सुरेशकुमार यादव
काठमाडौँ, असोज १९ गते । दूधको मूल्यवृद्धि भएसँगै दुग्धजन्य पदार्थमा जथाभावी मूल्यवृद्धि भएको छ । सरकारले दूधको मूल्यमा प्रतिलिटर छ रुपियाँ वृद्धि गरेपछि दूधको मूल्यमा एकतारूपता देखिएको छैन भने दुग्धजन्य पदार्थमा पनि जथाभावी मूल्यवृद्धि गरेको छ ।
दूधबाट बन्ने दही, घिउ, पनिर, नौनी, चिज, महीलगायतको मूल्यमा जथाभावी वृद्धि भएको छ । डेरीअनुसार, ठाउँअनुसार मूल्य फरक भएका कारण उपभोक्ता मार परेका छन् । डेरी र उद्योगीमा पनि एकरूपता देखिएको छैन । दूधको मूल्यवृद्धि भएपछि कतिपय डेरी तथा उद्योगीले दुग्धजन्य पदार्थमा मूल्यवृद्धि गरेका छन् भने कतिपयले गरेका छैनन् ।
नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी), सीताराम गोकुल मिल्कस् काठमाडौँ प्रा.लि.लगायतका डेरी उद्योगीले दुग्धजन्य पदार्थको मूल्यवृद्धि गरेका छैनन् भने डेरी उद्योग सङ्घमा आबद्ध डेरी तथा उद्योगहरूले दुग्धजन्य पदार्थको मूल्यवृद्धि गरेका छन् । यसले गर्दा उपभोक्ता मारमा परेका छन् । यस्तो किन त भनी जिज्ञासा राख्दा डीडीसीका निमित्त महाप्रबन्धक शैलेन्द्रकुमार घिमिरेले दुग्धजन्य पदार्थको मूल्य ‘ब्यालेन्स’ गर्न डीडीसीले विशेष प्रकारको दूध उत्पादन गर्दै आएको र त्यसको प्रतिलिटर १० रुपियाँ वृद्धि गरेको बताउनुभयो ।
“गाईको दूध, चियाको दूधमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरेका छाँैं । त्यसैबाट अन्य दुग्धजन्य पदार्थमा समायोजन भइरहेको छ”, उहाँले भन्नुभयो, “उपभोक्ताकै लागि हामीले दुग्धजन्य पदार्थको मूल्यवृद्धि गरेका छैनौँ, अलिकति घाटा सहनु परे सहौँला । ” त्यसको मारमा अरू डेरी पनि परेको छ । डीडीसीले दुग्धजन्य पदार्थको मूल्यवृद्धि नगरेका कारण कतिपय प्रतिस्पर्धीले वृद्धि गरेका छैनन् ।
सीताराम गोकुल्स् मिल्कका निर्देशक सुमित केडियाले आफूले डीडीसीका कारण घाटामा दुग्धजन्य पदार्थ बिक्रीवितरण गरिरहेको बताउनुभयो । डीडीसीले दुग्धजन्य पदार्थको मूल्य वृद्धि नगरेका कारण बजारमा प्रतिस्पर्धा गर्न आफूहरूले वृद्धि नगरेको उहाँले बताउनुभयो ।
आफूहरूले मूल्यवृद्धि गर्दा उपभोक्ताले आफूहरूको दुग्धजन्य पदार्थ किन्न छाडेर डीडीसीको खरिद गर्न थाल्छन् कि भन्ने डरले वृद्धि नगरेको तर यो धेरै दिनसम्म धान्न नसकिने उहाँले बताउनुभयो । दूधको मूल्य बढाएसँगै डीडीसीले दुग्धजन्य पदार्थको मूल्य चाँडै बढाउनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “डीडीसीले विशेष दूध भन्दै लिटरमा १० रुपियाँ वृद्धि गरेको छ, त्यसबाट उहाँहरूले ‘म्यानेज’ गर्नुहुन्छ तर हामीले प्रतिलिटर छ रुपियाँ वृद्धि गरेका कारण समस्या भइरहेको छ । ” नेपाल डेरी प्रालिका निर्देशक अरनिको राजभण्डारीले आफ्नो उद्योगबाट उत्पादित प्रत्येक दुग्धजन्य पदार्थको मूल्यवृद्धि गर्नुभएको छ । निर्देशक राजभण्डारीले भन्नुभयो, “दूधको मूल्यवृद्धि भएसँगै हामीले दुग्धजन्य पदार्थको मूल्यवृद्धि गरेका हौँ, घाटाको व्यापार गर्न सकिँदैन । ”
