logo
२०८१ मंसिर ८ शनिवार



पर्यटक आगमन नौ प्रतिशतले बढ्यो

अर्थ |


पर्यटक आगमन नौ प्रतिशतले बढ्यो


 

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज  १० गते । सन् २०१९ को आठ महिनासम्म करिब साढे सात लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार अगस्ट महिनासम्म स्थलमार्ग र हवाई मार्ग हुँदै कुल सात लाख ४२ हजार छ सय पर्यटक नेपाल आएका हुन् । यो सङ्ख्या अघिल्लो वर्षको आठ महिनासम्म आएका पर्यटकको सङ्ख्याको तुलनामा नौ प्रतिशतले बढी हो । गत वर्षको अगस्टसम्म करिब छ लाख ८१ हजार पर्यटक नेपाल आएको विभागको तथ्याङ्क छ ।
यस बीचमा सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट आएका छन् । भारतबाट मात्रै एक लाख ४२ हजार २८६ पर्यटक आएको तथ्याङ्क छ जुन अघिल्लो अगस्टसम्मको तुलनामा ६.१ प्रतिशतले बढी हो । भारतपछि चीनबाट एक लाख छ हजार ५० जना पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको समीक्षा अवधिको तुलनामा यो ९.८ प्रतिशतको वृद्धि दर हो । भारतसहित सार्क क्षेत्रबाट कुल दुई लाख चार हजार १९२ पर्यटक आएका छन् । यो सङ्ख्या कुल पर्यटकको २७.५० प्रतिशत हो ।
सार्कबाहेकको एसिया क्षेत्रबाट दुई लाख आठ हजार ८५० पर्यटक आएका छन् । पर्यटक सङ्ख्यामा भएको वृद्धि दरको हिसाबले यो क्षेत्र सबैभन्दा अगाडि छ । यस क्षेत्रबाट अघिल्लो वर्षको तुलनामा १३.८ प्रतिशतले पर्यटकको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ । यस क्षेत्रमा चीनबाट आउने पर्यटकको सङ्ख्यासमेत जोडिएको छ ।
युरोपबाट नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्या तुलनात्मक रूपमा कम मात्र वृद्धि भएको छ । अघिल्लो अगस्टमा एक लाख ३२ हजार ११ जना पर्यटक युरोपका विभिन्न देशबाट आएकोमा अहिले जम्मा ३.२ प्रतिशतले बढेर एक लाख ३६ हजार १९८ पर्यटक आएको तथ्याङ्क छ । युरोप क्षेत्रमध्ये सबैभन्दा बढी बेलायतबाट ३६ हजार ९७२ जना पर्यटक आएका छन् । त्यसपछि जर्मनीबाट २० हजार ३६२ पर्यटक आएको विभागले जनाएको छ । कुल पर्यटक सङ्ख्यामा युरोप क्षेत्रको हिस्सा १८.३४ प्रतिशत पुगेको छ ।

आज विश्व पर्यटन दिवस

नेपालसहित विश्वभर आज शुक्रबार पर्यटन दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व पर्यटन सङ्गठनले सन् १९८० देखि मनाउँदै आएको यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाउने तयारी छ । नेपाल पर्यटन बोर्डले दिवसका अवसरमा काठमाडौँमा ¥यालीको आयोजना गर्दैछ । यस्तै पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले देशका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमको आयोजना गरेका छन् । यस वर्षको दिवसको नारा ‘पर्यटन रोजगारी ः सबैका लागि सुन्दर भविष्य’ राखिएको छ । नेपालमा पर्यटन क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा चार लाख ५४ हजारले रोजगारी पाएको विश्व यात्रा तथा पर्यटन परिषद्को पछिल्लो प्रतिवेदनमा उल्लेख छ । भ्रमण वर्ष २०२० को घोषणा गरेर २० लाख पर्यटक भिœयाउने नेपालको तयारीमा रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?