logo
२०८१ मंसिर ८ शनिवार



अब युरो–६ पेट्रोल

अर्थ |


अब युरो–६ पेट्रोल



लक्ष्मण दर्नाल

काठमाडौँ, असोज १६ गते । नेपालमा युरो–६ पेट्रोल बिक्री गरिने भएको छ । भारतमा आगामी अप्रिल (चैत)देखि युरो–६ लागू हुने भएपछि नेपालमा पनि स्वाभाविक रूपमा लागू हुने नेपाल आयल निगमले जनाएको छ । भारतबाट युरो–४ विस्थापित भएपछि नेपालले युरो–४ खरिद गर्न नसक्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ ।
निगमले नेपालमा उच्च गुणस्तरको युरो–६ पेट्रोल आयात गर्न खुला गरिसकेको छ । हालसम्म युरो–४ बिक्री गर्दै आएको निगमले ठूला ग्राहक (बल्क कस्टमर)का लागि युरो–६ पेट्रोल ल्याउन खुला गरेको हो । आगामी चैतदेखि भने सबैका लागि बिक्री गरिने छ ।
सेवाग्रहीले उच्च गुणस्तरको पेट्रोल ल्याउन चाहेमा अबदेखि ल्याउन सक्ने निगमका प्रवक्ता गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार उच्च गुणस्तरको पेट्रोलको माग आउन थालेपछि आयात खुला गरिएको हो । नेपालमा
युरो–६ मापदण्डका गाडी आयात भए पनि पेट्रोल भने युरो–४ कै बिक्री गरिएको छ ।
प्रवक्ता गोइतले भन्नुभयो, निगमले ठूलो परिणाममा खरिद गर्ने ग्राहकलाई खुला गरिदिएको हो तर अहिल्यै पेट्रोल पम्पले युरो–६ पेट्रोल ल्याएर बिक्री गर्न पाइँदैन तर छ महिनापछि भने सबैतिर
युरो–६ नै बिक्री हुने निगमले जनाएको छ । उहाँका अनुसार इन्डियन आयल कर्पोरेसनले आउँदो अप्रिलदेखि युरो–६ भारतमा बिक्री सुरु गर्दै छ । नेपालले भारतबाटै खरिद गर्ने भएकाले नेपालमा पनि युरो–६ नै बिक्री हुने छ तर युरो–६ हालको भन्दा महँगो हुने छ । हालको भन्दा गुणस्तरीय भएकाले पैसा पनि
अन्तर्राष्ट्रिय मूल्यअनुसारकै हुने छ ।
निगमका अनुसार युरो–६ पेट्रोलले गाडीको इफिसियन्सी बढाउनेसँगै वातावरण प्रदूषणसमेत कम हुने छ । पेट्रोलमा सल्फरको मात्रा १० पीपीएम मात्रै हुन्छ । अहिले बिक्री भइरहेको पेट्रोलमा ५० पीपीएम मिसिने प्रवक्ता गोइतको भनाइ छ ।

दशैँमा आपूर्ति सहज हुने
नेपाल आयल निगमले दशैँको बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति नरोकिने जनाएको छ । दशैँमा निगमले तीन दिन बिदा मनाए पनि, बिदाको दिनमा पनि आवश्यक परे बिक्रीवितरण हुने प्रवक्ता गोइतको भनाइ छ ।
दशैँको अवसरमा पेट्रोलियम पदार्थको माग बढेको निगमले जनाएको छ । बजारमा अभाव हुन नदिइने उहाँको भनाइ छ । उहाँका अनुसार पेट्रोलियम पदार्थको भण्डारण पनि पूर्ण क्षमतामै गरिएको छ । ४८ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरिएको गोइतले बताउनुभयो ।
पेट्रोलियम डिलर्स एसोसियसनले पनि दशैँको अवसरमा बिक्रीवितरणमा समस्या नहुने जनाएको छ । पम्प बन्द नहुने र दशैँको दिनमा पनि बिक्री हुने एसोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले जानकारी दिनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?