लुम्बिनी समाचारदाता
बुटवल, असोज ३० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले विकास र समृद्धिको अभिभारा पुरा गर्न नीजि क्षेत्रको साथ आवश्यक भएको बताउनुभएको छ ।
रुपन्देही उद्योग संघको ४१ औं वार्षिक साधारण सभा तथा २१ औं अधिवेशनको बिहीबार बुटवलमा उद्घाटन गर्दैै महासचिव पौडेलले सरकार नीजि क्षेत्रसँगै रहेको बताउनुभयो ।
उहाँले नीजि क्षेत्रको साथ विना त्यस्तो सम्भव नभएको धारणा राख्दै मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सरकारले सबै क्षेत्रलाई साथमा लिएर अघि बढेको बताउनुभयो ।
ढुक्क भएर लगानी गरि रोजगारी अभिबृद्धि गर्न नीजि क्षेत्रलाई आग्रह गर्दै उहाँले भन्नुभयो ‘हामी देशैभरीका उद्योगी व्यबसायीका समस्यालाई सुन्न चाहन्छौं । उद्योगी व्यवसायीका समस्या समाधान गरेरै अंगाडि बढ्छौं । तपाईंहरु यहि बाटोबाट अगाडि बढ्नोस ।’
रुपन्देहीलाई व्यबस्थित औद्योगिक क्षेत्र भएको जिल्लाको रुपमा अगाडी बढाउन खोजिएको बताउँदै उहाँले सरकारले घोषणा गरे अनुसार मोतिपुर औद्योगिक क्षेत्रलाई आधुनिक र व्यबस्थित बनाईने आश्वासन दिनुभयो ।
अर्को एक प्रसंगमा उहाँले कालगण्डकी–तिनाउ डाईभर्सन गर्ने परियोजनाबाट आफूहरु पछाडि नहट्ने अडान दोहो¥याउनुभयो ।
प्रदेश ५ का भौतिक पूर्वाधार तथा यातायातमन्त्री बैजनाथ चौधरीले आर्थिक समृद्धिका लागि सबैको सहकार्य जरुरी भएको बताउनुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मौरले नागरिक अधिकार प्राप्त भए पनि अधिकार कार्यान्वयनका लागि आर्थिक समृद्धि आवश्यक रहेको बताउनुभयो ।
रुपन्देही संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको औद्योगिक विकासका लागि नीजि क्षेत्रबाट प्रयास भएको र सरकारले पनि त्यसै किसिमको वातावरण बनाउनुपर्ने बताउनुभयो ।