डेरी उद्योग सङ्घले निर्धारण गरेको मूल्यअनुसार एक लिटर स्पेसल बट्टाको दहीमा लिटरको १५ रुपियाँ वृद्धि गरेर १४५ रुपियाँ पु¥याइएको छ । तर सोही बट्टाको दहीको मूल्य आधा लिटरमा ७२ रुपियाँ ५० पैसा हुनुपर्नेमा आधा लिटरमा पनि १५ रुपियाँ नै वृद्धि गरेर ६५ रुपियाँ पर्ने बट्टाको ८० रुपियाँ गरेको छ । आधा लिटरको पाउचको दहीको मूल्यमा १० रुपियाँ वृद्धि गरी ५५ रुपियाँ बनाइएको छ । २०० मिलिलिटर कपको दहीमा पाँच रुपियाँ वृद्धि गरी ४० रुपियाँ बनाइएको छ । पनिर २०० ग्राममा १५ रुपियाँ वृद्धि गरी १६० रुपियाँ गरिएको छ ।
यिनै मूल्यमा एकरूपता देखिएको छैन । डेरी उद्योग सङ्घका अध्यक्ष एवं नेपाल डेरी प्रा.लि.का निर्देशक राजभण्डारीले कुनै पनि दुग्धजन्य पदार्थको मूल्य जथाभावी वृद्धि गरिएको छैन । लगानीअनुसार मूल्यवृद्धि गरिएको बताउनुभयो । उहाँले उद्योगबाट बजारमा पठाउँदा खुद्रा पसलेले कसरी बिक्री गर्छन्, त्यो आफूहरूलाई थाहा नभएको तर डिलर कमिसन राखेर नै मूल्यवृद्धि गरी आफूहरूले खुद्रा व्यापारीलाई दिने गरेको तर उनीहरूले त्यसमा अरू थप गरेर बेच्छन्, त्यो कुरा आफूहरूलाई थाहा नभएको बताउनुभयो ।
डेरी उद्योगीहरूले बजारमा पठाएको दुग्धजन्य पदार्थको मूल्य उनीहरूले निर्धारण गरेर पठाए पनि खुद्रा पसलमा जथाभावी मूल्य लिएको पाइएको छ । एक लिटर दहीको १५ देखि २० रुपियाँसम्म बढी लिने गरिएको छ भने पनिरमा प्रतिकेजी ५० रुपियाँदेखि एक सय रुपियाँसम्म बढी लिने गरिएको छ । खड्का डेरीले ९५ रुपियाँ प्रतिलिटर दूध बेचिरहेको छ । सादा दहीको मात्र उसले लिटरको १२० रुपियाँ लिइरहेको छ भने स्पेसल बट्टा दहीको प्रतिलिटर १५० रुपियाँ लिएको छ । यसरी डेरीअनुसार बजारमा दुग्धजन्य पदार्थको मूल्य फरक फरक छ ।
बजारमा मूल्यको एकरूपता देखिएको छैन । खड्का डेरीका सञ्चालक हरि खड्काले भन्नुभयो, “नेपाल डेरी एसोसिएसनले तय गरेको मूल्यअनुसार मूल्यवृद्धि गरेका हौँ । ” डीडीसीभन्दा महँगोमा किसानबाट किनेका कारण आफूहरूको दूध तथा दुग्धजन्य पदार्थ महँगो भएको दाबी उहाँले गर्नुभयो । गल्लीगल्लीमा देखिएका साना डेरीवालाहरूले उपभोक्ताबाट जथाभावी मूल्य लिएर दूध तथा दुग्धजन्य पदार्थ बेचिरहेका छन् । डीडीसीका निमित्त महाप्रबन्धक घिमिरेले दूधको मूल्यवृद्धि भएअनुसार दहीमा १० रुपियाँ बढी वृद्धि गर्न नहुने बताउनुभयो ।
दूधको मूल्यवृद्धि भएको नाममा जथाभावी मूल्यवृद्धि भएकोलाई सरकारले नियन्त्रण गर्नुपर्ने उपभोक्ताको भनाइ छ । डीडीसीले दूधबाहेक कुनै पनि दुग्धजन्य पदार्थको मूल्यवृद्धि गरेको छैन तर कुनै पसलले मूल्यवृद्धि भएको भनी बेच्छन् भने त्यस्तालाई सरकारले कारबाही गर्नुपर्ने बताउनुभयो ।
डेरीका प्रबन्धकसँग जिज्ञासा राख्दा उहाँले दूधमा प्रतिलिटर १० रुपियाँ वृद्धि भएको छ भने आफँै विचार गर्नुस्, दही र पनिरको मूल्य कति हुन्छ भनी जवाफ दिनुभयो । दूधको मूल्य त छ रुपियाँ वृद्धि भएको हो नि भन्दा उहाँले त्यो प्याकेटवाला दूधको मात्र भएको छ, खुला दूधको प्रतिलिटर १० रुपियाँ वृद्धि भएको र सोहीअनुसार आफूहरूले बिक्रीवितरण गर्दै आएको उहाँले जवाफ दिनुभयो । नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राधाकृष्ण सापकोटाले आफूहरूले जथाभावी मूल्यवृद्धि गरेको छैन, जसको जति लगानी हुन्छ, त्योअनुसार मूल्यवृद्धि भएको बताउनुभयो ।