कोकिला ढकाल
इलाम, भदौ २३ गते । अलैँचीका बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यो सिजनमा १५ लाख रुपियाँका बिरुवा बिक्री गरेको छ । प्रतिगोटा पाँच रुपियाँका दरले तीन लाख अलैँचीका बिरुवा बिक्री गरेको केन्द्रका बागवानी विकास अधिकृत लक्ष्मीनारायण शर्माले बताउनुभयो ।
केन्द्रले रामसाही र गोलसाही जातका अलैँचीका बिरुवा उत्पादन गरी बिक्री गरेको शर्माले जानकारी दिनुभयो । यसपटक केन्द्रले उत्पादन गरेका बिरुवा पश्चिमी जिल्ला बाजुरा, बैतडी, पाँचथर र इलाममै बिक्री भएको छ ।
केही वर्षयता विभिन्न रोगका कारण धेरै अलैँची बगान सखाप भएपछि केन्द्रले टिस्युकल्चर प्रविधिबाट पनि बिरुवा उत्पादनको परीक्षण गरिरहेको छ । टिस्युकल्चरबाट उत्पादन भएका बिरुवामा रोग लाग्दैन, यो प्रविधिको परीक्षण भइरहेको छ, आगामी वर्षदेखि यो प्रविधिका बिरुवा पनि रोप्न तयार हुन्छन्, शर्माले भन्नुभयो ।
अहिले पनि ढुसी, डढुवा, फुर्के, छिर्कैजस्ता रोकका कारण नयाँ बगान फेरि नस्ट हुन थालेका छन् । किसानले कति उचाइमा कुन जातको बिरुवा लगाउँदा बाँच्न सक्छ भन्नेमा ध्यान दिनुपर्ने भएको छ । अलैँचीका लागि माटोको अम्लियपना साढे चारदेखि साढे छसम्म हुनुपर्नेमा त्यो घटेर साढे तीनभन्दा कम हुने कारण पनि अलैँचीमा असर परेको शर्माको भनाइ छ ।
तर, यो वर्ष अलैँचीको पात रातो हुने, डाँठ कुहिने र बगान नै सुक्ने समस्याले किसान भने निराश भएका छन् । भरखरै उत्पादन सुरु भएका बगानमा यस्तो रोग देखा परेपछि पुनः लगाउन थालिएको अलैँचीलाई कसरी बचाउने भन्ने समस्या भएको किसान माईजोगमाईका किसान लक्ष्मण काफ्लेले बताउनुभयो । माईजोगमाईका सोयाङ, प्याङ, सन्दकपुरका माईमझुवा, माबुलगायतका गाउँमा लगाइएको अलैँची बगान रोगका कारण नस्ट भएका छन् ।
अलैँची बगान नै रातो देखिनु, डाँठ कुहिनु र फल नलाग्नु ढुसी रोग भएको केन्द्र प्रमुख पदम अधिकारीले बताउनुभयो । तल्लो भेगको अलैँची उच्च क्षेत्रमा लगाउनु, समयमा पानी नपुग्ने, मल तथा गोडमेलको कमिले यस्तो भएको हो । उहाँका अनुसार अलैँचीमा ढुसी देखा प¥यो भने डाइथेनम ४५ र कपर क्लोराइड प्रयोग गर्नुपर्छ । ढुसी नामक यो विषादीले अलैँचीको जरा भिज्ने गरी प्रयोग गरियो भने समस्या समाधान हुन्छ । केन्द्रका अनुसार इलामको एक हजार छ सय हेक्टर जमिनमा अलैँची खेती हुन्छ । आर्थिक वर्ष २०७३÷७४ मा जिल्लामा ५७६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । नेपालमा भने १७ हजार हेक्टरमा खेती हुने अलैँची आर्थिक वर्ष २०७३÷७४ मा १२ हजार पाँच सय आठ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । तर, आर्थिक वर्ष २०७४÷७५ मा देशको १७ हजार चार हेक्टरमा अलैँची खेती भएको छ । यसमध्ये १२ हजार सात सय ७९ हेक्टरमा छ हजार आठ सय ४९ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।
बगान मासिएर उत्पादन शून्य भएपछि पुनः अलैँची उखेलेर किसानले चिया, किबीजस्ता नगदे बाली लगाउन थालेका छन् । दुई वर्ष राम्रो उत्पादन दिएको अलैँची तेस्रो वर्ष बगानै रातो भएर सखाप भएपछि यो वर्ष चिया लगाएको सोयाङका किसान टङ्क चापागाईंले बताउनुभयो ।