लक्ष्मण दर्नाल
काठमाडौँ, असोज ७ गते । दशैँमा घर जान अग्रिम बस टिकट काट्दै हुनुहुन्छ भने बसपार्कमा गएर लाइन बस्नु पर्दैन । टिकट काउन्टर धाइरहनु पर्दैन, घरबाटै सिट रोजेर टिकट बुकिङ गर्न सकिन्छ । डब्लूडब्लूडब्लू डट बससेवा डटकममा गएर अनलाइन बुकिङ गर्न सकिन्छ ।
वेबसाइटमा गएपछि आफू जाने ठाउँ गन्तव्य र मिति भरेपछि बसका सिट र लाग्ने भाडाको लिस्ट देखिन्छ । त्यसपछि सिट रोजेर नाम, मोबाइल नम्बर तथा इमेल ठेगाना भर्नुपर्छ । बस चढ्न पायक पर्ने ठाउँ पनि छानेपछि टिकटको भुक्तानीका लागि ई–सेवामा प्रवेश गर्नुपर्छ । भुक्तानी भएपछि तपाईंको मोबाइल वा इमेलमा नै टिकट आउँछ ।
बस सेवा डटकमले दशैँ, तिहार तथा छठ पर्वका लागि आइतबारबाट अग्रिम टिकट बुकिङ खुला गरेको छ । छ वर्षदेखि अनलाइनमार्फत टिकट बिक्री गर्दै आएको बससेवाले अहिले चाडवाडको लागि पनि अनलाइनबाट टिकट बुकिङ गरिरहेको छ । आइतबार र सोमबारसम्म करिब १० हजार टिकट बुकिङ भइसकेको बस सेवा डटकमका महाप्रबन्धक मोहन बेलबासेले बताउनुभयो ।
बेलबासेले भन्नुभयो, “राति वा बिहानै गएर घण्टौँ लाइन बस्नुपरेन, घरबाटै टिकट लिन सकिन्छ, आफैले सिट हेरेर बुक गर्न सकिन्छ, भाडामा ठगिनुपरेन, दलालको फन्दामा परिँदैन । समयको पूरै बचत भयो र अति भरपर्दो छ । ” इन्टरनेट र इमेल खाताको आफूसँग सुविधा नभएकाले पनि साइबरबाट बुकिङ गर्न सकिने उहाँले बताउनुभयो ।
साथै अनलाइन टिकटमा मोबाइल बैङ्किङ, ईएमई पे, ई–सेवा, इन्टरनेट बैङ्किङ, एससीटी डेबिट कार्डबाट भुक्तानी गर्न सकिन्छ । त्यस्तै, सम्बन्धित यातायातको वेबसाइट, बससेवा मोबाइल एप्लिकेसन, ई–सेवा मोबाइल एप्लिकेसनबाट पनि बुकिङ गर्न सकिन्छ ।
बससेवा डटकमले यातायात प्रालिहरूलाई अनलाइन सिस्टममा राखेको छ । तर सबै यातायात सेवा अनलाइनमा गइसकेका छैनन् । टिकट लिनेहरूले पनि बसपार्कमै गएर लाइन बस्ने तर अनलाइन सुविधाको प्रयोग नगर्ने गरेको बताइएको छ । बेलबासे भन्नुहुन्छ, “अनलाइबाटै टिकट लिन सकिने सुविधा छ तर मान्छे लाइन बसिरहेकै छन् । ”
हाल पश्चिम नेपाल बस व्यवसायी प्रालि, त्रि–सिद्धेश्वर राप्ती यातायात प्रालि, नमस्ते सगरमाथा प्रालि, गोरख जगदम्बा, शुभ जगदम्बा र तहल्का लगायतका एक दर्जन कम्पनी अनलाइनमा गएका छन् ।
बससेवा डटकमबाट हाल पोखरा, बाग्लुङ, जोमसोम, बुटवल, भैरहवा, कपिलवस्तु, अर्घाखाँची, दाङ, नेपालगन्ज, सुर्खेत, रुकुम, चितवन, वीरगञ्ज, गौर, जनकपुर, ओखलढुङ्गा, खोटाङ, रसुवा, विराटनगर, धरान, काँकडभिट्टा, पशुपतिनगर, दमक, बर्दिबास, इटहरी, गुल्मी, पाल्पा लगायतका ७७ स्थानका लागि अनलाइन टिकट लिन सकिन्छ ।
सुदूरपश्चिममा भने यो सुविधा छैन । काउन्टरबाट टिकट काट्नुभन्दा अनलाइनबाट काट्दा व्यवसायीलाई पनि तोकेकै रकम आउने बससेवा डटकमले जनाएको छ ।
तर बसपार्कमा गएर टिकट लिनेहरूको भीड उत्तिकै छ । आइतबार र सोमबार झण्डै तीन लाख अग्रिम टिकट बुकिङ भइसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । टिकट लिनेको लामो लाइन व्यवस्थित गर्न प्रहरी खटिनुपरेको छ । नयाँ बसपार्कमा यात्रु सहायक कक्षहरू स्थापना गरी लामो लाइन राखेर अग्रिम टिकट बुकिङ गरिएको छ ।
महासङ्घले यात्रुको सुविधाका लागि काठमाडौँको नयाँ बसपार्क, सुन्धारा, पुरानो बसपार्क, कलङ्की, गौशाला, कोटेश्वर लगायतका स्थानबाट अग्रिम टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेको छ । तर अनलाइनबाट टिकट बिक्रीमा भने महासङ्घले यस पटक खासै चासो देखाएको छैन ।