दीपक ज्ञवाली
बुटवल, असोज २७ गते । यस पटकको दशैँमा प्रदेश ५ का प्रायःजसो स्थानीय तहका कर्मचारीले बैङ्कमार्फत तलब बुझे । सर्वसाधारणले पनि बैङ्कमार्फत नै रकम निकाल्ने र राख्ने गरे । यसअघि हुन्डी र व्यक्तिका भरमा रहेको रेमिट्यान्ससमेत बैङ्कमार्फत नै भित्रियो ।
यसको कारण हो, प्रदेशका सबै स्थानीय तहमा बैङ्कको पहुँच । प्रदेश ५ का १०९ वटै स्थानीय तहमा वाणिज्य बैङ्क स्थापना भएपछि कर्मचारी र सर्वसाधारणदेखि स्थानीय तहसम्मले सुविधा पाएका हुन् । यसअघि सबै स्थानीय तहमा बैङ्कको पहुँच नहुँदा केही स्थानीय तहले आफ्नो खाता सञ्चालन गर्न पाएका थिएनन् । कतिपय टाढा टाढाका बैङ्कमार्फत खाता र कोष सञ्चालन गर्न बाध्य थिए ।
सबै स्थानीय तहमा बैङ्कका शाखा पुगेपछि यो प्रदेशले बैङ्कको पहुँचमा देशभरका सबै प्रदेशलाई उछिनेको छ । प्रदेशका अधिकांश जिल्ला र स्थानीय तह कार्य क्षेत्र रहेको नेपाल राष्ट्र बैङ्क, सिद्धार्थनगरका सूचना अधिकारी रमेश न्यौपाने भन्नुहुन्छ, बैङ्किङ पहुँचका हिसाबले यो प्रदेश अन्य प्रदेशभन्दा अगाडि भयो । सबै स्थानीय तहमा बैङ्कको कारोबार सुरु भइसक्यो ।
नेपाल राष्ट्र बैङ्कले गत साउनअघि सबै तहमा शाखा पु¥याउने प्रबन्ध मिलाए पनि दशैँ अगाडिदेखि सबै तहका शाखा पूर्ण रूपमा कार्यान्वयनमा आएका हुन् ।
यसअघि प्रदेशका १०९ वटा स्थानीय तहमध्ये १०७ वटामा बैङ्कका शाखा सञ्चालनमा थिए । पछिल्लो पटक रोल्पाको सुनछहारी र अर्घाखा“चीको मालारानी गाउ“पालिकामा समेत बैङ्क पुगेपछि यो प्रदेश सबैभन्दा अगाडि रहेको हो । नेपाल नगरपालिका सङ्घ प्रदेश ५ का अध्यक्ष शिवराज सुवेदीका भनाइमा हरेक तहमा बैङ्क पुगेपछि अब प्रदेशका सबै स्थानीय तह आफ्नै ठाउँको बैङ्कमार्फत खाता खोल्न र खाता सञ्चालन गर्न सक्षम भएका छन् ।
प्रदेश ५ का सबै तहमा बैङ्क पुगे पनि अहिलेसम्म अन्य कुनै प्रदेशका सबै तहमा पहुँच पुग्न बाँकी छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार देशभरका ७५३ स्थानीय तहमध्ये १६ स्थानीय तहमा बैङ्क पुग्न अझै बाँकी छ । अहिलेसम्म ७३७ तहमा बैङ्कका शाखा पुगिसकेका छन् । सबै तहमा बैङ्क पु¥याउने सरकारको रणनीति अनुसार नेपाल राष्ट्र बैङ्कले २०७५ असारसम्म त्यस्तो लक्ष्य पूरा गर्न निर्देशन दिएको थियो तर २०७६ असार मसान्तसम्म देशका अधिकांश स्थानीय तहमा पहुँच पुग्न सकेको हो । बैङ्कको पहुँचको रणनीतिमा राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई प्राथमिकता दिएको छ ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार प्रदेश १ का १३७ मध्ये १३६, प्रदेश २ का १३६ मध्ये १३४, प्रदेश ३ का ११९ मध्ये ११७ र गण्डकी प्रदेशका ८५ मध्ये ८४ स्थानीय तहमा बैङ्कका शाखा खुलेका छन् ।
त्यस्तै प्रदेश ५ का १०९ मध्ये १०९ नै, कर्णाली प्रदेशका ७९ मध्ये ७५ र सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८२ स्थानीय तहमा बैङ्कका शाखा खुलिसकेका छन् । नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका उपनिर्देशक प्रकाश राईका भनाइमा सबै तहमा बैङ्क पुगेपछि प्रदेशका सबै क्षेत्रमा सकारात्मक परिवर्तन देखा पर्न थालेका छन् ।
सबै तहमा बैङ्क पुगे पनि रुपन्देही, पश्चिम नवलपरासी, बा“के, दाङ लगायतका जिल्लामा बैङ्कप्रतिको आकर्षण बढी छ । बढ्दो औद्योगिक लगानी, पूर्वाधार विकास, जनघनत्व जस्ता कारण यी जिल्लामा अधिकांश बैङ्कले बढी शाखा सञ्चालनमा ल्याएका छन् ।
नेपाल राष्ट्र बैङ्क, सिद्धार्थनगरका सूचना अधिकारी न्यौपानेका अनुसार अहिलेसम्म राष्ट्र बैङ्कले प्रादेशिक संरचना नबनाए पनि रुपन्देहीको सिद्धार्थनगर र बाँकेको नेपालगञ्ज कार्यालयले प्रदेशभर सेवा दिइरहेका छन् । प्रदेशका १२ जिल्लामध्ये सिद्धार्थनगर कार्यालयले रुपन्देही, पाल्पा, गुल्मी, पश्चिम नवलपरासी, अर्घाखाँची, कपिलवस्तु, प्युठान, रोल्पा र पूर्वी रुकुमलाई कार्यक्षेत्र बनाएको छ । नेपालगञ्ज कार्यालयले प्रदेशका बाँकी जिल्लालाई सेवा दिइरहेको छ ।