logo
२०८१ मंसिर ९ आईतवार



२० लाख भन्दा बढी रकम सहित दुई जना पक्राउ

अर्थ |
प्रदेश |


२० लाख भन्दा बढी रकम सहित दुई जना पक्राउ


महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक ९ गते । प्रहरीले महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई ठाउँबाट श्रोत नखुलेको २० लाख रुपैयाभन्दा बढी रुपियाँसहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले चेकजाँचको क्रममा बढी रकम बोकेको र सो रकमको श्रोत नखुलाइएको भन्दै दुईजनालाई आवश्यक अनुसन्धानको लागि पक्राउ गरिएको जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मटिहानी नगरपालिका–६ का २४ वर्षीय जिवन कुमार पुर्वे र जनकपुर उपमहानगरपालिका ८ का २६ वर्षीय बिजय महासेठ रहेका छन् ।
प्रहरी उपरिक्षक अधिकारीले जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले भिठामोडस्थित नेपाल भारत सिमानाकाबाट गइरहेको महासेठलाई खानतलासी गर्दा ५ लाख ७५ हजार ५ सय भारतीय रुपियाँ बरामद गरेको जानकारी दिनुभयो । त्यसैगरी मटिहानी नगरपालिका २ आवर गाँउ स्थित सडकमा मटिहानीबाट जनकपुर गईरहेका पुर्वेको शरीर खानतलासी गर्दा उनको झोलाबाट.११ लाख नेपाली रुपैया वरामद गरेको हो ।
प्रहरीले नयाँ आर्थिक नियम बमोजिम दुबैजनालाई नियन्त्रणमा लिएको जनाएको छ । नयाँ आर्थिक नियम अनुसार नेपाली रूपैयाँ ५ हजारभन्दा बढी सँगै लिएर हिडन नपाइने तथा नेपालमा सयभन्दा बढी दरका भारतीय नोट प्रतिबन्ध गरिएकोले सो पनि बोक्न नमिल्ने जनाइएको छ । नयाँ आर्थिक नियम अनुसार तोकिएभन्दा बढी नगद बोकेर हिंडिरहेको बेलामा भन्सार परिसर या ५ किलोमिटर भित्र कोही व्यक्ति पक्राउ पर्यो भने निजलाई नगदसहित भन्सार बुझाउनु पर्दछ र सो मुद्दा भन्सारले नै हेर्छ ।

प्रहरी उपरिक्षक अधिकारीले रकमको श्रोत नखुलाइएकोले दुवैलाई हुण्डी तथा भारतीय रुपैया सटही कारोबारको आरोपमा शंका गरी पक्राउ गरिएको र उनीहरुलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भईरहेको जानकारी दिनुभयो ।
तोकिएको क्षेत्र बाहिर पक्राउ गरिएको भए त्यस्तो मुद्दा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हेर्ने गर्छ । भारतबाट कमाएर आउनेहरुलाई रुपियाँ बोकेर आउन समस्या भोग्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?