logo
२०८१ मंसिर ९ आईतवार



गरिखान नपाएको गुनासो

अर्थ |


गरिखान नपाएको गुनासो


तारा चापागाई दुवे

कास्की, कात्तिक १५ गते । बाध्यताले विद्युतीय रिक्सा चलाउन थाल्नुभएकी पर्वत घर भई हाल पोखरा–२ बस्ने नन्दकुमारी शर्मालाई भारतीय नाकाबन्दीमा पेट्रोल अभावले उहाँलाई विद्युतीय रिक्सा चलाउन बाध्य बनायो तर उहाँले यतिबेला गरिखान नपाएको गुनासो गर्नुभएको छ ।
पोखरा महानगरपालिकाले विद्युतीय रिक्सा चलाउन बन्देज लगाएपछि आफूहरूले गरिखान नपाएको उहाँको भनाइ छ । औद्योगिक वाणिज्य प्रतिष्ठानले दिएको व्यावसायिक तालिमले व्यवसाय गर्न प्रेरित गरेपछि विद्युतीय रिक्सामार्फत तरकारी र फलफूल बेच्दै आएको शर्माको भनाइ छ ।
यसबाटै राम्रै आम्दानी गरेको र अहिले महानगरले बन्द गराउँदा आफ्नो गुजारा चल्न गाह्रो भएको उहाँको भनाइ छ । नन्दकुमारीले नाकाबन्दीका बेला चितवन गएर दुई लाख ५० हजारमा रिक्सा खरिद गर्नुभएको हो । उहाँले भन्नुभयो, निकै समय र दुःख गरेर ल्याएको हो, कर तिरेपछि केही फरक पर्दैन भन्ने सुझाव पाएपछि फलफूल तरकारी दर्ता गरेर नै व्यवसाय गरेकी थिएँ, हाल आएर गरिखान पाइनँ ।
महानगरपालिकाले विद्युतीय रिक्सामार्फत बाटोमा सामान बेच्न रोक लगाएपछि समस्या परेको उहाँको भनाइ छ । उहाँका अनुसार पहिले टयाक्सी व्यवसायीले विरोध गरेका थिए तर हाम्रो व्यवसायले उनीहरूलाई केही असर नगरेपछि विरोध गरेनन् । जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारीले पनि बाटोमा अवरोध नगर्नू, व्यवसाय गरेर खानू भनेकामा अहिले निर्वाध रूपमा व्यवसाय गर्न नपाएको शर्माले गुनासो गर्नुभयो ।
पोखरामा अहिले ४२ वटा विद्युतीय रिक्सा छन् जसमा एक मात्र महिला चालक नन्दकुमारी हुनुहुन्छ । विद्युतीय रिक्साले कुनै असर र दुर्घटना नहुँदा पनि चल्न नदिएको उहाँको गुनासो छ ।
अर्का चालक शेरबहादुर तामाङको गुनासो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ, चलाउन पाइँदैन भन्छन् कसैलाई केही असर गरेजस्तो लाग्दैन, भित्री बाटोमा स्याउ बेच्दै गर्दा भेटिनुभएका तामाङ पनि महानगरले गरिखान नदिएको गुनासो गर्नुहुन्छ ।

सस्तोमा बेचेको आरोप
पोखरा सस्तो बजार र श्रीकम्प्लेक्सका व्यवसायीले सस्तो समान बेचेको आरोपमा आफूहरूलाई हटाउने पहल गरेको नन्दकुमारीको आरोप छ । उहाँ भन्नुहुन्छ, उहाँहरूले यसले मूल्य बिगारी, रोक्नुपर्छ भनेको मेरै कानले सुनेँ । त्यसपछि हामीलाई महानगरका प्रहरीले खेद्न सुरु गरे ।
एउटै पसलबाट ल्याएको सामान आफूले २० रुपियाँ मात्रै नाफा खाएर बेच्ने गरेको तर त्यही समान पसलेले दोब्बर नाफा खाने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, मैले सस्तोमा दिन्थेँ । अर्डर गरेको ठाउँमा पु¥याउथेँ, कसैलाई केही असर गरेको थिइनँ तर सस्तोमा बेचेर भाउ बिगारेको आरोप लगाएर विद्युतीय रिक्सा सञ्चालनमा बन्देज लगाउन खोजियो ।
विद्युतीय रिक्साको सबैभन्दा विरोधी महानगर प्रमुख भएको उहाँको आरोप छ । महानगर प्रमुख मानबहादुर जिसीलाई धेरै बिन्ती गर्दा पनि हुँदैन भन्ने जवाफ आएको उहाँले दाबी गर्नुभयो । नन्दकुमारीका श्रीमान प्रहरी नायब निरीक्षकको जागिर गर्नुहुन्छ, परिवार पाल्न छोराछोरी पढाउन गाह्रो छ । दिनमा एक हजारदेखि दुई हजार रुपियाँ कमाउँदा सहजै गुजार चलेको भन्दै अहिले व्यवसाय गर्न नपाउँदा समस्या भएको गुनासो शर्माको छ । सहरका मुख्य बाटोमा चलाउन नदिए पनि भित्री सडकहरूमा चलाउन पाए पनि परिवार पाल्न सहज हुने उहाँको भनाइ छ ।

सहर कुरूप भयो : महानगर प्रमुख

महानगरपालिकाका प्रमुख जिसीले विद्युतीय रिक्साका कारण सहर कुरूप भएको बताउनुभयो । उहाँले विद्युतीय रिक्सा महानगरमा दर्ता नभएको र महानगर दर्ता गर्नुपर्छ भन्नेमा पनि नरहेको बताउनुभयो ।
त्यसै त टा«िफक जामले सहर अव्यवस्थित हुँदै गएको छ, अझै विद्युतीय रिक्सा चलाउन दियो भने के होला प्रमुख जिसीले प्रतिप्रश्न गर्नुभयो । पर्यटकीय सहरलाई सुन्दर सफा र व्यवस्थित बनाउन साइकल र विद्युतीय रिक्सामा व्यापार गर्न दिन नहुने जिसीको भनाइ छ । गरिखान पाइन्छ तर विद्युतीय रिक्साबाहेक अरू गरिखाने माध्यम थुप्रै छन्, उहाँको भनाइ छ ।
पोखरा पर्यटकीय सहर भएको र यहाँ हुने टा«फिक जामका कारण विद्युतीय रिक्सा चलाउन बन्देज लगाएको जिल्ला ट्राफिक प्रमुख मुराहरि मिश्रको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?