logo
२०८१ मंसिर ७ शुक्रवार



विकास खर्च एक प्रतिशत मात्रै

अर्थ |


विकास खर्च एक प्रतिशत मात्रै



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ४ गते । लक्ष्यअनुसार खर्च हुन नसक्ने प्रवृत्ति चालू आर्थिक वर्षको पहिलो दुई महिनामै देखिएको छ । चालू आवको भदौ मसान्तसम्म एक खर्ब ५३ अर्ब २९ करोड रुपियाँ खर्च गर्ने लक्ष्य रहेकोमा जम्मा ५९ अर्ब ३९ करोड रुपियाँ मात्र खर्च भएको छ । यो चालू वर्ष राखिएको खर्च लक्ष्यको केवल ३.८७ प्रतिशत हो । सरकारले चालू आवमा कुल १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट विनियोजन गरेको छ ।
तथ्याङ्क अनुसार दुई महिनामा सरकारले चालूतर्फ ५३ अर्ब ६६ करोड रुपियाँ खर्च गरेको छ । यो लक्षित चालू खर्चको ५.६१ प्रतिशत हो । चालू आवमा नौ खर्ब ५७ अर्ब १० करोड रुपियाँ चालू खर्च हुने प्रक्षेपण छ । विकास खर्चको अवस्था निकै कमजोर छ । दुई महिनामा केवल पाँच अर्ब १३ करोड रुपियाँ मात्र विकास खर्च भएको ।
यो खर्च चालू आवका लागि तोकिएको चार खर्ब आठ अर्ब रुपियाँको लक्ष्यको केवल १.१७ प्रतिशतमात्र हो । विकास खर्चसँग सम्बन्धित ठेक्का प्रणालीमा हुने ढिलाइका कारण आर्थिक वर्षको सुरुवाती महिनामा यो शीर्षकमा खासै खर्च नहुने विगतदेखिकै प्रवृत्ति रहँदै आएको छ । अर्थ मन्त्रालयले समयमै ठेक्का लगाएर खर्च गर्न नसक्ने प्रवृत्ति दोहोरिए बजेट ‘सरेन्डर’ गर्न लगाउने बताउँदै आएको छ । त्यस्तै वित्ततर्फ ५९ अर्ब ५३ करोड रुपियाँ खर्च भएको छ । यो लक्षित वित्तीय खर्चको ०.३५ प्रतिशत मात्र हो ।
राजस्व १२ प्रतिशतमाथि
भदौ मसान्तसम्मको सरकारको आयव्यय विवरणअनुसार दुई महिनामा एक खर्ब ३८ अर्ब ८० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । यो रकम दुई महिनाभित्र सङ्कलन गर्ने राजस्व लक्ष्यको तुलनामा २७ अर्ब ६० करोड रुपियाँले बढी हो ।
सरकारले भदौसम्म एक खर्ब ११ अर्ब २०
करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखेको थियो ।
सङ्कलित राजस्व चालू आवको कुल राजस्व लक्ष्यको तुलनामा भने १२.४८ प्रतिशत हो ।
सरकारले चालू आवको बजेटमा नौ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य
राखेको छ ।
सङ्कलित राजस्वमध्ये करतर्फ एक खर्ब २९ अर्ब ४८ करोड रुपियाँ रहेको छ ।
त्यस्तै गैरकर शीर्षकतर्फ नौ अर्ब चार करोड रुपियाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?