logo
२०८१ मंसिर ८ शनिवार



गरिमामा बाला लागेन, क्षतिपूर्तिको माग

अर्थ |


गरिमामा बाला लागेन, क्षतिपूर्तिको माग




शालिग्राम नेपाल

चितवन, असोज ७ गते । गरिमा जातको हाइब्रिड धानमा बाला नलागेपछि चितवनका किसानले क्षतिपूर्तिका लागि कृषि ज्ञान केन्द्र भरतपुरमा माग गरेका छन् ।
गत असारमा रोपेको धानमा अहिले बाला लाग्नुपर्ने समय भइसक्दा पनि कुनै विकास नभएपछि किसानले बीउ कम्पनीलाई कारबाही गरी क्षतिपूर्ति भराइदिन उजुरी दिएका हुन् । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले भन्नुभयो, धानमा बाला नलाग्ने घटना पहिलोपटक देख्दै छु, चितवनमा लगाएको गरिमा जातको धानमा बाला लागेको छैन । अब यो धानमा बाला लाग्दैन ।
धानमा बाला नलागेपछि बीउ बिक्री गर्ने कम्पनी र नेपालमा बीउ उपलब्ध गराउने भारतीय कम्पनीका प्रतिनिधिलाई धानबालीको स्थलगत निरीक्षण गराएर किसानको समस्या समाधान गर्न कार्यालयले पहल गरेको छ । ढकालले भन्नुभयो, समस्या आएको छ किसानको पीडालाई सम्बोधन हुनुपर्छ । नियमावलीमा बीउमा समस्या भए कम्पनीले किसानलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था छ । कार्यालयका प्रमुख ढकालका अनुसार नेपाल सरकारले वि.सं. २०७२ मा गरिमा जातको धानलाई रजिस्टर गरेर नेपालमा बिक्री गर्न अनुमति दिएको थियो । त्यही समयदेखि चितवनमा यस जातको धान किसानले लगाउँदै आएका छन् ।
सुक्खा, पानी कम भएको ठाउँमा लगाइने यो जातको धान छिटो पाक्ने हुन्छ । राम्रो उत्पादन दिने भएकाले चितवनका किसानले यो जातको धान मन पराएका हुन् । नेपालमा सनराइज एग्रिकल्चर रिसर्च सेन्टर कम्पनीले बिक्रीवितरण गर्न अनुमति पाएको छ । यही कम्पनीले नेपालमा बिक्री गर्दै आएको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्रमुख ढकालले भन्नुभयो, हामी जिल्लामा लगाएको धानको विस्तृत विवरण लिदै छौँ । अहिलेसम्म प्राप्त सूचनाका आधारमा जिल्लामा एक हजार पाँच सय बिघा क्षेत्रफलमा यो धान खेती भएको छ । सबैभन्दा धेरै पूर्वी चितवनमा यो धान लगाएका छन् ।
बीउ बिक्री गर्ने नेपालको लागि सनराइज एग्रिकल्चर रिसर्च सेन्टरका प्रतिनिधि अनुजकुमार चौधरीले यसअघि यस्तो समस्या नदेखिएको बताउनुभयो । उहाँका अनुसार दाङमा रहेको यो कम्पनीले सबैधन्दा धेरै चितवनमा धानको बीउ बिक्री गर्दै आएको छ । नेपालमा वार्षिक १७ टन बीउ आउने गरेकामा चितवनमा मात्रै १३ टन बिक्री भएको छ । दाङसहित अन्य जिल्लामा यो धानको बीउ थोरै बिक्री हुन्छ ।
भारतको हैदरावादमा गरिमा जातको धान सन् २०१३ बाट बीउ उत्पादन भएको भारतीय कम्पनीका प्रतिनिधि विपिन दुवेले बत(ाउनुभयो । नेपालमा रोपेको धानमा समस्या आएपछि कम्पनीका प्रतिनिधि नेपाल आएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?