logo
२०८१ मंसिर ९ आईतवार



युरिया मलको अभाव: दिनभरि लाइन, साँझ रित्तै

अर्थ |


युरिया मलको अभाव:  दिनभरि लाइन, साँझ रित्तै



बझाङ समाचारदाता

बझाङ, कात्तिक १९ गते । बझाङका किसानलाई मल पाउन सास्ती भएको छ ।गहुँ बाली लगाउने बेलामा युरिया मल छर्कनुपर्ने भए पनि मलको सहज आपूर्ति हुन नसक्दा किसानले सास्ती भोगी रहनु परेको छ ।
किसानलाई मल उपलब्ध गर्नको लागि बर्सेनि तत्कालीन जिल्ला कृषि विकास कार्यालय र अहिलेका स्थानीयतहले मल ढुवानीका लागि ठेक्का लगाउन प्रक्रिया सुरु गरिसकेको छ तर किसानले सहज रूपमा मल पाउन सकेको छैन ।
जयपृथ्वी नगरपालिकाले ठेक्कामा दिएको मल वितरण हुने खबर पाएपछि सोमबार दिनभर सदरमुकाम चैनपुरमा किसानको लाम लागेको थियो । मल लिन आएका स्थानीय रामप्रसाद जोशीले भन्नुभयो, एक बोरा मलका लागि बिहानैदेखि लाइनमा बस्दा साँझसम्म पनि पाइएको छैन । अब त पाइने हो कि होइन ?
नगरपालिकाले ३४० बोरा डीएपी मल ल्याएको थियो तर किसानको सङ्ख्या दोब्बर भएपछि लाइन लागेर पनि किसानले मल पाउन सकेनन् । जयपृथ्वी नगरपालिका भित्रका किसानलाई प्रतिव्यक्ति एक बोराका दरले वितरण गरिएको नगरपालिका प्रवक्ता सविता खड्काले बताउनुभयो ।
प्रतिबोरा दुई हजार ५२५ रुपियाँमा बिक्री गरिएको छ । जिल्ला सदरमुकामका किसानको यो अवस्था छ भने जिल्लाका अरू भेगमा किसानले कसरी मल पाउने होलान् ? दिनभर लाइनमा बसेर एक बोरा मल नपाएको गुनासो पोख्दै अर्का किसान जयराज जोशीले भन्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?