बाँके, कात्तिक १३ गते । जिल्लामा फौजी कीराको प्रकोपका कारण एक तिहाइभन्दा बढी उत्पादन घट्ने भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार कूल धान उत्पादनको ३२ प्रतिशत घट्ने भएको हो ।
जिल्लाको धानखेती हुने ३६ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये ३२ प्रतिशत अर्थात् १७ हजार हेक्टरमा धान फौजी कीराले नष्ट गरेको छ । फौजी कीराले प्रभावित क्षेत्रमा ५० देखि शतप्रतिशतसम्म धान नष्ट गरेको छ । ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार फौजी कीराको प्रकोप सबैभन्दा बढी नेपालगञ्ज, डुडुवा, बैैजनाथ र राप्तीसोनारीमा देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१९ सुँइयालगायतका ठाउँमा शतप्रतिशत धानबाली फौजी कीराले नष्ट गरेको छ । डुडुवाको बन्जारे गाउँ, राप्ती सोनारीको फत्तेपुरलगायतका क्षेत्रमा पनि फौजी कीराले धेरै धान नोक्सान गरेको छ ।
जिल्लामा कूल दुई लाख २५ हजार ८३६ हेक्टर क्षेत्रफलमध्ये २५ प्रतिशत अर्थात् ५७ हजार २५२ हेक्टरमा खेती हुन्छ । छत्तीस हजार ५०० हेक्टरमा धानखेती हुँदै आएको छ । यस वर्ष बीउ राख्ने र रोप्ने बेलामा पर्याप्त पानी परेकाले धान उत्पादन बढ्ने आँकलन गरिएको बेला फौजी कीराको प्रकोप देखिएको छ । फौजी कीराको प्रकोप बर्दियामा पनि देखिएको छ । प्रदेशसभा सदस्य कृष्णा केसीले फौजी कीराको प्रकोपबारे प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद महेश्वर गहतराजले सङ्घीय सरकारका कृषिमन्त्रीलाई भेटेर पीडित किसानलाई राहत उपलब्ध गराउन माग गर्नुभएको छ ।
“विषादी छरेर फौजी कीराको प्रकोप नियन्त्रण तथा पीडित किसानलाई राहत दिनेबारे योजना बनाउँदै छौँ”, ज्ञान केन्द्र प्रमुख ढकालले भन्नुभयो, “राहतका लागि हामीले सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ ।”