logo
२०८१ मंसिर ८ शनिवार



एडीबीका आयोजना प्रभावकारी भएनन्

अर्थ |


एडीबीका आयोजना प्रभावकारी भएनन्



गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २० गते । एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनमा फेरि पनि समस्या नै रहेको देखिएको छ । एडीबीले बिहीबार आयोजना गरेको त्रिपक्षीय कार्यसम्पादन समीक्षा बैठकमा नेपालले आयोजनाहरूका लागि प्राप्त सहयोग खर्च गर्न नसकेको जनाइएको हो ।
एडीबीको लगानीमा सञ्चालित आयोजनाहरूको साउन १५ गतेसम्मको अवस्था सार्वजनिक गर्दै लक्ष्यअनुसार खर्च हुन नसकेको जानकारी दिएको छ ।
समीक्षा बैठकमा बोल्दै नेपालका लागि एसियाली विकास बैङ्कका राष्ट्रिय निर्देशक मुख्तोर खामदखोनभले खर्चको प्रवृत्तिमा केही सुधार आए पनि खासै सुधार हुन नसकेको जनाउनुभयो । उहाँका अनुसार भूकम्पपछिको पुनःनिर्माणमा भएको प्रगति र अन्य केही जलविद्युत् आयोजनाका कारण खर्चको प्रवृत्तिमा सुधार आएको हो । उहाँले नेपालमा आयोजना कार्यान्वयनको अवस्था सुधारोन्मुख रहेको तर पनि चुनौती पनि उत्तिकै बढ्दै गएको उल्लेख गर्नुभयो ।
नेपालमा कार्यसम्पादन व्यवस्थापन एकाइका लागि एडीबीको मुख्यालयका प्रमुख रुदी भान दएलले कार्यक्षेत्रमा ढिलाइ नहुने गरी प्रभावकारी आयोजना तर्जुमा र आयोजनाको अझ प्रभावकारी कार्यसम्पादन सुनिश्चित हुनुपर्ने बताउनुभयो । उहाँले आयोजनाको वित्तीय विवरणको समयमै लेखापरीक्षण र समयमै आयोजनाको अन्त्य कार्यसम्पादनमा सुधारका लागि महìवपूर्ण रहेको बताउनुभयो ।
अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले कार्यान्वयनमा आउने अवरोधको समीक्षाका लागि समीक्षा बैठक महìवपूर्ण हुने भन्दै सरकार आव सन् २०१९ को निर्धारित लक्ष्य प्राप्तिमा प्रतिबद्ध रहेको जनाउनुभयो ।
बैठकमा दिइएको जानकारी अनुसार एडीबीको लगानीमा सञ्चालित कुनै पनि आयोजनाले लक्ष्यअनुसार खर्च गर्न सकेका छैनन् । बैंङ्कले दिएको जानकारी अनुसार गएको साउन १५ सम्म २९ अर्ब रुपियाँ खर्च गर्ने लक्ष्य लिएकोमा यो अवधिमा जम्मा १७ अर्ब रुपियाँमात्र खर्च भएको छ ।
खर्चमात्र होइन लक्ष्यअनुसार ठेक्का पनि हुन सकेको छैन । यो अवधिमा २९ अर्बकै ठेक्का सम्झौता गर्ने लक्ष्य लिइएको भए पनि १७ अर्ब रुपियाँको मात्र भएको जनाइएको छ ।
एडीबीले नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि ३८ करोड ९० लाख अमेरिकी डलर सहयोग गरेको छ । चालू आवका लागि प्रदान गरिएको रकम तीन करोड ८७ लाख ५० हजार डलर रहेकोमा वर्षको अन्त्यसम्म पाँच करोड ९५ लाख ३० हजार डलर पुग्ने अनुमान गरिएको छ । उक्त सहयोग रकम विद्यालयको पुनःनिर्माणमा
केन्द्रित छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?