ध्यान कुलुङ
सङ्खुवासभा, असोज १७ गते । रुद्राक्ष व्यवसायी अर्जुन न्यौपानेलाई यतिबेला दशैँको चाँजोपाँजो भन्दा पनि रुद्राक्ष व्यवस्थापनको चिन्ता छ । लाखौँ रुपियाँ लगानी गरेर ठेक्कामा लिएको रुद्राक्ष टिप्नु र प्रशोधनको काम भ्याइनभ्याई छ ।
उहाँ मात्र होइन यो बेला सबै रुद्राक्ष व्यवसायी दशैँभन्दा पनि रुद्राक्षको चटारोले बढी च्यापेको छ । रुद्राक्ष टिप्ने बेलामा अन्यत्र समय दिए लाखौँको नोक्सानी हुने भएकाले यसलाई नै बढी समय दिनुपरेको व्यवसायी बताउँछन् । रुद्राक्ष टिप्ने, गुम्साउने र धुने काममा बढी समय लाग्ने भएकाले यसमा बढी समय दिनु परेको उनीहरूको भनाइ छ । अहिले रुद्राक्ष सङ्कलन र भण्डारणको समय भएकाले चाडपर्वभन्दा पनि मुख्य पेसालाई नै प्राथमिकता दिनु परेको व्यवसायी न्यौपाने बताउनुहुन्छ । पाकेको रुद्राक्षलाई बेलैमा नटिपे चोरी हुनसक्ने भएकाले तत्काल टिप्नु परेको उहाँले बताउनुभयो ।
बोटबाट टिपिसकेको रुद्राक्षलाई बेलैमा नधोए गुणस्तर खस्कने रुद्राक्ष व्यवसायी सन्तोष कुलुङको भनाइ छ । दाना टिपेको बढीमा पाँच दिनसम्म गुम्साएर पानीमा पखाल्नु पर्ने र ब्रस लगाएर सफा गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । यसरी एक चरणमा टिपिएको रुद्राक्ष पूर्णरूपमा सफा गरेर बेच्न योग्य बनाउन करिब १५ दिन लाग्ने कुलुङले बताउनुभयो । धेरै बोट ठेक्का लिएका व्यवसायीको दैनिकी रुद्राक्ष बगान र भण्डारणमा नै बित्ने गरेको छ । अहिले पर्याप्त समय दिए मात्र राम्रो मुनाफा लिन सकिने व्यवसायीको भनाइ छ ।
व्यवसायीले रुद्राक्ष टिप्न र धुन सिपालु जनशक्ति नभएको बताउने गरेका छन् । बोटमा चढ्न र धुनका लागि त्यससम्बन्धी ज्ञान हुनु पर्ने भएकाले दक्ष जनशक्ति पाउन मुस्किल रहेको रुद्राक्ष व्यवसायी सन्तोष योञ्जनको भनाइ छ । राम्रो गुणस्तरको रुद्राक्ष जो कोहीलाई दिन समेत गाह्रो भएकाले आफूले पर्खेर बस्नुपर्ने योञ्जनको भनाइ छ । कसैले २५–३० दाना मात्र बोकिदिए हजारौँ रुपियाँ नोक्सान हुने योञ्जनको भनाइ छ । व्यवसायीका अनुसार पाँचमुखे रुद्राक्ष प्रतिकिलो तीन हजार रुपियाँदेखि १५ लाख रुपियाँसम्ममा बिक्री हुने गरेको छ ।
सङ्खुवासभामा हाल पचासभन्दा बढी रुद्राक्ष व्यवसायी रहेको रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर बिसुङ्खेले जानकारी दिनुभयो ।