तारा चापागाँई दुवे
कास्की, कात्तिक ७ गते । नेपालीहरूको दोस्रो महान चाड तिहारका लागि यस वर्ष पोखरामा ८० प्रतिशत स्थानीय फूलले धान्ने दाबी गरिएको छ ।
विगतका वर्षमा तिहारका लागि थुपै्र फूलहरू भारतबाट भित्रिने गरे पनि यसपटक भने स्थानीय फूल व्यवसायीले आफ्नो उत्पादन बढेको भन्दै भारतबाट आयात भएका फूलको प्रयोग कम हुने बताएका छन् । फ्लोरिकल्चर एसोसियसनका कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार दुवाले सहरीकरणको विकाससँगै पुष्प व्यवसायको पनि विकास भएकाले यस वर्ष फूलको आयात कम हुने दाबी गर्नुभयो ।
उहाँले पोखरामा उत्पादन भएका स्थानीय फूलहरू नै प्रयोग गर्न पनि पोखरावासीलाई आग्रह गर्नुभयो । दुवाले भन्नुभयो, पोखराका स्थानीय फूल व्यवसायीले तिहारलाई लक्षित गर्दै एक करोडभन्दा बढी विभिन्न जातका फूलको बेर्ना लगाएको छन् । यसबाट राम्रै उत्पादन भएको छ । हामी फूलमा बिस्तारै आत्मनिर्भर बन्दै छौँ ।
पोखरा क्षेत्रमा करिब दुई करोड रुपियाँभन्दा बढीको फूलको माग हुने फ्लोरिकल्चर एसोसिएसन (फयान) कास्कीका उपाध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, यो वर्ष ४५ हजारको तिहारे फूलको बेर्ना मात्रै बेचेको हुँ । मेरो पनि उत्पादन राम्रै भइरहेको छ । अरू व्यवसायीले पनि यो पटक राम्रै तरिकाले फूलको उत्पादन गरिरहेका छन् । पोखरा ड्याम साइडमा विगत १२ वर्षदेखि पुष्प व्यवसाय गर्दैं आउनुभएका गुरुङले केही वर्षअगाडि भारतबाट आयात हुने सस्तो फूलका कारण स्थानीय उत्पादनले मूल्य नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, बिस्तारै स्थानीय फूलप्रति यहाँका उपभोक्ताको आकर्षण बढ्दै छ । भारतबाट आयात हुने फूल सस्तो हुने गरेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, पोखराको रैथाने फूल हेर्दै ठूला र कति राम्रा हुन्छन्, लागत पनि बढी पर्छ । भारतबाट आयात भएका सस्ता फूलसँग हामीले प्रतिस्पर्धा गर्न सक्दैनौँ ।
फ्लोरिकल्चर एसोसियसनका कास्कीका अध्यक्ष सीतामाया रानाका अनुसार विगतका वर्षजस्तो यस पटक पोखरामा भारतबाट आयात हुने फूलको माग कम हुने देखिएको छ । उहाँले भन्नुभयो, हरेक व्यक्तिले सानो सानो बारीमा पनि फूल लगाउने बानी बसेकोले पनि स्थानीय फूलप्रतिको मोह बढ्दै गएको छ ।