कल्याणपुर समाचारदाता
सप्तरी, असोज १० गते । दशैँ–तिहारजस्तो ठूलो चाड नजिकिँदै गर्दा तरकारीको भाउ छोइनसक्नुभएको छ । हरियो तरकारीको भाउ रातमा दुई गुना, दिनमा चौगुना बढिरहेको राजविराज–६ का प्रियांशु यादवले बताउनुभयो । उहाँले भन्नुभयो, एक सय रुपियाँ लिएर तरकारी किन्न जाँदा एक किलो पनि आउँदैन । चाडबाडको समयमा व्यापारीले आफूखुसी मूल्य वृद्धि गर्दा पनि सम्बन्धित निकाय मौन रहेको उहाँले गुनासो गर्नुभयो ।
बिचौलियाका कारण मूल्य बढ्यो
तरकारीको मूल्य अस्वाभाविक रूपमा बढ्नुमा बिचौलियाको मुख्य हात रहेको उपभोक्ताको भनाइ छ । तरकारी बजारमा बिचौलिया मौलाउँदा सबैभन्दा ठूलो मर्का किसान र उपभोक्तामा परेको छ । बिचौलियाले नै तरकारीको भाउ तोक्ने र व्यापारीलाई बिक्री गर्दा पनि आफैँ मूल्य तोक्ने गरेका छन् ।
किसानसँग सस्तो मूल्यमा तरकारी खरिद गरी बजारका व्यापारीलाई महँगो दरमा बिक्री गर्ने बिचौलियाका कारणले तरकारीको भाउ बढेको केही व्यवसायी बताउँछन् । बिचौलिया ठगीधन्दामा मस्त हुँदा तरकारी उत्पादक किसान र उपभोक्ता भने दैनिक सास्ती भोग्न बाध्य भएका छन् ।
चाडपर्व सुरु हुन लागेपछि व्यवसायीले मनोमानी मूल्य बढाएको उपभोक्ताको आरोप छ । व्यवसायी भने उत्पादन कम भएकाले मूल्य बढेको बताउँछन् । भारतबाट आउने तरकारी घटेकाले पनि मूल्यमा चाप परेको व्यवसायी ऐनुल मियाँको भनाइ छ ।
तरकारी बजारको नियमित अनुगमन नहुँदा मूल्य बढेको हुनसक्ने उपभोक्ताको गुनासो छ । व्यापारीका आफ्नै कुरा छन् मूल्य बढ्नुको खास कारण के हो कसैले खोजी गरेको छैन, तरकारी बजारमा भेटिएका अरविन्द साहले भन्नुभयोे ।
केही व्यापारीले भने चाडबाडको समयमा माग नै बढी हुने भएकाले सामानको भाउ बढ्नु स्वाभाविक भएको बताएका छन् । कल्याणपुरका तरकारी व्यवसायी रामकुमार चौधरीले भन्नुभयो, जुन सामानको माग बढी हुन्छ, त्यसको मूल्य बढ्नु स्वभाविक हो । कल्याणपुरका अरुण यादवले हरेक वर्ष चाडपर्वको समयमा व्यापारीले मूल्य वृद्धि गरेर उपभोक्तालाई मर्कामा पारेको बताउनुभयो । उहाँले भन्नुभयो, बजार अनुगमनको नाममा बजार घुम्ने काम मात्रै भएको छ ।
राजविराजको तरकारी बजारमा सबैजसो तरकारीको मूल्य एक सय रुपियाँभन्दा बढी भएको व्यवसायी बताउँछन् ।