logo
२०८१ मंसिर ९ आईतवार



आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास

अर्थ |


आयल निगमको अब आफ्नै ब्रान्डको ग्यास



लक्ष्मण दर्नाल

काठमाडौँ, कात्तिक १७ गते । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यास सिलिन्डर उत्पादन गर्न प्रक्रिया अघि बढाएको । एलपी ग्यासको भण्डारण तथा बोटलिङ प्लान्ट स्थापनाका लागि निगमले बोलपत्र आह्वान गरिसकेको छ । निगमले पहिलो चरणमा झापा र जनकपुरमा भण्डारण तथा बोटलिङ प्लान्ट निर्माण गर्नेछ ।
निगमको वार्षिक नीतिमा ग्यास सिलिन्डर उत्पादन गर्ने योजना थियो । झापाको चारआली र जनकपुरमा प्लान्ट निर्माण गर्न विस्तृत परियोजाना (डीपीआर)का लागि बोलपत्र आह्वान भइसकेको निगमका निर्देशक दीपक बरालले जानकारी दिनुभयो । उहाँका अनुसार डीपीआरपछि निगमले आर्थिक प्रतिवेदन तयार गर्नेेछ । अत्याधुनिक ग्यास भण्डारण गृहसहित प्लान्ट निर्माण गरिने छ । बरालका अनुसार बोटलिङ प्लान्ट दैनिक करिब ६० हजार सिलिन्डर उत्पादन गर्न सक्ने क्षमताको हुनेछ । भण्डारण पाँच हजार मेट्रिक टन क्षमताको हुनेछ । निगमको लोगोमा बेच्ने गरी ग्यास उत्पादन गरिने छ ।
निगमले आर्थिक वर्ष २०६७÷७७ मा ग्यास भण्डारण गृह बनाउँदै छ । निगमका अनुसार झापा, जनकपुर, मकवानपुर र महेन्द्रनगरमा ग्यास भण्डार गृह निर्माण हुनेछन् । ग्यास भण्डारण गरिसकेपछि आफ्नै ब्रान्डमा सिलिन्डर बनाएर बिक्री गरिने योजनाअनुसार प्रक्रिया अघि बढाइएको हो ।
निगमले अहिलेसम्म एलपी ग्यासको भण्डारण र आफ्नै ब्रान्ड निर्माण गरेको छैन । झापाका चारआली, हेटौँडा, महेन्द्रनगरलगायतका स्थानमा निगमको आफ्नै जग्गा भएकाले छिटो काम गर्न सकिने निगमले जनाएको छ । निगमका अनुसार खाना पकाउने ग्यास सिलिन्डर उत्पादन गर्ने उद्योगसँग हाल १६ हजार आठ सय टन भण्डारण क्षमता छ ।
महेन्द्रनगर र हेटौँडामा पाँच÷पाँच हजार टन क्षमताको भण्डारण गृह निर्माण गर्ने योजना रहेको निर्देशक बरालले जानकारी दिनुभयो । एक स्थानमा भण्डारण र सिलिन्डर उत्पादन कारखाना निर्माण गर्न ७५ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । भण्डारण गृह निर्माण र आफ्नै ब्रान्डको सिलिन्डर उत्पादन भएपछि निजी क्षेत्रको बेलाबेलाको अवरोध र बार्गेनिङको व्यवस्थापन गर्न सहज हुने दाबी निगमको छ । आफँै निर्माण गर्दा उपभोक्तालाई सहज र सस्तो पर्न जाने निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ । खाना पकाउने ग्यास ढुवानीमा पनि सहज हुने दाबी गरिएको छ । ढुवानीमा सहज हुनुका साथै निजी क्षेत्रको अनावश्यक अवरोध र बार्गेनिङको कमी हुने उहाँको भनाइ छ ।
तर नीति क्षेत्रका ग्यास उद्योग कम्पनीहरूले भने निगम आफँैले खोल्नु जायज नभएको दाबी गरेका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले भन्नुभयो, निजी व्यवसायीले घाटा खाएरै उपभोक्ताको घरघरमा ग्यास पु¥याएकै छन्, उनीहरूको करोडौँको लगानी छ, निगम आफैँले खोल्नुभन्दा भएकालाई मर्ज गर्ने वा व्यवस्थित गर्नतिर लाग्नुपर्छ । त्यसो गर्दा सरकारी पैसाको पनि बचत हुन्छ । निजी कम्पनीहरूकै उद्योगहरू बढी भइरहेको व्यवसायीहरूको प्रतिक्रिया छ ।
नेपालमा एक करोड दुई लाख सिलिन्डर प्रयोगमा छन् । मासिक ३५ हजार मेट्रिक टनले २४ लाख वटा र दैनिक ८० हजार सिलिन्डर भरिन्छन् । निगमको दाबीअनुसार ३४ लाख सिलिन्डर उपभोक्तासँग छन् । ३४ लाख कम्पनीमै रहेको र ३४ लाख ढुवानीकै क्रममा रहेका हुन्छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?