गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २८ गते । मङ्गलबारदेखि राजधानीमा सुरु हुने गैरआवासीय नेपाली सङ्घको नवौँ विश्व सम्मेलनको तयारी पूरा भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै सङ्घले सम्मेलनका लागि विदेशबाट सदस्यको दर्ताको काम पनि पूरा भएको जनाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने सम्मेलनमा ८० देशका करिब एक हजार पाँच सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने महासचिव बद्री केसीले जानकारी दिनुभयो ।
‘म मेरो एनआरएन र मेरो नेपाल’ नारासहित आयोजना हुने सम्मेलन बिहीबारसम्म सञ्चालन हुनेछ । सम्मेलनको पहिलो दिन औपचारिक उद्घाटनसहित विभिन्न दुईवटा सत्रमा छलफल कार्यक्रम छ । दोस्रो दिन सङ्घको विधानमाथि छलफल तथा संशोधनपछि निर्वाचनको कार्यक्रम रहनेछ । सङ्घको यो सम्मेलनले नयाँ नेतृत्वसहित विभिन्न १२ वटा पदमा ४२ सदस्यीय कार्यसमितिसमेत चयन गर्ने छ । महासचिव केसीका अनुसार यस पटकको निर्वाचन विद्युतीय प्रणालीबाट हुनेछ र पाँच घण्टासम्म जारी रहनेछ । बुधबार नै उक्त निर्वाचनको नतिजा सार्वजनिक गर्ने सङ्घको तयारी छ ।
सम्मेलनको तेस्रो दिन विभिन्न पाँँचवटा सत्रमा छलफल हुनेछ । त्यसपछि निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको औपचारिक समापन गर्ने कार्यक्रम छ । सम्मेलनको आयोजकका रूपमा नेपाल सरकारसहित नेपाल उद्योग वाणिज्य महासङ्घ पनि रहेको छ ।
सङ्घको नयाँ नेतृत्वका लागि हालसम्म कुल आचार्य र कुमार पन्तले अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्य बेलायत र पन्त जर्मनी निवासी हुनुहुन्छ । निर्वाचनका लागि दुवै जना आफ्नो प्यानल निर्माणमा सक्रिय हुनुहुन्छ ।