मकवानपुर समाचारदाता
हेटौँडा, कात्तिक ५ गते । मकवानपुरमा उत्पादित अकबरे खुर्सानीले बजारसँगै उचित मूल्य पाएपछि स्थानीय किसान उत्साहित बनेका छन् ।
जिल्लाको थाहा नगरपालिकासहित उत्तरी मकवानपुरका विभिन्न गाउँमा उत्पादित अकबरे खुर्सानी काठमाडौँलगायतका मुख्य सहरमा निकासी भइरहेको छ ।
स्थानीय किसानले उत्पादन गरेको अकबरे खुर्सानी पाकेको रातो प्रतिकेजी १९० रुपियाँमा र हरियो प्रतिकेजी ७० रुपियाँसम्ममा बिक्री भएको थाहा नगरपालिका वडा नम्बर ६ स्थित बज्रबाराहीका कृषक मुक्तिनाथ उप्रेतीले जानकारी दिनुभयो । गत एक दशकदेखि अकबरे खुर्सानीको खेती गर्दै आउनुभएका कृषक उप्रेतीको परिवार नै कृषि कर्म लाग्नुभएको छ ।
मञ्जिल नमुना कृषि फार्मका सञ्चालक उप्रेतीले अकबरे खुर्सानीसँगै भँेडे खुर्सानी, भेण्टा, पिरो खुर्सानी, सागलगायतका तरकारी खेतीबाट आम्दानी लिने गर्नुभएको छ ।
भेँडे खुर्सानी ११ हजार बोट र भेण्टा पाँच हजार बोट लगाउनुभएका कृषक उप्रेतीले ६० हजार रुपियाँ खर्च गरेर यसबाट यो वर्ष दुई लाख ५० हजार रुपियाँ आम्दानी गर्न सफल हुनुभयो । अकबरे खुर्सानीको बीउ आफै बनाउँछौँ, उप्रेतीले भन्नुभयो । यो वर्ष अकबरे खुर्सानी खेतीबाटमात्र १० लाख रुपियाँ आम्दानी हुने अपेक्षा छ । उहाँले भन्नुभयो, “धान र मकै खेती गर्दा खान पुग्दैन, अकबरे खुर्सानीलाई बढी झरी पर्दा झर्ने र कुहिने समस्या हुन्छ तर मिहिनेतअनुसार राम्रै आम्दानी लिन सकिन्छ ।”
१२ रोपनी जग्गामा अकबरे खुर्सानी खेती गर्नुभएका उप्रेतीले छ रोपनी जग्गा भाडामा लिएर गत वैशाखदेखि असारको पहिलो सातासम्ममा २० हजार बेर्ना लगाउनुभएको थियो । आगामी मङ्सिरको पहिलो सातासम्म उत्पादन हुने अकबरे खुर्सानीले बजार र राम्रो मूल्य पाएकोमा उप्रेतीसँगै अन्य कृषक खुसी छन् । अकबरे खुर्सानीको चीनमा माग रहेकाले बजारको समस्या छैन, अचारमा प्रयोग हुने र जाडोमा शरीरको तापक्रम बढाउन उपर्युक्त हुने भन्दै उपभोग बढेसँगै माग बढेको हो, कृषक उप्रेतीले बताउनुभयो, बज्रबाराही क्षेत्रमा बढी चिसो हुने भएकाले मङ्सिरको पहिलो सातापछि बोटलाई कालो तुषारोले क्षति पु¥याउने र जङ्गल छेउमा गरिएको खेतीलाई मृगले नोक्सानी पु¥याउने गरेको छ ।
नगदे बालीको रूपमा रहेको अकबरे खुर्सानीको खेती गर्दै आएका कृषकहरू बिचौलियाको मारमा पर्दै आएका छन् । बजारमा प्रतिकेजी पाकेको अबकरे खोर्सानी ४५० रुपियाँसम्ममा किनेर खानु पर्दा कृषकको हातमा प्रतिकेजी १९०
रुपियाँमात्र पर्ने गरेको छ ।