logo
२०८१ मंसिर ८ शनिवार



दुई वडाबाट दुई करोडको सयपत्री बिक्री गर्ने तयारी

अर्थ |


दुई वडाबाट दुई करोडको सयपत्री बिक्री गर्ने तयारी



नगेन्द्र सापकोटा

भक्तपुर,कात्तिक १ गते । पुराना रैथाने मानिने मौलिक सयपत्री फूल भक्तपुरमा अहिले लोप हुने स्थितिमा पुगेको छ । करिब पाँच वर्ष अगाडिसम्म भक्तपुरमा व्यावसायिक रूपमा नै खेती हुने पुराना रैथाने जातको सयपत्री अहिले कमै मात्र देख्न पाइन्छ । हाइब्रिड फूलको खेती बढेसँगै यसको अस्तिìव सङ्कटमा परेको हो ।
राष्ट्रिय कृषक महासङ्घ भक्तपुरका अध्यक्ष टेकबहादुर लाखाजुले हाइब्रिड जातको सयपत्री फूलका बेर्ना भित्रिन थालेपछि रैथाने हराउन थालेको बताउनुभयो । अहिले पुराना सयपत्री बेर्ना पाउनै गाह्रो हुने र पाए पनि बोटमै डढुवा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, रैथाने सयपत्री नष्ट हुन थालेको छ । यसको संरक्षण सम्बन्धित स्थानीय तहले गर्नुपर्छ । तर स्थानीय सूर्यविनायक नगरपालिकाले भने पुराना रैथाने जातका सयपत्री र गोदावरी फूलको संरक्षण गर्ने काम भइरहेको दाबी गरेको छ ।

दुई करोडको बिक्री गर्ने लक्ष्य
सूर्यविनायक नगरपालिका–७, गुण्डु र वडा नं. ४ दधिकोटबाट यो वर्ष करिब दुई करोड रुपियाँको सयपत्री फूल बिक्री गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाले किसानलाई फूल खेतीतर्फ आकर्षित गर्न गत असारमा चार लाख रुपियाँको ६० हजार सयपत्री फूलको बेर्ना वितरण गरेको थियो । ६८० जना किसानलाई वितरण गरिएका बेर्नाबाट एक किसानले कम्तीमा ४० देखि ५० हजार रुपियाँको फूल बिक्री गर्ने अनुमान नगरपालिकाको छ ।
नगरपालिका कृषि शाखा प्रमुख रामचन्द्र सापकोटाले किसानलाई फूल खेतीतर्फ आकर्षित गर्न चार लाख रुपियाँको बेर्ना उत्पादन गरी वितरण गरेको जानकारी दिनुभयो । सापकोटाले साना किसान सहकारीमार्फत सयपत्री फूलका बेर्ना नगरपालिकाले वितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो– “बेमौसमी सयपत्री फूलको बेर्नाबाट करिब दुई करोडको फूल बिक्री गर्ने अपेक्षा गरिएको छ ।”
उहाँका अनुसार किसानले साउनदेखि कात्तिकसम्म नै नियमित रूपमा बेमौसमी सयपत्री फूल उत्पादन गरी बिक्री गर्ने गर्छन् । फूलमा रोग कीरा लाग्नबाट रोक्नका लागि नगरपालिकाले निःशुल्क रूपमा प्राविधिक सहयोग गरिरहेको नगरपालिकाका प्रमुख वासुदेव थापाले बताउनुभयो ।

बस्ती फूलले ढकमक्क
यतिबेला भक्तुपरका ग्रामीण बस्ती फूलैफूलले ढाकिएका छन् । टाढैबाट हेर्दा बस्ती नै फूलले झिलिमिली बनेका छन् । बारी, खेतमा फुलेका सयपत्री, मखमली र गोदावरी फूलले सबैलाई मोहित पार्ने गरेको छ ।
सुरुमा सूर्यविनायक नगरपालिकाको गुण्डु र दधिकोटमा मात्र व्यावसायिक फूल खेती गर्ने गरिए पनि अहिले भने फूल खेतीबाट राम्रो आम्दानी हुन थालेपछि सूर्यविनायकको कटुञ्जे, सिरुटार, सिपाडोल, नङ्खेल र चित्तापोलमा त्यस्तै चाँगुनारायण नगरपालिकाको नगरकोट, दुवाकोट, चाँगु, ताथली बागेश्वरी र छालिङमा समेत व्यावसायिक फूल खेती गर्न थालिएको छ । राष्ट्रिय कृषक महासङ्घ भक्तपुरका अनुसार भक्तपुरमा सबै गरी करिब एक सय हेक्टर जमिनमा व्यावसायिक फूल खेती गरिएको अनुमान गरेको छ ।
सूर्यविनायक नगरपालिका–७, गुण्डुकी अनिता बस्नेत कान्ला र खेतका आलीमा फुलेका फूलमा सेल्फी खिच्न आन्तरिक र बाह्य पर्यटक आउने गरेको बताउनुहुन्छ । बस्नेत भन्नुहुन्छ, “बस्ती फूलले झिलिमिली हुँदा फूलबारीमा सेल्फी खिच्नको भीड लाग्ने गरेको छ ।”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?