logo
२०८१ मंसिर ८ शनिवार



कोसी कोरिडोर प्रसारण लाइन पहिलो खण्डको ७५ प्रतिशत निर्माण पूरा

अर्थ |


कोसी कोरिडोर प्रसारण लाइन पहिलो खण्डको ७५ प्रतिशत निर्माण पूरा


 

महेन्द्र विष्ट

विराटनगर, असोज ३० गते । कोसी कोरिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्डको ७५ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।
पहिलो खण्डअन्तर्गत ३२० वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म २६० वटाको फाउन्डेसन निर्माण भई १५० वटा टावर निर्माण भइसकेका छन् भने बाँकी टावर निर्माण गर्न आवश्यक जग्गा अधिकरणको कार्य पनि सम्पन्न भइसकेको कोसी कोरिडोर २२० के भी प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढकालले बताउनुभयो । उहाँका अनुसार यतिबेला बनेका टावरमा धमाधम तार टाङ्ने काम भइरहको छ ।
कोसी कोरिडोरको पहिलो खण्डमा इनरुवा–वसन्तपुर–टुम्लिङ्टार रहेको छ भने दोस्रो खण्डमा टुुम्लिङ्टार–ढुङ्गेसाँघु (ताप्लेजुङ) पर्दछ ।
पहिलो खण्डअन्तर्गतको निर्माण कार्य यसअघि नै सक्ने लक्ष्य भए पनि विभिन्न स्थानमा स्थानीयको अवरोधका कारण निर्माण कार्यमा ढिला भएको हो । पहिलो खण्डअन्तर्गतको इनरुवा–टुम्लिङ्टार प्रसारण लाइन निर्माणमा धरानस्थित विष्णुपादुकामा स्थानीयबाट लामो समयसम्म अवरोध भएको थियो । स्थानीयसँगको लामो छलफलपछि अहिले विरोध केही मत्थर भएकाले काम सुरु गरिएको आयोजना प्रमुख ढकालले बताउनुभयो । बीचमा प्रसारण लाइन निर्माण कार्यमा कुनै अवरोध नआए कोसी कोरिडोरअन्तर्गतको पहिलो खण्डको निर्माण कार्य एक वर्षभित्र सम्पन्न हुनेछ । दोस्रो खण्डअन्तर्गतको निर्माण कार्य पूरा गर्न दुई वर्षको समयावधि लाग्ने छ ।
अहिलेसम्ममा पहिलो खण्डअन्तर्गतको प्रसारण लाइनमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको छ भने दोस्रो खण्डअन्तर्गतको प्रसारण लाइनमा ४५ प्रतिशत मात्र काम भएको आयोजनाका प्रमुख ढकालले बताउनुभयो ।
परियोजनाको दोस्रो खण्डअन्तर्गत १२५ वटा टावर निर्माण गर्नुपर्नेछ । अहिलेसम्म १६ वटा टावरको फाउन्डेसन निर्माण गर्ने काम भइसकेको र अन्य टावर निर्माणका लागि जग खन्ने काम जारिरहेको छ । यो प्रसाण लाइन तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको वन क्षेत्र हुँदै लैजानुपर्ने भएकाले सम्बन्धित डिभिजन वन कार्यालयहरूले वन क्षेत्रका रुख काट्न सहमति प्राप्त भइसकेकाले मन्त्रालयको सहमति आउन साथ प्रसारण लाइन क्षेत्रका रुख काट्न सुरु गरिने जनाइएको छ ।
परियोजनाको पहिलो खण्ड कुल रु. चार अर्ब र दोस्रो खण्ड रु. दुई अर्ब लगानीको परियोजना हो । यो प्रसारण लाइनको निर्माणसँगै अपर अरुण तथा अरुण र तमोरका सहायक नदीबाट उ्रत्पादन हुने दुई हजार मेघावाटसम्मको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न सकिने छ । जसले गर्दा ती नदीमा रहेका जलविद्युत् आयोजनामा लगानीलाई आकर्षित गर्नेछ ।
पूर्व क्षेत्रकै काबेली कोरिडोरको १३२ के भी प्रसारण लाइन भने गत साउनमै निर्माण सम्पन्न भई प्रसारण सुरु भइसकेको । काबेली कोरिडोरको निर्माण कार्य पूरा गर्न १० वर्ष लागेको थियो । काबेली कोरिडोरको सञ्चालनसँगै त्यस क्षेत्रका काबेली, हेवा र पुवा खोलामा निर्माण सम्पन्न विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सोझै राष्ट्रिय प्रसारण लाइनको ग्रिडमा जोडिन थालेका छन् । आगामी दिनमा तमोर जलाशय क्षेत्रबाट उत्पादित विद्युत् पनि काबेली कोरिडोरमार्फत नै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
यीबाहेक यसै प्रदेशको विद्युत् आपूर्तिलाई मध्यनजर गरेर दुहबी–कटारी ३३ के भी प्रसारण लाइन, दुहबी–दमक एक सय ३२ केभी प्रसारण लाइन, दुहबी–कटहरी ३३ केभी प्रसारण लाइनको निर्माण कार्य भइरहेको छ । दुबही–कटहरीको ३३ केभी प्रसारणलाई यसअघि नै निर्माण भई सञ्चालनमा आउनुपर्नेमा मोरङको ग्रामथानस्थित गिदनीयमा स्थानीयको अवरोधका कारण दुई किलोमिटर क्षेत्रमा तार टाग्ने काम रोकिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?