विश्वास रेग्मी
काठमाडौँ, कात्तिक १६ गते । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लगातारको सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यातको आकार बढ्दो छ । आयात तुलनात्मक रूपमा घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ । यसको समग्र प्रभाव व्यापार घाटा पहिलेको तुलनामा खुम्चिएको देखिएको छ ।
विभागका अनुसार असोजसम्मको कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब ६२ अर्ब ११ करोड रुपियाँ पुगेको छ । समग्र व्यापार नै अघिल्लो आर्थिक वर्षको असोजसम्मको तुलनामा आठ दशमलव ८६ प्रतिशतले घटेको विभागको तथ्याङ्क छ । अघिल्लो वर्ष २३ अर्ब ७४ करोड रुपियाँको निर्यात भएकोमा समीक्षा अवधिमा १४.४१ प्रतिशतले बढेर २७ अर्ब १६ करोड रुपियाँ पुगेको छ । यसबीचमा पाम तेल, गलैँचा, चियाजस्ता वस्तु प्रमुख रूपमा निर्यात भएका छन् । निर्यातको आकार बढ्दा समग्र अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा छ प्रतिशतबाट बढेर सात दशमलव पाँच प्रतिशत पुगेको छ ।
आयातको निरन्तर उकालो ग्राफ चालू आर्थिक वर्षको तीन महिनासम्म भने क्रमशः घट्दो देखिन्छ । अघिल्लो वर्षको असोजसम्म तीन खर्ब ७३ अर्ब रुपियाँको आयात भएकोमा यस वर्ष समीक्षा अवधिसम्म १० दशमलव ३४ प्रतिशतले घटेर ३ खर्ब ३४ अर्ब ९४ करोड रुपियाँ पुगेको छ । आयातको घट्दो प्रवृत्तिले अन्तर्राष्ट्रिय व्यापारमा यसको हिस्सा ९४ प्रतिशतबाट घटेर ९२ दशमलव ५ प्रतिशत पुगेको छ ।
आयात र निर्यातको प्रवृत्तिमा देखिएको परिवर्तनले नेपालको व्यापारमा समस्याका रूपमा रहेको व्यापार घाटा पनि खुम्चिएको छ । चालू आवको असोजसम्म व्यापार घाटा ३ खर्ब ७अर्ब रुपियाँ पुगेको छ । जुन अघिल्लो वर्षको असोजमा ३ खर्ब ४९ अर्ब रुपियाँ थियो । यस हिसाबले व्यापार घाटा १२ दशमलव २ प्रतिशतले घटेको देखिन्छ ।
नेपालका प्रमुख पाँच व्यापारिक साझेदारमा क्रमशः भारत, चीन, इन्डोनेसिया, अमेरिका र क्यानडा रहेका छन् । भारतबाट २ खर्ब ७ अर्ब रुपियाँको आयात हुँदा १७ अर्ब ८७ करोड रुपियाँको निर्यात भएको छ । आयात र निर्यात दुवै हिसाबले नेपालको अन्तर्राष्ट्रिय व्यापारको ठूलो हिस्सा भारतसँगै जोडिएको छ । छिमेकी देश चीनबाट ५९ अर्ब २६ करोड रुपियाँको आयात हुँदा निर्यात केवल ४५ करोड रुपियाँको मात्र भएको छ । इन्डोनेसियाबाट यसबीचमा छ अर्ब ८८ करोड रुपियाँको आयात भएको छ । निर्यात भने ११ करोड ७५ लाख रुपियाँको मात्र भएको छ ।
अमेरिकाबाट चार अर्ब ९२ करोड रुपियाँको आयात हुँदा ३ अर्ब रुपियाँको निर्यात भएको छ । त्यस्तै क्यानडाबाट चार अर्ब २१ करोड रुपियाँको आयात हुँदा २२ करोड ४९ लाख रुपियाँको मात्र निर्यात भएको छ । कुल १२१ देशसँग अन्तर्राष्ट्रिय व्यापार हुँदा २२ देशससँगको व्यापार मात्र नाफामा छ ।