logo
२०८१ मंसिर ७ शुक्रवार



दशैँका लागि खाद्यान्न बिक्री

अर्थ |


दशैँका लागि खाद्यान्न बिक्री



राजन रावत

सिमकोट, असोज ४ गते । नेपाल खाद्य संस्थानले दशँै लक्षित गरेर ढुवानी अनुदानमा ल्याइएको चामल सर्वसाधारणका लागि बिक्री सुरु गरेको छ । दशैँ नजिक आएसँगै संस्थानले एक हप्तासम्म लगातार यस्तो खाद्यान्न बिक्री–वितरण गरेको हो ।
संस्थानद्वारा बिक्री भएको ३५ केजी सोना मन्सुली चामल खरिद गरेको सिमकोट २ की तुलसा बोहराले बताउनुभयो । यति खाद्यान्न लिएपछि अब दशैँसम्म समस्या नहुने उहाँको भनाइ थियो । गतवर्ष दशैँका लागि दुई केजी मात्र पाउनुभएकी उहाँले यस पटक भने ‘राम्रै परिमाणमा’ खाद्यान्न पाएको बताउनुभयो ।
यस पटक संस्थानसँग अघिल्लै वर्षको खाद्यान्न मौज्दात रहेको कारण दशैँलाई खाद्यान्न बिक्री गर्न सहज भएको संस्थानको शाखा कार्यालय सिमकोटका प्रमुख रामबहादुर विष्टले बताउनुभयो । दशँैका बेला जनतालाई खाद्यान्न बिक्री गर्न पहिलो पटक समस्या नपरेको हो । गतवर्ष खाद्यान्न समस्या हँुदा प्रतिपरिवार दुई केजी खाद्यान्न बिक्री गरिएको थियो । यतिखेर संस्थानले खाद्यान्न सिमकोट खार्पुनाथ गाउँपालिका र बजारवासीलाई बिक्री गरिरहेको उहाँले बताउनुभयो । यसपालि सिमकोट गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का बासिन्दालाई घर कुपनबाट प्रतिपरिवार र प्रतिसदस्य दस केजी र वडा नम्बर १, २, ३, ७ र ८ का बासिन्दालाई रासन कार्डबाट प्रतिपरिवार प्रतिसदस्य छ केजीका दरले खाद्यान्न बिक्री गरिएको छ । यसरी खाद्यान्न बिक्री गरिएपछि दशैँमा सकैलाई पनि खाद्यान्न समस्या नहुने प्रमुख विष्टले बताउनुभयो ।
अर्को खार्पुनाथ गाउँपालिकाका सबै वडाका लागि १४१ क्विन्टल ३० केजी खाद्यान्न बिक्री गरिएको संस्थानले जनाएको छ । खाद्यान्न बिक्री गर्न सहजताका लागि संस्थानले पालिका र वडा अनुसार व्यवस्था गरेको छ । यो खाद्यान्न बिक्रीबाट सिमकोट गाउँपालिकाका सबै वडा र बजारवासी गरी दुई हजार ७७३ घरधुरीका १६ हजार ६६६ जनसङ्ख्या प्रत्यक्षरूपमा लावान्भित भएका छन् भने खार्पुनाथका १५ सय घरधुरीका सात हजार पाँच सयभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । संस्थानद्वारा ढुवानी अनुदानमा बिक्री हुँदै आएको खाद्यान्नमा प्रतिकेजी ५७ रुपियाँदेखि खाद्यान्नको प्रकार हेरेर ७० रुपियाँसम्म पर्ने गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?