logo
२०८१ मंसिर ८ शनिवार



बायोफ्लक प्रविधिबाट आँगनमै माछापालन

अर्थ |


बायोफ्लक प्रविधिबाट आँगनमै माछापालन



उर्लाबारी समाचारदाता

उर्लाबारी, भदौ २० गते । मोरङको कानेपोखरी–६ का गणेश कट्टेलले बायोफ्लक प्रविधिबाट माछापालन व्यवसाय सुरु गर्नुभएको छ । यो प्रविधिबाट माछापालन गर्दा खेतमा खाडल खनिरहनु पर्दैन ।
घरआँगनमै माछा पाल्न सकिने यो प्रविधि मोरङमा आफूले नै पहिलोपटक सुरु गरेको कट्टेलले दाबी गर्नुभयो । बैङ्कको जागिर छाडेर माछापालनमा लाग्नुभएका २५ वर्षीय गणेश वार्षिक छ लाख रुपियाँको माछा उत्पादन गर्ने लक्ष्य रहेको बताउनुहुन्छ । उहाँ अहिले फलामे रडबाट निर्माण गरिएको तीन डायमिटरको खाडलमा एक हजार पाँच सय माछाका भुरा हाल्ने तयारीमा हुनुहुन्छ ।
ट्राउटबाहेक सबै प्रजातिका माछा पाल्न सकिने फलामे खाडलमा पानी चिसो बनाइरहन अक्सिजनको व्यवस्था मिलाइएको छ । एक वर्षमा दुईपटक माछा निकाल्न सकिन्छ । एक हजार पाँच सय भुरा हाल्दा एकपटकमा न्यूनतम दुई लाख रुपियाँको माछा उत्पादन हुने कट्टेलले बताउनुभयो । सामान्यता छ सय ग्रामको भएपछि माछा बिक्री गर्न सकिन्छ ।
कट्टेलले हाल एउटा तीन डायमिटरको खाडल तयार गर्नुभएको छ । खाडल तयार गर्ने पूर्वाधार र अक्सिजनको व्यवस्थापन गर्दा हालसम्म ८५ हजार रुपियाँ खर्च भइसकेको व्यवसायी कट्टेलको भनाइ छ । यस्तो खाडल पाँच डायमिटरसम्मको निर्माण गर्न सकिन्छ । जति ठूलो निर्माण गर्न सक्यो उत्ति नै कम लगानी हुने उहाँले बताउनुभयो ।
कट्टेलको यो व्यवसायमा स्थानीय दीपक माझी, मानबहादुर मगर र नवीन दाहाल पनि साझेदार बन्नुभएको छ । उहाँले साझेदर बढेपछि उहाँले थप खाडल तयार गर्ने बताउनुभएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र विराटनगरका मत्स्य विकास अधिकृत रुद्र फुयाँलले यो प्रविधिमा बढी जोखिम हुने बताउनुभयो । मोरङको विराटनगरमा एक जना किसानले बायोफ्लक प्रविधिबाट माछा पालिरहेको भए पनि यो प्रविधिका लागि सरकारीस्तरबाट कुनै सहयोग र कार्यक्रम नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?