अमरराज नहर्की
तनहुँ, असोज ३० गते । तनहुँको दमौलीमा विहिबार ठुलो सङ्ख्यामा दुग्ध उत्पादक कृषकहरु भेला भएका छन् । केन्द्रीय दुग्ध सहकारी सस्था लिमिटेडको २६ औं साधरण सभामा भाग लिन उनिहरु भेला भएका हुन् । भेलामा व्यावसायिक रुपमा दुग्ध उत्पादन क्षेत्रमा आबद्ध ६३ जिल्लाका कृषकहरु सहभागी छन् ।
विगतका दिनहरुमा उत्पादन लागतका आधारमा कच्चा दुधको मूल्य वृद्धिको लागि लड्दै आएकोमा अवको सङ्घर्ष उत्पादन लागत न्यूनिकरणका साथै मूल्य श्रङ्खलाद्धारा दुग्ध उत्पादक किसानको जीवन स्तर उकास्नको लागि सहकारी खेती, सहकारी दाना उद्योग हुनु पर्ने सहभागीले आवाज उठाएका छन् ।
यसैगरी सहकारी पशुपालन, स्रोत केन्द्रको व्यवस्थापन, सहकारी दूग्ध चिस्यान केन्द्र तथा प्रशोधन, सहकारी पशु स्वास्थ्य केन्द्र तथा सहकारी जीवन शैली हुनुपर्नेमा किसानका अगुवाहरुले अधिवेशनमा जोड दिएका छिन् ।
सहभागी सातसय कृषकहरुबाट छलफल गरी दुग्ध उत्पादक किसानको हक, हित एवं व्यवसाय प्रवद्र्धन गर्न शुक्रबार घोषणापत्र जारी गरिने केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले जनाएको छ । कार्यक्रमको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले उद्घाटन गर्नुभयो । उक्त अवसरमा मन्त्री खनालले सरकारले किसानलाई पेन्सनको व्यवस्था गर्ने बताउनुभएको छ ।
किसानलाई सम्मानित पेशा बनाउन तथा कृषि पेशा प्रति युवाहरुको आर्कषण बढाउन पेन्सनको व्यवस्था गरिने बताउनुभयो ।
पेन्सनको लागि सरकारले किसानको वर्गिकरण गर्ने कार्य अघि बढाई सकेको जानकारी दिँदै मन्त्री खनालले ४ देखि ५ वर्ष भित्र वर्गिकरणको काम पुरा हुने बताउनुभयो ।