विष्णुप्रसाद पोखरेल/जयकृष्ण यादव
दमक, भदौ १९ गते । झापामा लगाइएको धानबालीमा विभिन्न रोगको प्रकोप देखिन थालेको छ । कमल गाउँपालिकाको वडा नं. २ समयगढ वरपर पातको फेद कुहिने रोग (सिथ ब्लाइट) देखापरेको कृषि प्राविधिहरूले जनाएका छन् । यसले महामारीको रूप लिनसक्ने भएकाले यसलाई फैलन नदिन सुरक्षित विषादीको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । यसअघि हिउँदे धानमा नेकब्लास्ट रोगले ठूलो क्षति पु¥याएको थियो ।
कृषि प्राविधिक प्रेम पोखरेलका अनुसार यो रोग ‘राइजोक्टोनिया सोलानी’ नामक ढुसी जीवाणुबाट लाग्ने गर्छ । समयमा नियन्त्रण गर्न नसकेमा यसले उत्पादनमा ठूलो असर पु¥याउन सक्छ । उहाँले करिब एक सय बिघा धान खेतीमा यो समस्या देखापरेको बताउनुभयो ।
यसैगरी झापाको गौरादह नगरपालिकामा फौजीकीराका कारण धानबालीमा ठूलो असर पुगेको छ । गौरादहको वडा नं. ६ मा पाँच सय बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको धान खेतीमा यो समस्या देखिएको छ । स्थानीय किसान शारदा प्रसाईंका अनुसार पसाउन थालेको धानको बोटदेखि नै खाएर फौजीकीराले सबै नष्ट पारिदिएको छ ।
स्थानीय किसान यादवकुमार बस्नेतले डेढ बिघा धान पूरै सखाप भएको बताउनुभयो । किसानका अनुसार दिनभर धानको गाँजमा लुक्ने र रात परेपछि यो कीराले धानका टुप्पा काटेर भुइँमा झार्ने गरेको किसान बताउँछन् ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख मिनकमल सिंहले सबै स्थानीय तहका कृषि प्राविधिकलाई यो समयमा देखिने रोगको रोकथामका लागि गर्नुपर्ने कामको विषयमा आवश्यक प्राविधिक ज्ञान प्रदान गरिसकेको दाबी गर्नुभयो ।
सुनसरीमा ग्वारो र पतेरो
सुनसरीको सदरमुकाम इनरुवा र अन्य गाउँपालिकाका विभिन्न स्थानका धान बालीमा पनि ग्वारो, पतेरो र पात बेरुवा रोगको प्रकोप देखापरेको किसानले गुनासो गरेका छन् । धान बालीमा हल्का खैरो रङका पुतलीजस्तो कीरा लागेको र केही धानको पात सुकाइदिएकाले विषादी हाल्नुपर्ने अवस्था आएको किसान कोसी गाउँपालिका–३ का गणेशी यादवले बताउनुभयो । धानमा कीराको आक्रमणपश्चात् पातलाई बेरेर भित्र बस्ने र पातको हरियो पदार्थ खाइदिने गर्दछ । जसका कारण धानको पात सुक्ने समस्या देखापरेकाले किसान चिन्तित बनेको यादवको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख नुनुलाल उराँवले ग्वारोको क्षति कम गर्न हरेक वर्ष धान काटिसकेपछि बाँकी रहेको सम्पूर्ण ठुटा निकालेर जलाइदिने अथवा ठुटा डुब्नेगरी पानी पटाइदिने जस्ता कार्य गर्नुपर्ने बताउनुहुन्छ ।
उता हरिनगर, गढी, बर्जु र भोक्राहा नरसिंह गाउँपालिका सहितमा किसानले लगाएको धानमा फड्के कीरा लागेको गुनासो बाहिर आएको छ । किसान रामदेव मेहताका अनुसार धानमा लाग्ने कीरा हरियो, सेतो खैरो पिठ्युँ भएका र फुत्त फुत्त उफ्रने किसिमका मसिना कीरा भएको र त्यसले आक्रमण गर्दा धानका बिरुवा सुकेर मर्ने गरेको छ । जसका कारण धानका बेर्ना गाँजिन र बढ्न नसक्ने अवस्थामा पुगेकाले किसान चिन्तित बनेका अर्का किसान भुवनेश्वर यादवले बताउनुभयो ।