logo
२०८१ मंसिर ८ शनिवार



चाडपर्व मुखमा आयो, उखु किसानले पैसा पाएनन्

अर्थ |


चाडपर्व मुखमा आयो, उखु किसानले पैसा पाएनन्



जनार्जन खत्री
असोज १० गते । सर्लाहीको विष्णु गाउँपालिका–२, बाराउद्योरणका अजित सिंहले अन्नपूर्ण चिनी उद्योग धनकौलमा तीन आर्थिक वर्षदेखि उखु बिक्री गरेको पैसा पाउनुभएको छैन् । सिंहले अन्नपूर्णबाट १३ लाख रुपियाँ भुक्तानि लिन बाँकी छ ।
अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ बाट सञ्चालनमा आएको महालक्ष्मी चिनी उद्योग बगदहमा पनि सिंहले सात लाख रुपियाँ बढीको उखु बेच्नु भएको छ तर पैसा पाउनु भएको छैन् ।
उखु बेचेको पैसा नपाउँदा सिंह कसरी चाडपर्व मनाउने भन्ने तनावमा हुनुहुन्छ । व्यवहार त ऋण काडेर टार्दै आएको थिएँ अब दशैं, तिहार र छठ पनि ऋण काडेरै मनाउनुपर्ने अवस्था आएको छ, सिंहले प्रश्न गर्दै भन्नुभयो, ऋण काडेर कसरी खुशीसँग पर्व मनाउनु ? बिक्री गरेको उखुको पैसा नपाउँदा साहुसँगको ऋण दिनानुदिन बढेको सिंहले गुनासो गर्नुभयो ।
अन्नपूर्ण र महालक्ष्मीले उखु बिक्री गरेको लामो समय भइसक्दा समेत भुक्तानि नदिँदा जिल्लाका उखु किसान चाडपर्व कसरी मनाउने भन्ने चिन्तामा छन् । उखुको पैंसा नपाउँदा ऋण काडेर व्यवहार धानिरहेका किसान चाडपर्व कसरी मनाउने भन्ने तनावमा परेका हुन् । उत्तरी भेगको इन्दुशङ्कर चिनी उद्योग हरिवनमा भुक्तानिको लागि खासै समस्या नभए पनि दक्षिणी भेगको अन्नपूर्ण र महालक्ष्मीमा धेरै समस्या रहेको किसानले गुनासो गरेका छन् । किसानले अन्नपूर्ण चिनी उद्योगको बेईमानी बढ्दै गएको भन्दै पछिल्लो समय सो उद्योगमा उखु बेच्नै छाडेका छन् ।
अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन आर्थिक वर्षदेखिको भुक्तानि दिएको छैन् । किसानले आन्दोलन गर्दा पटक–पटक भुक्तानिको मिति दिने उद्योगले सहमति कार्यान्वयन नगर्दा किसान निराश भएका छ् । उखुको पैसा माग गर्दै धेरै पटक उद्योगमै पुगेर धर्ना बस्यौँ तर पैसा हात लागेको छैन्, छटौल गाउँका किसान सोनेलाल रायले भन्नुभयो, आन्दोलन सुरु गर्ने बित्तिकै एक हप्ता, १५ दिनभित्रै भुक्तानि गर्ने सहमति हुन्छ तर कहिल्यै कार्यान्वयन हुँदैन् ।
स्थानीय प्रशासनले चिनी उद्योगबाट किसानलाई भुक्तानि दिलाउन निरन्तर समन्वय गरिरहेको दावी गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बढी समस्या देखिएको अन्नपूर्ण चिनी उद्योगले पछिल्लो समय किसानलाई रकम प्रदान गरेको विवरण पठाइरहेको बताउनुभयो । महालक्ष्मी र इन्दुशङ्करमा खासै समस्या छैन्, मुख्य समस्या धनकौलमै हो, प्रजिअ जिसीले भन्नुभयो, तर पछिल्ला दिनमा अन्नपूर्णले पनि किसानलाई भुक्तानि दिन थालेको छ । उहाँले पछिल्लो पटक अन्नपूर्णले किसानलाई २० करोड बढी भुक्तानि दिएको विवरण पठाएको जानकारी दिनुभयो ।
उखुको भुक्तानि माग गर्दै सर्लाहीका किसानले उद्योग परिसरमा धर्ना बस्ने, सदरमुकाम मलङ्गवामा आएर विरोध प्रदर्शन गर्ने जस्ता विरोधका कार्यक्रम आएका छन् । आन्दोलनपछि दर्जनौँ पटक सहमति भए पनि किसानले उद्योगबाट लिनुपर्ने पैसा भने पाएका छैनन् । सर्लाहीका किसानले सरकारले उपलब्ध गराउनु पर्ने अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ को अनुदान रकम समेत पाएका छैनन् । गत वर्ष उखु किसानलाई सरकारले प्रति क्विन्टल ६५ रुपियाँ २८ पैसा अनुदान उपलब्ध गराउने घोषणा गरेको थियो ।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसान सरकार र चिनी उद्योगी दुवैबाट ठगिएका बताउनुभयो । जनमलको अभाव झेलेर उब्जाएको बालीको मूल्य बेलैमा कायम नहुँदादेखि पीडा सुरु हुन्छ, उत्पादन गरेर जसोतसो उद्योगमा लगेर बेच्यो त्यसपछि भुक्तानिको तनाव, मैनालीले भन्नुभयो । उहाँले सरकारी अनुदान नपाउँदा किसान थप पीडित भएका बताउनुभयो । मन्त्रीदेखि शीर्ष नेताहरुले बारम्बार उखु किसानको समस्या प्रति गम्भीरता देखाए पनि पीडा र समस्या झन्झन् बढ्दो रहेको मैनालीले गुनासो गर्नुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?