logo
२०८१ मंसिर ९ आईतवार



पाक्नै लागेको धानमा फड्केको प्रकोप

अर्थ |


पाक्नै लागेको धानमा फड्केको प्रकोप


दमक समाचारदाता

दमक, कात्तिक १९ गते । झापामा सुरुवातदेखि नै धानमा विभिन्न रोगको प्रकोप देखा परेर पीडित बनेका किसानहरू पाकेको धानमा फेरि अर्को रोग देखापरेपछि समस्यामा परेका छन् । धानमा लाग्ने फड्के रोगले पाक्नै थालेका धान नोक्सान गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।
फौजी कीरा, शिट ब्लाइट, नेक ब्लास्टलगायतका रोगको प्रकोपपछि पाकेको काट्नु पर्ने धानमा फड्के (ब्राउन होपर) कीराको सङ्क्रमण देखिएको छ । यसले धान डढाएर सोत्तर बनाएको किसानहरूले बताएका छन् । कमल गाउँपालिका–६ का अगुवा किसान टङ्कप्रसाद सापकोटाका अनुसार खेतमा धान डढेर सोत्तर बनेको छ । पाकेर काट्न लागेको धान सबै खेतमा नै नष्ट भएको छ, उहाँले भन्नुभयो । यस्तो यसभन्दा अगाडि कहिल्यै पनि नदेखेको जनाउँदै यो वर्ष यस्तो भएको पनि उहाँले बताउनुभयो । आफ्नो मात्र नभएर बुझ्दै जाँदा छरछिमेक र अन्यत्रसमेत यस्तै भएको पाएको पनि उहाँले जनाउनुभयो ।
कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख शेषराज पौड्यालका अनुसार फड्के कीराको प्रकोप जिल्लाभर देखिएको बताउनुभयो । केही दिनयता स्थानीय तहहरूमा यसको प्रकोप देखिएको भनेर खबरहरू आइरहेको छ, उहाँले भन्नुभयो । सुकेको परालमा आगो लगाउँदा सल्के जसरी नै यो सरुवा रोग भएकाले समयमा नियन्त्रणमा लिन नसकेमा ठूलो क्षति हुनेसमेत उहाँको भनाइ छ ।
यसले महामारीको रूप लिन समय लाग्दैन र चाँडो विषादी प्रयोग गरेर नियन्त्रणमा लिनु पर्छ, उहाँको भनाइ छ । भद्रपुर, मेचीनगर र दमक नगरपालिका, हल्दीबारी, कमललगायतका गाउँपालिकामा यो समस्या देखिएको र किसानहरूले जानकारी गराउन थालेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । पौड्यालका अनुसार यो भर्खर सुरु भएकाले अब सबैतिर देखि नसक्ने पनि जनाउनुभयो ।

उत्पादन घट्न सक्ने
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुपरजोन परियोजना कार्यान्वयन एकाइ झापाका प्रमुख रवीन्द्र सुवेदीका अनुसार सुपरजोन क्षेत्रमा पनि यो पटक विभिन्न रोगको प्रकोप देखिएको छ । अहिले पाक्न लागेको धानमा पनि समस्या देखिएको र समस्या समाधानका लागि प्रयास भइरहेको जनाउनुभयो । विभिन्न रोगका कारण पाँचदेखि सात प्रतिशत धान उत्पादनमा कमी आउन सक्ने अनुमान छ, उहाँले भन्नुभयो ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?