सिन्धुली समाचारदाता
रतनचुरा (सिन्धुली), असोज २४ गते । गोलान्जोर गाउँपालिका–५, रतनचुराका कृषक विदुर मङ्ग्राती आफ्नो बारीमा फलेको गोलभेँडा देखेर दङ्ग पर्नुभएको छ ।
तीन वर्षअघिसम्म कोदो फल्ने बारीमा अहिले गोलभेँडा लटरम्म फलेकाले उहाँ दङ्ग पर्नुभएको हो । तरकारी खानका लागि गाउँमै माग्ने र बेलाबेलामा किनेर खाने गर्नुभएका उहाँ यतिखेर तरकारी साहु बन्नुभएको छ । बर्सेनि तरकारीबाट उहाँले डेढ लाखभन्दा माथि आम्दानी लिन थालेपछि गाउँमै ऋण रकम दिएर साहुमा दरिनुभएको छ ।
आफ्नै चार कट्ठा जग्गामा गरेको गोलभेँडा खेतीबाट उहाँको जीवन बदलिएको छ । गत वर्ष तीनवटा प्लास्टिक घरमा गरेको गोलभेँडाबाट लिएको आम्दानीले हौसिएर मङ्ग्रातीले यस वर्ष एउटा थपेर चारवटा पु¥याउनुभएको छ । ‘सबै खर्च कटाएर डेढ लाख आम्दानी भयो ‘कृषक मङ्ग्रातीले भन्नुभयो, ‘गोलभेँडासँगै लगाएको खुर्सानी, काँक्रा लहरेबोडीलगायतका अन्य तरकारीबाट समेत गरी दुई लाख रुपियाँभन्दा बढी नै आम्दानी हुने उहाँको अपेक्षा छ ।
चार मुरी कोदो फल्ने बारीमा गरेको तरकारी खेतीबाट उहाँले लिएको आम्दानी गाउँभरि नै चर्चाको विषय बन्ने गरेको छ । ‘बाउबाजेको पालादेखि नै तरकारी लगाउने चलन थिएन । मैले तालिम लिएर सुरु गरेको, मज्जाले आम्दानी भयो,’ उहाँले सुनाउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘१० जनाको परिवार पाल्न बनिबुतो नगरी हुँदैनथ्यो, अहिले तरकारी साहु भन्न थालेका छन् । समाजले हाम्रो दलित परिवारलाई आम्दानी हुन थालेपछि हेर्ने दृष्टिकोण परिवर्तन भएको छ ।’ चार मुरी कोदो बिक्री गर्दा पनि पाँच हजार रुपियाँभन्दा बढी लिन नसकिने उहाँको भनाइ थियो ।
गोलभेँडाको एक बोटबाट १५ किलोसम्म उत्पादन हुने गरेको छ । कृषक मङ्ग्रातीको चारवटा प्लास्टिक घरमा छ हजार बोट गोलभेँडा रहेका छन् । सिड्स नेपालको प्राविधिक सहयोगमा तरकारी खेती थाल्नुभएका उहाँ अझै बिस्तार गर्ने सोचमा हुनुहुन्छ । चारवटा प्लास्टिक घरमा गोलभेँडा रोप्नका लागि आफ्नो श्रमबाहेक ३० हजार रुपियाँ खर्च भएको उहाँले जनाउनुभयो । प्रतिकेजी ५० रुपियाँसम्म बोटमै बिक्री हुने गरेको छ । तरकारीबाट हौसिएका उहाँले छोरालाई सदरमुकामको फोस्रेटारमा कृषि प्राविधिक पढाउन प्रोत्साहित गरिरहनुभएको छ ।
‘छोरालाई कता पढाउने भन्ने चिन्ता थियो,’ उहाँले भन्नुभयो, ‘तरकारीमा पैसैपैसा रहेछ, त्यही भएर कृषि प्राविधिक पढाएको हुँ ।’ तरकारी उत्पादन भएपछि बजारको कुनै समस्या नरहेको मङ्ग्रातीले बताउनुभयो । ‘बीपी राजमार्ग करेसाबाट नै गएकाले बजारमा लैजाने पिरलो छैन्, व्यापारी घरमै आइपुग्छन्’ उहाँले थप्नुभयो ।
‘गतवर्षबाट गाउँमा अप्ठेरो परेकालाई थोरै ऋण दिन सुरु गरेको छु,’ उहाँले भन्नुभयो, ‘पहिला साहुकोमा ऋण खोज्न जाँदा नानाभाँती सुन्नुपथ्र्यो, अहिले आफै साहु भएर ऋण लगाउने गरेको छु ।
कृषक मङ्ग्रातीले तरकारी खेतीबाट लिएको आम्दानी देखेर त्यस भेगका अन्य कृषकले समेत बेमौसमी तथा सिजनअनुसारको खेती गर्न थालेका छन् । रतचनुरामा यस वर्ष ७५ वटा प्लास्टिक घरमा झण्डै दुई दर्जन कृषकले गोलभेँडा खेती गरेका छन् ।
बेमौसमी तरकारी खेतीबाट कृषकहरूले बढी आम्दानी लिनसक्ने भएकाले त्यसमा प्रोत्साहन गरेको सिड्स नेपालका कोषाध्यक्ष गोपाल पौडेलले बताउनुभयो ।