logo
२०८१ मंसिर ९ आईतवार



सन्तोषजनक छैन तिहारको व्यापार !

अर्थ |


सन्तोषजनक छैन तिहारको व्यापार !


वसन्त पराजुली

नारायणगढ, कात्तिक ८ गते । देशकै मुख्य व्यापारिक केन्द्र नारायणगढमा तिहारको व्यापार त्यति सन्तोषजनक नहुने देखिएको छ । बढ्दो महँगी, विश्वव्यापी आर्थिक मन्दीलगायतका कारणले तिहारको व्यापार सन्तोषजनक नहुने भन्दै व्यवसायीले चिन्ता गरेका छन् ।

सुनचाँदी सुस्त
तिहारमा सबैभन्दा बढी व्यापार सुन र चाँदीको हुने गर्दछ तर यस वर्ष मूल्यवृद्धिका कारण यस व्यापारमा ह्रास आएको छ । सुनचाँदी व्यवसायी सङ्घ चितवनका पूर्वअध्यक्ष विपिन रामुदामु सुनको मूल्यवृद्धिसँगै तिहारको कारोबारमा गिरावट आउने बताउनुहुन्छ ।
गत वर्ष तिहारकै बेला सुनको मूल्य प्रतितोला ६० हजार रुपियाँ थियो । अहिले बढेर ७० हजारभन्दा बढी छ, उहाँले भन्नुभयो, बिस्तारै विश्वमै आर्थिक मन्दी हुन थालेका बेला क्रेताको क्रयशक्ति नै नभएपछि कसरी सुन खरिद गर्लान् र ? चाँदीका हकमा पनि अघिल्लो वर्ष ७४५ रुपियाँ प्रतितोला किनबेच भएकोमा यो वर्ष ८८० रुपियाँ पुगेको छ ।
सुनचाँदी कारोबारमा अघिल्लो वर्षभन्दा यो वर्ष ५० प्रतिशतभन्दा बढी नै ह्रास आउने उहाँको अनुमान छ । एक किलोमा ८५ तोला ७३ लाल सुनचाँदी हुनेहुँदा यो वर्ष चितवनमा अनुमान गरिए बराबर कारोबार भए सुनमा १२ करोड १५ लाख रुपियाँ र चाँदीमा ३७ लाख ७२ हजार रुपियाँ बराबरको कारोबार हुने देखिन्छ ।
गत तिहारमा चितवनमा ३० किलो सुन र एक क्विन्टल चाँदीको कारोबार भएको सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । त्यसबापत १५ करोड ४३ लाखको सुन र ६४ लाख २९ हजार रुपियाँको चाँदीको कारोबार भएको थियो ।
काग तिहारका दिनमा पर्ने धनवन्तरी जयन्ती (धनतरेस) र लक्ष्मीपूजाका दिन बढी सुनचाँदीको कारोबार हुने गर्दछ ।
सवारी कारोबार पनि कम हुने
तिहारमा बढी कारोवार हुने सवारीसाधन पनि हुन् । लक्ष्मी पूजा र धनतरेसका दिन नयाँ सवारीसाधन खरिद गर्ने प्रचलन बढ्दो छ तर बढ्दो आर्थिक मन्दी र घरजग्गामा आएको गिरावटले गर्दा तिहारमा सोचे जति सवारीसाधन पनि खरिद बिक्री हुने अवस्था देखिँदैन । अघिल्ला वर्षहरूमा तिहारका बेलामा जिल्लामा साना ठूला गरी एक सयभन्दा बढी सवारीसाधन खरिद बिक्री भए पनि यो वर्ष त्यो पुग्नै गाह्रो हुने बताइन्छ । उवा सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम सवारीसाधनको कारोबारमा पनि अघिल्ला वर्षको तुलनामा गिरावट आउने अवस्था आएको बताउनुहुन्छ । झन्डै १९ लाख रुपियाँदेखि डेढ करोड रुपियाँसम्मका गाडीको कारोबार हुने गर्दछ ।
खाद्यको पनि कारोबार घट्यो
यस्तै खाद्यान्नका वस्तुमा घिउ, तेल, चिनी, मैदा, आँटा, चामल, मरमसलालगायतका वस्तु मात्रै तिहारको बेला नारायणगढमा १५ करोड रुपियाँ बराबरको कारोबार हुने अनुमान छ । साल्ट ट्रेडिङ लिमिटेड नारायणगढका प्रमुख बुद्धिविनोद दाहाल अघिल्ला वर्षको तुलनामा यो वर्ष घिउ, तेल, चिनीको कारोबार पनि घटेको बताउनुहुन्छ ।
साल्ट ट्रेडिङले जिल्लाभित्र र बाहिर घुम्ती शिविर चलाएर पनि घिउ, तेल, चिनी, पिठो, चामलजस्ता वस्तु बिक्री गरिरहेको छ । किराना तथा खाद्यान्न व्यवसायी सङ्घ चितवनका संस्थापक अध्यक्ष उमाशङ्कर अग्रवाल पनि तिहारको व्यापारमा सन्तोष गर्ने ठाउँ नभएको बताउनुहुन्छ ।
सामान्यतः नारायणगढमा दैनिक डेढ करोडका हाराहारीमा खाद्यवस्तुको कारोबार हुन्छ तर तिहारको पाँच दिनमा मात्रै दिनको तीन करोड रुपियाँको हाराहारीमा कारोबार हुन्छ भन्ने लागेको छ, अग्रवालले भन्नुभयो ।

फूलको व्यापार सन्तोषजनक
तिहारमा आवश्यक पर्ने अर्को वस्तु सयपत्री र मखमली फूल हो । यो वर्ष चितवनमा फूलको माला भने मागअनुसार पूरा हुने बताइन्छ । किसान आफैँले उत्पादन गरेका कारण पनि फूलमा नेपालीले राहत महसुस गर्दैछन् । चितवनमा यस वर्ष ६० हजार सयपत्री र २५ हजार मखमलीको माला उत्पादन भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाका अध्यक्ष प्रकाश पन्त भन्नुहुन्छ, यो वर्ष तिहारमा सयपत्री र मखमली माला आयत गर्नुपर्ने अवस्था छैन ।
तिहारमा फेन्सी तथा शृङ्गारमा चार करोड, कपडामा एक करोड ५० लाख, बिजुलीको झालरमा दुई करोड, फूल तथा सजावटका वस्तुमा दुई करोड र मिठाईमा २५ लाख रुपियाँको करोबार हुने अनुमान सम्बन्धित व्यवसायीको छ । ओखर, नरिवल, सुपारीलगायतका भाइमसला र टीकाका सामग्री पनि तिहारमा राम्रो व्यापार हुने वस्तु हुन् ।
बढ्दो महँगीका कारण सर्वसाधरणको क्रयशक्तिमा ह्रास आएकाले पनि तिहारका व्यापारमा ह्रास आउने अवस्था आएको हो । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान भने व्यापार कम हुनुमा चाडपर्वमा खर्च गर्ने बानीकै कम भएको तर्क गर्नुहुन्छ । पहिलेको तुलनामा अहिले चाडपर्वका बेला फजुल खर्च गर्ने बानीमै सुधार आएकाले पनि व्यापारमा कमी भएको हो । बढ्दो महँगी नियन्त्रण गर्नसक्ने हो भने पनि व्यापार केही बढाउन सकिने छ, अध्यक्ष प्रधानले भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?