सुरेन्द्र खत्री
रुकुम (पश्चिम), कात्तिक ६ गते । जिल्लाको मुसिकोट नगरपालिका –१० का कृषकहरुलाई अनुदानमा लसुनको बीउ वितरण गरिएको छ । वडाको आर्थिक वर्ष २०७६÷०७७ को मसला बाली प्रवद्र्धन कार्यक्रम अन्तर्गतको बजेटबाट लसुनको बीउ खरिद गरी कृषकहरुलाई वितरण गरिएको हो ।
सहकारी नमुना गाउँको रुपमा विकास हुँदै गरेको यस वडामा राम्रो लसुन उत्पादन हुने भएकोले यसलाई प्राथमिकता दिइएको वडा कार्यालयले जनाएको छ ।
यस गाउँमा लसुन बाली बिस्तार गर्ने गरी दुईहजार दुईसय किलो लसुनको बीउ वितरण गरिएको वडासदस्य धनबहादुर खड्काले जानकारी दिनुभयो ।
७५ प्रतिशत अनुदानमा ५८ घर परिवार किसानलाई बीउ वितरण गरिएको उहाँले बताउनुभयो । यस कार्यक्रममा अनुदान स्वरुप पाँचलाख ९४ हजार रुपियाँ लगानी भएको छ । यसमध्ये वडाले २ लाख लगानी गरेको र बाँकी दुईलाख ४५ हजार रुपियाँ सहकारी कृषि नमूना गाउँ कार्यक्रमबाट लगानी गरिएको वडा सदस्य खड्काको भनाइ छ ।
किसानको तर्फबाट जम्मा भएको २५ प्रतिशत रकमको एकलाख ४८ हजार पाँचसय रुपियाँ समेत यसमा लगानी भएको बताइएको छ । यस वडामा यसअघि कागतीका विरुवा समेत वितरण गरिएको थियो । आफ्नो वडालाई लसुन र कागतीको पकेट क्षेत्र बनाउने योजना रहेको वडाध्यक्ष गोप्यश्वर केसीले बताउनुभयो ।