हुम्ला समाचारदाता
सिमकोट, असोज १० गते । उच्च हिमाली क्षेत्रका पाटनमा चराइँदै आएको भेडीगोठ बेँसीतर्फ झार्न थालिएको छ । उच्च क्षेत्रमा चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । चार हजार पाँच सयभन्दा अग्ला पाटनमा भेडा चराउँदै आउनुभएका सिमकोट गाउँपालिका वडा नम्बर १ का भेडापालक कुन्साङ लामाले भेडीगोठ बेँसीतर्फ झार्न सुरु गरेको बताउनुभयो । गत जेठमा लामालगायत गाउँलेले पाँच सयभन्दा बढी भेडा चुवाखोलाका अग्ला पाटनमा लैजानु भएको थियो । लामाले मात्र करिब डेढ सय भेडा चरनका लागि पाटन पु¥याउनुभएको थियो ।
उहाँका अनुसार जब बुकी फूल पहंँलो हुन थाल्छ, विस्तारै चिसो बढ्छ अनि गोठ तलतिर सार्नुपर्छ । यस वर्ष भने निरन्तरको वर्षाका कारण छिटै हिमपात भएर चिसो निक्कै बढेको छ । त्यसैले पनि गत वर्षभन्दा छिटै भेडालाई तल झार्नु परेको हो ।
रानीखर्कमा तीन महिनादेखि भेडापालन गर्दै आउनुभएका खार्पुनाथ गाउँपालिका वडा नम्बर–३, थालीका जयबहादुर रावलले तीन सयको भेडा बथान बेँसी झारेको बताउनुभयो । चिसो अलि चाँडो बढेका कारण यस वर्ष छिटै झार्नु परेको उहाँको भनाइ छ ।
रानीखर्कमा मात्रै दुई हजारभन्दा बढी भेडा रहेको र ती सबै बेँसी झर्न थालेको रावलले बताउनुभयो ।
नाम्खा गाउँपालिकाको वडा नम्बर ५ को ह्याङ्सीका पाटनमा चार महिनादेखि भेडा पाल्दै आउनुभएका सिमकोट गाउँपालिका वडा नम्बर ७ का राम शाहीले पनि भेडा बेँसी झारेको बताउनुभयो । उक्त क्षेत्रमा चार सयभन्दा बढी भेडा रहेको उहाँले बताउनुभयो । पाटन बस्ने क्रममा भेडापालकले छुर्पी बनाउने, ऊन र डोरी बाटेर ल्याउने गर्छन् ।
हुम्लामा २५ हजारभन्दा बढी भेडा भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रले जनाएको छ । हाल उच्च पाटनबाट बेँसी झर्न थालेका ती भेडा दशैँमा बिक्री पनि हुन्छन् ।