पुल, जेब्राक्रसिङलगायत विभिन्न ट्राफिक नियमका बारेमा विशेष ध्यान दिन चिनियाँ पक्षलाई सुझावको रूपमा आग्रह गरिएको बताउनुभयो ।
चक्रपथको विस्तारित कोटेश्वर–कलङ्की खण्डमा देखिएका केही समस्या यस खण्डमा नआओस् भनेर नेपाल पक्ष सचेत रहेको उहाँले स्पष्ट पार्नुभयो । वि.सं. २०२७ सालमा चीन सरकारकै अनुदान सहयोगमा २७ किमी दुई लेनको चक्रपथ निर्माण भएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?