logo
२०८१ मंसिर ८ शनिवार



उपभोक्ता ठग्ने व्यापारीका नयाँ काइदा ढक तराजुमुनि चुम्बक र ढुंगा

अर्थ |


उपभोक्ता ठग्ने व्यापारीका नयाँ काइदा ढक तराजुमुनि चुम्बक र ढुंगा
सुर्खेत वीरेन्द्रनगरका व्यापारीले मापदण्ड विपरित प्रयोग गरिएका ढक तराजुहरु प्रशासनले बरामद गर्दै । तस्विरः ललित बसेल


ललित बसेल
सुर्खेत, असोज १२ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका व्यापारीले उपभोक्तालाई नयाँ तरिकाबाट उपभोत्ता ठग्ने गरेको पाइएको छ । सामान किन्दा नापतौल गर्ने सामग्रीमै कैफियत गरेर वर्षौंदेखि ठग्दै आएको अनुगमनका क्रममा पाइएको हो ।
वीरेन्द्रनगरको हटिया क्षेत्रका माछामासु व्यापारीहरुले नापतौलको तराजुमुनि चुम्बक टाँस्ने, तराजुमा प्वाल पारेर कागज राख्ने, सफा नगर्ने, ढकको सट्टा ढुंगा प्रयोग गरी उपभोक्ताहरुलाई ठग्ने गरेका छन् । बजार अनुगमनको क्रममा त्यस्तो पाइएपछि ती सबै तराजुहरु बरामद गरिएको छ । मापदण्ड विपरितका त्यस्ता २२ थान तराजुहरु अनुगमन समितिले बरामद गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले बताउनुभयो ।
तराजुमा राख्ने ढकसमेत अनुगमन समितिले ठूलो मात्रामा बरामद गरेको छ । ५० ग्रामभन्दा पनि कम तौल भएका ६१ थान ढकहरु पनि बरामद गरिएको छ । व्यापारीले कम तौलका ढकहरु प्रयोग गरेर उपभोक्ताहरुलाई विगतदेखि ठग्दै आएको पाएको देखिएको छ । विशेषगरी माछामासु पसलका व्यापारीले ढक तराजु बिगारेर सामान विक्री गरेका छन् ।
यस्तो क्रम वीरेन्द्रनगर बजारसहित जिल्लाका बोटेचौर, मेहेलकुना र छिन्चु बजारमा समेत यस्ता सामग्री प्रयोग भएका छन् । त्यहाँका स्थानबाट पनि ३५ वटा पसल र फुटपाथका करिब ५० वटा पसलबाट कम तौल भएका ढक तराजुहरु भेटिएका छन् ।
अनुगमन गर्ने क्रममा ढक तराजुको कैफियत हुनुका साथै म्याद नाघेका खाद्य बस्तुहरु पनि प्रयोग भएको पाइएकाले विक्री गर्नेहरुलाई कारवाहीको प्रक्रियामा अगाडि बढाइसकिएको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
जिल्ला प्रशासनले दुईजना खाद्य व्यापारी तथा तीनजना पानी उद्योग सञ्चालकलाई कारबाही गरेको छ । साथै, वीरेन्द्रनगरमा २४ वटा पसलको अनुगमन गरेकोमा २० वटा पसलले अनुमतिपत्र नै नलिएर ढक तराजु प्रयोग गरेको पाइएको उहाँले जनाउनुभयो ।
गुणस्तर नापतौल कार्यालयले अवैध नापतौलका सामग्री प्रयोग गरेका व्यापारीलाई तीनदिन भित्र नयाँ तराजु किनेर प्रयोगमा ल्याउन निर्देशन दिएको छ । बाँकी व्यापारीलाई कारवाही गर्ने कार्यालयले जनाएको छ । वीरेन्द्रनगरमा अनुगमन गरिएका २४ वटा पसलमध्ये हालसम्म ६ जना मात्र सम्पर्कमा आएको गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरीक्षक टोपेन्द्र विकले बताउनुभयो ।
बोटेचौरमा १२ वटा पसलको अनुगमन गरेकोमा ११ वटा पसलमा अनुमतिपत्र नलिएर नै ढक तराजु प्रयोग गरेको पाइएको मध्ये हालसम्म आठ जनाले कार्यालयको निर्देशन अनुसार अनुमतिपत्र लिएर नयाँ ढक तराजु लिइसकेका छन् ।
मेहेलकुनामा नौवटा पसल अनुगमनमा नौवटै पसलमा अनुमतिपत्र विना ढक तराजु प्रयोग गर्दै आएको पाइएको छ । अहिले चारजनाले अनुमति पत्र लिइसकेको कार्यालयले जनाएको छ । यस्तै छिन्चुमा १२ वटा पसल अनुगमन गरेकोमा १० वटा पसलमा अनुमतिविना ढक तराजु प्रयोग गरेको पाइएको छ । कार्यालयको निर्देशन अनुसार दुई जनाले अनुमति पत्र लिएर गैसकेको कार्यालयका सहायक निरीक्षक विकले जानकारी दिनुभयो ।
मापदण्ड विपरित सामग्री प्रयोग गरेका व्यापारीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ । सम्पर्कमा नआएकाले चिठी पठाइएको उहाँले बताउनुभयो । सम्पर्कमा नआउनेलाई जरिवानाका साथै कानुनी प्रक्रियाबाट अगाडि बढ्ने उहाँको भनाई छ ।
सुर्खेत उद्योग बाणिज्य संघले आफ्ना व्यापारी तथा व्यवसायीहरुलाई ढक तराजु मापदण्ड अनुसार गराउन पर्याप्त सचेतना पनि दिएको छैन । संघका महासचिव लक्ष्मण कँडेलले सचेतनालगायतका कामहरु गर्न बस्तुगत समितिहरु गठन गरिएको र तिनीहरुलाई निष्क्रिय हुँदा यस्तो अवस्था आएको बताउनुहुन्छ । उहाँले अव बस्तुगत समितिहरुलाई सक्रिय बनाएर अनुगमन गर्ने, सचेतीकरण गर्ने आश्वासन दिनुभयो ।
नापतौलसम्बन्धी कसुरअन्तर्गत नापतौल सामग्री गुणस्तरहीन, मापदण्डविपरित, नापतौल प्रयोजनका लागि अर्को सामग्री प्रयोग गरे त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने व्यबस्था गरेको छ । यस्तो सामग्री बनाएको, चलन चल्तीमा ल्याएको साधन, त्यसलाई बनाउने वा मर्मत गर्ने औजारसमेत जफत हुने व्यवस्था ऐनमा छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?