राजन रावत
सिमकोट, असोज १४ गते । ताक्लाकोटबाट चिनियाँ च्याङ्ग्रा सिमकोट बजारमा आइपुगेका छन् । दशंै सुरु भएसँगै राम्रो खपत हुने भएपछि ताक्लाकोटबाट ती च्याङ्ग्राहरु नेपालमा ल्याइएका हुन् ।
पहिलो खेपमा ९० वटा च्याङ्ग्रा दशैंका लागि सिमकोट आइपुगेको व्यापारी कालु बोहराले जानकारी दिनुभयो ।
ताकलाकोटमै च्याङ्ग्राको मूल्य बढी परेको कारण आकार हेरी पाँच देखि सात केजीका च्याङ्ग्राको मूल्य साँढे पाँच हजार, साँढे सात हजार र दशहजारमा बिक्री सुरु भएको छ ।
ताक्लाकोटबाटै नौभन्दा बढी समूहलै च्याङ्ग्रा ल्याउँदै गरेका छन् । अब आउने च्याङ्ग्रा आकारमा ठूलो हुने भएकाले १२ देखि २० हजार मूल्य पर्ने बताइएको छ ।
त्यसैगरी, चुवाखोला नाकाबाट पनि च्याङ्ग्रा आइपुग्नै लागेको दोजामका स्थानीय श्यामजोर लामाले बताउनुभयो ।
उक्त नाकाबाट आउने च्याङ्ग्रा बलिया, ठूला र मोटा हुने गरेका छन् । मूल्य १७ देखि २० हजार पर्नेछ ।
यस वर्ष एकहजार भन्दा बढी च्याङ्ग्रा भित्रिने अनुमान गरिएको छ । च्याङ्ग्राको मूल्य एककेजीको एकहजार रुपियाँसम्म पर्ने अनुमान गरिएको छ ।