डम्बरजंग डाँगी/महेन्द्र बिष्ट
विराटनगर, असोज ४ गते । प्रदेश १ सरकारले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ५३ प्रतिशतभन्दा बढीले वृद्धि गर्ने लक्ष्यसहितको पञ्चवर्षीय योजना पारित गरेको छ ।
बुधबार प्रदेश योजना आयोगको पूर्ण बैठकले पारित गरी मन्त्रिपरिषद्मा पेश गरेको सो पञ्चवर्षीय योजना (आ.व. २०७६,७७–२०८०/८१) प्रदेश सरकार मन्त्रिपरिषद्ले बिहीबार पारित गरेको हो ।
‘आज मन्त्रिपरिषद्ले पारित गरेको छ’, प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले बिहीबार गोरखापत्रलाई जानकारी दिनुभयो ।
प्रदेश १ को पहिलो आवाधिक योजनाले आ.व. २०८०/८१ सम्ममा प्रदेशबासीको प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ । यो अहिलेको डलर मूल्यमा एक लाख ८४ हजार ६८० रुपियाँ हो । अहिले प्रदेश १ को प्रतिव्यक्ति आय एक हजार ६२ डलर (एक लाख २१ हजार रुपियाँ) छ ।
यसै अवधिमा मानव विकास सूचकाङ्क ०.५२३ बाट ०.६०० पु¥याउने लक्ष्य छ । यो योजनाले स्वच्छ सुखी र समुन्नत प्रदेशको मूल नारा बोकेको छ ।
प्रदेश योजना आयोगका सदस्य पूर्ण लोक्सोमले राष्ट्रिय योजना, नीति र कार्यक्रमका आधारमा नै प्रदेश योजना बनेको भए पनि प्रदेश १ ले आर्थिक वृद्धिदर उच्च बनाउन र आर्थिक असमानता कम गर्न बढी जोड दिएको बताउनुभयो ।
उहाँले भन्नभयो –‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न १० वटा सूचक तयार गरिएको छ, हामीले यसलाई अलिक व्यापक बनाएर स्वच्छ, सुखी र समुन्नत प्रदेशको मूल लक्ष्य बनाएका छौँ र यसका लागि १२ वटा सूचक बनाएका छौँ’ ।
प्रदेशको कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) हाल पाँच खर्ब ५० अर्ब २९ करोड १० रुपियाँ छ । योजनाको लक्ष्यअनुसार आर्थिक गतिविधि वृद्धि भएमा पाँच वर्षभित्रमा कुल गार्हस्थ्य उत्पादन आठ खर्ब तीन अर्ब पाँच करोड ३० लाख रुपियाँ पुग्ने छ ।
यसका लागि हाल भइरहेको ८.७ प्रतिशतको आर्थिक वृद्धिदरलाई १०.४ प्रतिशत पु¥याउने लक्ष्य निर्धारण गरिएको छ । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान हालको करिव २० प्रतिशतबाट बढेर २४ प्रतिशत पुग्ने र दुई लाख रोजगारीका अवसर सिर्जना हुने छन् । योजना अवधिभरमा साक्षरता प्रतिशत ८४ प्रतिशतबाट ९९ प्रतिशत र औसत आयु ७० वर्षबाट ७३ वर्ष पु¥याउने लक्ष्य छ ।
समयमै योजना निर्माण गरेर अगाडि बढ्नु सकारात्मक रहेको विचार व्यक्त गर्दै स्नातकोत्तर क्याम्पस विराटनगरका सहप्राध्यापक डा. अर्जुन बराल योजनाले निर्धारण गरेका लक्ष्यहरु हासिल हुननसक्ने नभए पनि प्रभावकारी कार्यान्वयनको आवश्यकता औँल्याउनुहुन्छ ।
यो योजना पारित गर्न केही ढिला भए पनि यसका नीति र कार्यक्रम चालू आर्थिक वर्षको बजेटमा पनि नै समावेश भइसकेको सदस्य लोक्सोमले बताउनुभयो । ‘अब हामी यसको कार्यान्वयनको खाका बनाउँछौँ, अनुमगनलाई प्रभावकारी बनाउँछौँ’ योजनाको लक्ष्य हासिल गर्न प्रभावकारी कार्यान्वयन गरिने चर्चा गर्दै उहाँले थप्नुभयो ।
प्रदेश १ सरकार गठन भएको १८ महिनामा पहिलो पञ्चवर्षीय योजना पारित गरेको हो । यसअघि गण्डकी प्रदेशले मात्रै आवाधिक योजनापारित गरेको छ भने प्रदेश ३ ले आधारपत्रमात्रै बनाएको छ ।