हुम्ला समाचारदाता
सिमकोट, असोज २४ गते । अग्ला पाटनमा पालिँदै आएका चौँरी गाई बेँसीतर्फ झार्न सुरु गरिएको छ । असोजको मध्यदेखि नै चिसो बढ्न थालेपछि चौँरी गाई तल झार्न सुरु गरिएको हो ।
सात बथानभन्दा बढी चौँरी गाई हिमालपारिको नाम्खा गाउँपालिकाको लिमीको लाप्चा लेकबाट झार्न सुरु गरिएको स्थानीय छिरिङ्वा तामाङले बताउनुभयो । एक बथानमा साठीभन्दा बढी चौँरी रहेका छन् ।
विगतको तुलनामा यस वर्ष अलि अघि नै चिसो बढेपछि चौँरी झार्न थालिएको उहाँले बताउनुभयो । एउटा बथान चौँरी गाईमा चार जनाभन्दा बढी गोठाला लाग्ने गर्दछन् । पाटनबाट झार्न सुरु गरिएका चौँरी अब लिमी उपत्यकाको तलुङमा सारिने उहाँले बताउनुभयो । लिमी कर्णालीको किनारामा रहेको तलुङमा दुई सयभन्दा बढी चौरी गाईलाई राखिने छ । लाप्चा लेकमा तीन महिनासम्म चौरी गाईपालन गर्दा त्यहाँ उत्पादन भएको छुर्पी, नौनी, घ्यू र चीज भने लिमी गाउँमा पठाएको गोठाला पेम्बा तामाङले बताउनुभयो ।
चौँरी गाई तलुङमा कात्तिक महिनासम्म राखिने छ । ठूलो हुलमा चाँैरी आएपछि हिजोआज तलुङमा निक्कै रमाइलो हुने गरेको उहाँ बताउनुभयो । चौँरी गाईका साथ दुई दर्जन बाच्छाबाच्छी नाचेको दृश्य पनि उत्तिकै रमाइलो लाग्ने गरेको स्थानीयले बताउने गरेका छन् । चौँरी स्रोत केन्द्र पनि तलुङमै स्थापना भएका कारण झनै लोभ लाग्दा बथान देखिने गरेका छन् ।