logo
२०८१ मंसिर ९ आईतवार



जोगवनी–किमाथाङ्का सडक चाँडै पूरा हुने

अर्थ |


जोगवनी–किमाथाङ्का सडक चाँडै पूरा हुने


महेन्द्र विष्ट

विराटनगर, कात्तिक १७ गते । जोगवनी–किमाथाङ्का सडकको बाँकी १४ किलोमिटर खण्ड खोल्ने काम चाँडै सुरु हुने भएको छ । सो सडकको चेन्ताङ–घङघप्पासम्मको १४ किलोमिटर क्षेत्रमा कडा चट्टान रहेकाले ट्र्याक खोल्ने काम हुन सकेको थिएन । सङ्घीय सरकारले उक्त कामको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेकाले स्थगित भएको काम चाँडै सुरु हुने सो सडक आयोजनाको खाँदबारी कार्यालयका डीई गौतमकुमार श्रेष्ठले बताउनुभयो ।
गत भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकले सडकको बाँकी ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेपछि धेरै प्रक्रिया अगाडि बढिसकेको छ र आयोजनाले आवश्यक डकुमेन्ट पनि सेनालाई उपलब्ध गराइसकिएको छ, आयोजना प्रमुख श्रेष्ठले भन्नुभयो । नेपाल–भारतको सीमावर्ती बजार विराटनगर रानीदेखि उत्तरी सीमा किमाथाङ्कासम्मको कुल ३४० किलोमिटर सडकमध्ये सङ्खुवासभाको चेन्ताङ–घङघप्पासम्मको खण्डमा ट्र्याक खुलेपछि मुलुकको दक्षिण पूर्वी नाका जोगवनी र उत्तरको नाका किमाथाङ्कालाई सडक मार्गले सीधा जोड्ने छ ।
यो सडक खण्डलाई मुलुकको उत्तर–दक्षिण लाइफलाइनका रूपमा समेत हेरिएकाले यसलाई सङ्घीय सरकारले प्राथमिकतामा राखेजस्तै प्रदेश १ सरकारले पनि प्रदेशको प्राथमिकताको आयोजनामा राखेर काम गरिरहेको छ ।
गत असोजमा गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि चीन र नेपालद्वारा जारी संयुक्त वक्तव्यको बँुदा नं. ५ मा यस राजमार्गको किमाथाङ्का–लेगुवाघाट निर्माणको विषय उल्लेख छ । उक्त सडकको खाँदबारीदेखि वरुणसम्मको ८० किलोमिटर क्षेत्रमा अहिले पनि यातायात सेवा सञ्चालनमा छ । खाँदाबारीदेखि फाक्सिन्दो दोभानसम्मको ४५ किलोमिटर सडक ग्राभेल भइसकेको छ भने फाक्सिन्दो दोभानदेखि वरुणसम्मको २० किलोमिटर सडक स्तरोन्नतिको क्रममा छ ।
यो खण्डका लागि आशिष आशीर्वाद स्वामी नारायण जेभी कन्स्ट्रक्सन कम्पनीसँग सम्झौतासमेत भइसकेकाले तुरुन्दै काम सुरु हुने आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, अहिले उक्त कन्स्ट्रक्सन कम्पनीले निर्माण सामग्री व्यवस्था गरिरहेको छ । हेभी इकुपमेन्टहरू लैजाँदै छ ।
यस सडक खण्डमा चौडाइ मिलाउने, मोड मिलाउने, नाली निर्माण गर्ने र झण्डै नौ किलोमिटर सडक ग्राभेल गर्ने योजना पनि रहको छ । त्यसबाहेक उक्त सडक खण्डको नुमदेखि किमाथाङ्कासम्मको १२३ किलोमिटर क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेको छ । यस कार्यसँगै अब यस आयोजनाको अरुण राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको खण्डको निर्माण कार्य पनि सुरु हुनेछ । यो सडक आयोजनाको अरुणदेखि गोलासम्म निर्माण गरिने दसवटा पुलमध्ये अधिकांश पुल मध्यवर्ती क्षेत्रभित्रै पर्दछन् । निकुञ्जले यसअघि वातावरणीय समस्या देखाउँदै ती पुल निर्माणमा अवरोध सिर्जना गरेको थियो ।
अब वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसमेत आइसकेकाले अब चाँडै पुलको निर्माण कार्य सुरु हुने प्रमुख श्रेष्ठले बताउनुभयो । ती पुल निर्माणका लागि ठेक्कासमेत लागिसकेको छ । यो सडक खण्डको विराटनगरको रानीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारीसम्म कालोपत्रे भइसकेको छ । बीचका केही स्थानमा सडक बिग्रिएकाले त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको छ । रानी–किमाथाङ्का मार्गलाई प्रदेश १ को मात्र होइन, मुलुककै समृद्धिका लागि महìवपूर्ण मानिएको छ । यसको निर्माणले आन्तरिक आवागमनलाई सहज तुल्याउनुका साथै नेपालको छिमेकी राष्ट्रसँगको व्यापार सहज बनाई प्रदेश १ लाई व्यापारिक केन्द्र बनाउन सहयोग पु¥याउने कुरा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेको बुझाइ छ ।
किमाथाङ्का–जोगवनी सडकका कारण नेपालबाहेक अरू चार मुलुकसमेत प्रत्यक्ष र अप्रत्यक्ष जोडिन सक्नेछन् । यो सडक बनेपछि विराटनगरसँग चीन, भारत, भुटान र बङ्गलादेशबीचको व्यापार प्रत्यक्ष रूपमा जोडिन सक्ने सम्भावना रहेको अर्थशास्त्री डा. अर्जनु बराल औँल्याउनु हुन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?