logo
२०८१ मंसिर ८ शनिवार



रैथाने धानको माग बढ्दै किसानको आकर्षण घट्दै

अर्थ |


रैथाने धानको माग बढ्दै किसानको आकर्षण घट्दै



तुलसीपुर समाचारदाता

तुलसीपुर, कात्तिक १ गते । दाङ जिल्लामा उत्पादन हुने रैथाने जातका धान उत्पादनमा किसानको आकर्षण घट्दो क्रममा रहेको छ तर बजारमा यसको माग भने बढिरहेको छ ।
जिल्लामा तिल्की जातको रैथाने धान बाली लगाउने किसानको सङ्ख्या निकै घटेसँगै यसको उत्पादनमा पनि कमी आएको छ । स्थानीय किसान चित्रबहादुर खड्काका अनुसार पछिल्लो समयमा उच्च घरानिया र कर्मचारीका परिवारले तिल्की धानको चामलको माग गरे पनि उत्पादन भने हुन सकेको छैन ।
तिल्की चामलको बजार भाउ अन्य चामलको भन्दा दोब्बर बढी रहेको छ । अन्य चामलको मूल्य चार हजार ५०० रुपियाँ प्रतिक्विन्टल रहेको छ भने तिल्की चामलको मूल्य प्रतिक्विन्टल १२ हजार रुपियाँ रहेको खाद्यान्न व्यवसायीसमेत रहनुभएका खड्काले जानकारी दिनुभयो ।
रैथाने जातका धान बाली उत्पादनभन्दा बीउ बैङ्कका रूपमा संरक्षणका लागि मात्रै कृषि ज्ञान केन्द्रले कार्यक्रम अघि बढाएको छ । कृषि ज्ञान केन्द्र दाङका सूचना सहायक अधिकारी फिर्तुलाल चौधरीका अनुसार रैथाने जातका बाली संरक्षणका लागि घोराही उपमहानगरपालिका–२ मा रहेको जैविक विविधता सहकारी संस्थालाई जिम्मेवारी दिइएको छ ।
संस्थाले रैथाने जातका तिल्की, अनदी र सिम्ठारो धान ब्लक बनाएर उत्पादन गर्न थालेको अध्यक्ष राममणि पाण्डेले जानकारी दिनुभयो । सहकारी संस्थाले दाङ जिल्लाका रैथाने ३२ प्रजातिका बाली संरक्षण गरिरहेको अध्यक्ष पाण्डेले बताउनुभयो । हाल सहकारी संस्थाले तिल्की, सिम्ठारो र अनदी धानको उत्पादनमा किसानलाई आकर्षित गराउन घोराही उपमहानगरपालिकाको वडा नम्बर २ र ९ को ढिकपुरका किसानलाई सहयोग
गर्दै आएको छ ।
तुलसीपुर उपमहानगरपालिका–१९ का किसान जनार्दन शर्माले जैंविक विधिबाट खेती गर्दा तिल्की धान उत्पादनमा कमी आएको बताउनुभयो । दुई बिघा जग्गामा तिल्की धानको खेती गर्नुभएका शर्माले यो वर्षबाट रासायनिक मल प्रयोग गरेर तिल्की धानको खेती गरेकाले उत्पादन वृद्वि हुने बताउनुभयो । कृषि ज्ञान केन्द्र दाङले रैथाने जातका धान बाली लगाउने किसानलाई जैविक विविधता सहकारीमार्फत प्रविधि, मल, बीउ सहयोग गर्दै आएको केन्द्रका सूचना सहायक अधिकारी चौधरीले जानकारी दिनुभयो ।
अनदी धानको थारू समुदायमा विशेष महŒव रहेको थारू समुदायका अगुवा छविलाल चौधरीले बताउनुभयो । माघी, अट्वारी पर्वमा अनदी धानको चामल र पिठोका विशेष परिकार देवतालाई चढाउनुपर्ने मान्यताले थारू समुदायमा अनदी धान रोप्ने चलन रहेको छ । अनदी धानको खेती व्यावसायिक रूपमा नभई जीविकोपार्जनका लागि रोप्दै आएको तुलसीपुर उपमहानगरपालिका– १९ पकर्रेका किसान कृष्ण चौधरीले बताउनुभयो । सिम्ठारो धानको समेत आयुर्वेदिक
औषधीय गुण भएकाले यसको खेती विस्तार गर्नुपर्ने कविराज नारायण पौडेलले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?